सहकारी बैंक स्थापनाको प्रस्ताव विभागमा पुग्याे, अध्यक्ष भन्छन्ः यस्ता बैंक थप ५ वटा चाहिन्छ

  २०७७ माघ २५ गते १७:५९     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले मात्रै सहकारी संस्थाहरुमा वित्तीय लगायतका सेवा प्रवाह गर्न नसकेको भन्दै सरोकारवालाहरुले नेपाल सहकारी बैंक दर्ताको प्रस्ताव अघि सारेका छन् । नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगाना लगायत आवेदक संस्थाका प्रतिनिधिहरु आईतबार राष्ट्रिय सहकारी विभागमा सहकारी बैंक स्थापनाको प्रस्ताव लिएर पुगेका हुन् ।

एक मात्रै सहकारी बैंकले समग्र मुलुकभरका सहकारी संस्थालाई सेवा दिन नसक्ने भएकाले थप ५वटा सहकारी बैंकको आवश्यकता रहेको विस्तृत अध्ययन प्रतिवेदन सहित उनीहरु सहकारी बैंक दर्ताका लागि आवश्यक कागजात लिएर सहकारी बोर्ड पुगेका हुन् ।

तर विभागले बैंक दर्ता बारे प्राप्त कागजात अध्ययन पछि मात्रै निर्णय दिने बताएको छ । विभागका रजिष्ट्रार टोकराज पाण्डेले सहकारी ऐन २०७४ ले गरेको व्यवस्था अनुसार आवश्यक प्रमाण पुगेमा आफुहरुले दर्ता प्रक्रिया नरोक्ने बताए । उनले अध्ययन तथा अभिलेख प्रयोजनका लागि तत्काल बैक दर्ताको निवेदनलाई विभागले ग्रहण गरेको जानकारी दिए ।

उनले भने “हाम्रो काम रित पुर्वक निवेदन आयो आएन भन्ने हो । सहकारी विभागमा जनशक्ति घटेको छ । बन्द खाममा प्राप्त भएका विवरण अध्ययन गर्छौ । पुग अपुग विवरण बारे सूचित गर्नेछौं । यो सहकारी विभागको नोटिसमा आएको छ । अभिलेख प्रयोजनका लागि दर्ता गर्छौं। अनि यसको प्रोसेस बाँकी अगाडि बढ्छ ।”

प्रस्तावित बहुउद्देश्य नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले एक मात्रै सहकारी बैंकले ३४ प्रतिशत सदस्यता र ६ प्रतिशत वित्तीय कारोबार मात्रै गरेकाले सम्पुर्ण सहकारी संस्थाको प्रवद्र्धन र वृद्धि विकास तथा आर्थिक कारोबार सञ्चालनका लागि थप ५ वटा यस्ता बैंक आवश्यक पर्ने बताए । गत मा देखि नै आफूहरुले राष्ट्रिय सहकारी बैंक स्थापना गर्ने पहल गरेको उल्लेख गर्दै उनले सहकारी सस्थाहरुको प्रवद्र्धन,राष्ट्रिय उत्पादनमा वृद्धि तथा आयात प्रतिस्थापन गरी समग्र आर्थिक वृद्धिका लागि एक मात्रै सहकारी बैंकबाट सम्भव नहुने बताए ।

“नेपालमा सहकारी बैंक कम्तिमा ५ वटा चाहिन्छ । सरकारले पनि सहकारीलाई प्राथमिकतामा राखेको छ । आर्थिक पिल्लरको रुपमा राष्ट्रिय सहकारी बैंकले काम गर्नुपर्छ । त्यो एउटा मात्रै बैकले संभव छैन भन्ने कुरा अध्ययन प्रतिवेदन पनि देखाएको छ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.