नगर विकास कोष ३३ औं वर्षमा प्रवेश : उत्कृष्ट नगरपालिका र खानेपानी आयोजना उपभोक्ता सम्मानित

  २०७७ फागुन २ गते २२:४०     विकासन्युज

काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोष ३३ औं वर्षमा प्रवेश गरेको छ । कोषले सहरी क्षेत्रमा पूर्वाधार विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । आईतवार राजधानीमा एक भव्य कार्यक्रमका साथ नगर विकास कोषले वार्षिक उत्सव मनाएको छ ।

नगर विकास कोषको ३३ औं वार्षिकोत्सव समारोहलाई सहरी विकास मन्त्री प्रभु साहले उद्घाटन गरेका थिए । मन्त्रि साहले कोषले गरेको कामलाई प्रशंसा गर्दै सरकारले थप सहयोग गर्ने बताएका छन् । उनले सहरी पूर्वाधारको विकास गर्न कोषलाई निगमका रूपमा एक स्वायत्त एवं दिगो वित्तिय मध्यस्थकर्ताका रूपमा विकास गर्ने बताए । सम्बृद्धिको यात्रामा महत्वपूर्ण भूमिका खेलेको कोषलाई आगामि दिनमा अझ सफलता मिल्नेमा उनले विश्वास व्यक्त गरे ।

यस्तै सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले सहरी पूर्वाधार विकासमा दीर्घकालीन ऋण लगानीमार्फत विकासका लक्ष्य हासिल गर्न नगर विकास कोषले उल्लेख्य जिम्मेवारी बहन गरेको टिप्पणी गरे । ‘केही करोड रकमबाट सुरु भएको नगर विकास कोषले अर्बौंको कम्पनी बनाउन सफल भएकोमा खुसी लागेको छ ।’ कोषका पूर्व कार्यकारी निर्देशक तथा राष्ट्रिय पुन:निमार्ण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसील ज्ञवालीले भने, ‘कोषले ठूलो फड्को मारेको छ ।’ नेपाल नगरपालिका संघका अशोक बेन्जु श्रेष्ठले नगरपालिकाहरुलाई नगर विकास कोष जस्तो संस्था अपरिहार्य भएकोमा जोड दिए ।

नगर विकास कोषले हालसम्म ८३ वटा नगरपालिका र ९४ वटा खानेपानी संस्थासँग काम गर्दै आएको कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बताए । कोषले ऋण लगानी मार्फत नमुना काम गरेका नगरपालिका र खानेपानी आयोजना उपभोक्ता संस्थालाई सम्मान गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका र सर्लाहीको लालबन्दी नगरपालिका सम्मानित भएका छन् । यस्तै खानेपानी संस्थातर्फ कावासोती खानेपानी उपभोक्ता संस्था नवलपुर र करैया मक्कर उपभोक्ता संस्था रूपन्देहीलाई सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.