सेयर जस्तै गरी जग्गा जमिन कारोबार गर्ने ‘भूमि बजार’ निजी क्षेत्रले पनि संचालन गर्न पाउने

  २०७७ फागुन ४ गते १२:००     विकासन्युज

काठमाडौं । जग्गा जमिनको खरिद विक्रीलाई औपचारिक प्रणालीभित्र ल्याउनको लागि स्थापना गर्न लागिएको ‘भूमि बजार’ निजी क्षेत्र पनि संचालन गर्न पाउने भएका छन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भए अनुसार भूमि बजार स्थापनाको लागि सरकारले समिति बनाएर अध्ययन गराएको र सो अध्ययनले सेयरको कारोबार हुने जस्तै गरी जग्गा जमिनको कारोबार हुने बजार स्थापना गर्न सुझाव दिएको छ ।

अध्ययन समितिले दिएको सुझावका आधारमा भूमि बजार स्थापना कसरी गर्ने, कारोबार गर्दा अपनाउनु पर्ने विधि, प्रक्रिया के कस्ता हुने, कार्यविधि र प्रक्रिया कस्ता अपनाउने भन्ने जस्ता विषयमा अहिले छलफल चलिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जकराज जोशीले जानकारी दिए ।

‘जग्गा जमिनको कारोबार औपचारिक प्रणालीमा ल्याउनको लागि भूमि बजार स्थापना गर्नुपर्ने सुझाव अध्ययन समितिले दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ, त्यस्तो बजार सरकार आफैले, सरकार तथा निजी क्षेत्रको साझेदारीमा वा निजी क्षेत्रलाई मात्रै पनि दिन सकिने सुझाव आएको छ, यसमा कसरी अघि बढ्ने भन्ने निर्णय हुन बाँकी छ, हामी छलफल गर्दैछौं,’ प्रवक्ता जोशीले विकासन्युजसँग भने ।

घरजग्गा खरिद विक्रीको सम्पूर्ण नियन्त्रण अनौपचारिक क्षेत्रमा रहेकोले औपचारिक क्षेत्रमा ल्याउन भूमि बजारको अवधारणा अघि सारिएको उनको भनाई छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै परेको सो योजना कार्यान्वयन गर्नको लागि समिति गठन गरेर अध्ययन भएको थियो ।

‘अहिले कसैलाई जग्गा चाहियो वा विक्री गर्नुपर्यो भने अनौपचारिक क्षेत्रमा जानुको विकल्प छैन, आवश्यक परेर जग्गा विक्री गर्दा कौडीको भाउमा बेच्नुपर्ने र किन्नुपर्दा असाध्यै महंगोमा पर्ने अवस्था छ, यसका लागि सेयरको खरिद विक्री गर्ने स्टक मार्केट जस्तै भूमि बजार स्थापना गर्ने सरकारको सोच हो, त्यसलाई कसरी कार्यान्वयन गर्ने, अन्तराष्ट्रिय अभ्यास के कस्तो रहेछ भनेर हामीले टिओआर निर्माण गरी एउटा समिति नै बनाएका थियौं,’ प्रवक्ता जोशीले भने ।

अध्ययनको लागि मन्त्रालयले विज्ञसमेत सहभागी भएको समिति गठन गरेको हो । समितिले अन्य देशमा जग्गा जमिनको खरिद विक्री कसरी व्यवस्थित गरिएको रहेछ, नेपालमा अनौपचारिक क्षेत्रको नियन्त्रणमा रहेको यस्तो व्यवसायलाई कसरी औपचारिक क्षेत्रमा ल्याउन सकिन्छ भन्ने लगायतका विषयमा सरकारलाई सुझाव दिनेछ ।

मन्त्रालयका अनुसार सरकारले घर जग्गा खरिद विक्री गर्न चाहनेले अनलाइन मार्फत खरिद विक्री गर्न सकिने व्यवस्था गर्न लागेको हो । कसैलाई घरजग्गा विक्री गर्नु परेमा आफ्नो जग्गाको विस्तृत विवरणसहित सो वेबसाइटमा राख्ने र खरिद गर्नेले सोही वेबसाइट मार्फत सेयर जस्तै गरी खुल्ला प्रतिस्पर्धाबाट खरिद गर्ने व्यवस्था मिलाउन लागिएको छ ।

सम्बन्धित समाचार

सेयर जस्तै गरी घरजग्गा किनबेच गर्ने केन्द्र स्थापना गर्दै सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.