२०७७ फागुन २४ गते १०:३५ विकासन्युज
चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली नबिल बैंक लिमिटेडका नायव महाप्रवन्धक (डीजीएम) हुन् । विगत लामो समयदेखि विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा काम गरेर अनुभव हासिल गरिसकेका ज्ञवाली समसामयिक गतिविधि र घटनाक्रममाथि टिप्पणी गर्न पनि निकै रुचाउँछन् । विशेष गरेर बैंक तथा वित्तीय क्षेत्रमा राम्रो दख्खलता भएका उनीसँग वर्तमान नेपाली बैंक तथा वित्तीय क्षेत्र, पुँजी बजार लगायतका विषयमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् ।
कोरोना भाइरसले देशको अर्थतन्त्रलाई ठूलो असर गर्यो । अहिले त्यसको असर कम हुँदै जाँदा नेपालको बैंकिङ क्षेत्र कुन गतिमा अगाडि बढिरहेको छ ?
कोरोना भाइरसले असर गरेको एक वर्ष पुगिसकेको छ । एउटा महत्वपूर्ण कुरा त के भने कोरोना भाइरसले अर्थतन्त्रलाई जुन किसिमको असर गर्छ भन्ने हाम्रो अनुमान थियो त्यति भने भएन । स्थिती बिग्रन्छ भनेर हामीले परिकल्पना गरेभन्दा कम असर देखिएको छ । जति त्रास हामीलाई थियो त्योभन्दा धेरै कम भयो । बैंकिङ क्षेत्रमा के असर छ भन्दा पहिले अर्थतन्त्रमा के असर छ भन्ने विषयतर्फ जाऔं । वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको ऐना हो । वित्तीय क्षेत्र हाँस्यो भने अर्थतन्त्र हाँस्छ र रोयो भने रुन्छ । कोरोनाकाे सबैभन्दा बढी असर होटल तथा पर्यटनमा पर्यो । विदेशी ट्राभल एजेन्सी त बन्द नै भए । त्यसपछि व्यापार विजनेस र विद्यालयहरुलाई यसले असर गर्यो । त्यससँगै अन्य ट्रेडिङमा पनि कोरोनाले असर पारेको देखिन्छ ।
यो सँ-सँगै बैंकिङ क्षेत्रमा पनि हामीले अनुमान गरे जस्तो असर परेन । केही मात्रामा प्रोफिटमा हिट त भएको छ । त्यो हिट हुनुको मुख्य कारण भनेको राहत हो । कोरोनाको समयमा नागरिक अर्थात ग्राहकलाई राहत दिने क्षेत्र भनेकै बैंकिङ क्षेत्रले नै हो । हामी दावी गर्छौं कि कोरोना प्रभावितहरुलाई वित्तीय राहत दिने क्षेत्र भनेको बैंकहरु मात्रै हो । नेपाल राष्ट्र बैंकले छुट दिनु भने अनुसारको हामीले छुट दियौं र त्यसको प्रत्यक्ष असर बैंकहरुको मुनाफामा परेको छ ।
अहिले राष्ट्र बैंकले पुनर्कर्जा र पुनरतालिकीकरणमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने व्यवस्था गरेको छ । नविल बैंककै पनि २४/२५ करोड रुपैयाँ पुनरसंरचना र पुनरतालिकीकरणमा थप कर्जा नोक्सानी व्यवस्था गर्नु पर्यो । ॠणीहरुले समयमा व्याज पैसा चुक्ता गर्न सक्नु भएन । त्यसले पनि बैंकहरुको एनपीएल बढेको देखिन्छ । त्यो वाहेक ओभरअल विजनेस पनि त्यति बढी भएको देखिँदैन । अहिले विदेश जाने मानिसहरु पनि कम भएको देखिएको छ । विदेशी मुद्रा पनि कम हुन्छ सोचेका थियौं तर त्यति धेरै कम भएन ।रेमिट्यान्समा पनि त्यति धेरै असर परेको देखिँदैन । निक्षेप संकलन पनि राम्रै देखिएको छ । तर, कोरोनाको बिचमा कर्जाको माग त्यति नदेखिँदा तरलता धेरै देखियो । तरलता धेरै हुँदा व्याजदर तल झर्यो ।
गत वर्षसँग तुलना गर्ने हो भने बैंकहरुको कष्ट अफ फण्ड धेरै तल झरिसकेको छ । बैकहरुको ब्याजदर ३ प्रतिशतदेखि ४ प्रतिशतभन्दा तल झरेको छ। तरलता अत्याधिक हुँदा पनि व्याजदर तल आयो । यस्तै, बैंकहरुको व्यालेन्स सिटमा पनि त्यति धेरै परिवर्तन देखिएको छैन । व्यालेन्ससिटको ग्रोथ पनि रोकिएको छैन । यो आर्थिक वर्ष को छ महिनामा रेमिट्यान्स ११.१ प्रतिशतले बढेको छ । आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ । अन्य थुप्रै इण्डिकेटरहरु पनि सकारात्मक देखिएको छन। समग्रमा स्थिती हेर्ने हो भने जति हामीले कोरोनाको कारणले असर हुन्छ भन्ने अनुमान गरेका थियौं त्यस्तो खालको असर हामीले भोग्नु परेन ।
कोरोना भाइरसकै कारण बैंकिङ क्षेत्रलाई कतिसम्म नोक्सान भयो होला, केही अनुमान गर्न सक्छौं ?
बैंकिङ विजनेसमा ठ्याक्कै यति नै घाटा भयो भन्न सकिने अवस्था हुँदैन । बैंक बन्द भएपनि ब्याजको मिटर चलिरहन्छ । व्याजको मिटर बन्द हुँदैन । तर, ऋणीहरुले समयमै सावा व्याज भुक्तानी गर्न सकेनन् भने नन पर्फमिङ लोन (एनपीएल) बढ्छ । खराव कर्जा बढ्यो भने प्रोभिजिनिङ बढ्ने जसले गर्दा अलि गाह्रो हुन्छ कि भन्ने हुन्छ । हाम्रो अनुमान यस्तै अवस्था रह्यो भने सबै बैंकहरुको वितरणयोग्य नाफा नेगेटिभ हुन्छ कि भन्ने थियो । तर, त्यो अनुमान उल्टो भएर गयो । गत वर्षको तुलनामा केही बैंकहरुको नाफा घटेको त छ ।
कोरोनाको कारणले भन्दा पनि राष्ट्र बैंकले स्प्रेड ४.४ मा ल्याएर आयो । त्यसले एक किसिमको प्रतिस्पर्धाको वातावरण सिर्जना गर्यो । त्यस कारणले पनि बैंकहरुको खुद व्याज आम्दानीमा पनि कमि आयो । बैंकहरुले लिने विभिन्न शुल्कहरु पनि लिन पाएनन् । यसले केही समस्या त भयो तर कोरोनाकै कारणले भने बैंकहरुलाई खासै असर परिसकेको देखिएन। असर नै नभएको त होइन तर अनुमान गरेको जति भएन । त्यो असर राष्ट्र बैंकले प्रकाशित सुचकांकमा देखियन र बैंकहरुको वित्तीय विवरणमा समेत देखिएन।
कोरोना भाइरसभन्दा पनि राष्ट्र बैंकको नीतिका कारण बैंकहरुको नाफामा असर पुग्यो भन्न खोज्नु भएको ?
हो, बढी त्यसको असर छ । तरलताको कारणले मार्केटमा प्रतिस्पर्धा भएर गयो । बैंकहरुले राष्ट्र बैंकले तोकेको ४.४ को स्प्रेड पनि मेन्टेन गर्न सकेको अवस्था छैन । अलिकति ब्राञ्च तथा नेटवर्किङ बढेको कारणले पनि बैंकहरुको सञ्चालन खर्च बढेको देखिन्छ । फि र कमिसन आय घटेको छ ।
कोरोना भाइरसपछि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नेटवर्क तथा शाखा विस्तारमा कत्तिको चाँसो देखाए ?
कोरोना भाइरसपछि कुनै पनि बैंकहरुले शाखा विस्तारमा ध्यान दिने अवस्था रहेन। अहिले भएको शाखालाई पनि व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा बढि ध्यान दिनुपर्ने अवस्था रह्ये । राष्ट्र बैंकबाट अनुमति लिइसकेका शाखाहरुका लागि हामीले काम गर्यौं तर नयाँ शाखाका लागि त्यति खासै चाँसो कुनै पनि बैंकले राखिएन। सम्पूर्ण स्थानीय तहमा शाखा जानु पर्ने कारणले पनि कतिपय ठाउँमा खोलेका छन् । अब तीन वटा गाउँपालिका वाहेक सबै गाउँपाालिकामा समेत बैंकका शाखा पुगिसकेका छन् । त्यस कारणले शाखा विस्तारमा विगत ४ वर्षमा बैंकहरु जति आक्रामक भए यो एक वर्षमा त्यस्तो देखिएन । अहिले बैंकहरु भएका शाखा व्यवस्थापन गर्नमै व्यस्त छन् ।
कोरोनापछि बैंकहरुले शाखा विस्तारमा ध्यान दिनएन भन्नुभयो, विकट र दुर्गम ठाउँमा प्रविधिको पनि खासै प्रयोग हुँदैन, भनेपछि दुरदराजका नागरिक त बैंकिङ पहुँचभन्दा बाहिर हुने भएनी ?
त्यस्तो होइन । विगत ४ वर्षमा शाखा विस्तार अत्याधिक भयो । बैंकहरु शाखा विस्तारमा एकदमै आक्रामक भए । सबै वाणिज्य बैंकहरुले आफ्ना शाखा विभिन्न ठाउँमा विस्तार गरिसकेका छन् । अहिले सबै विकास बैंकहरुका पनि डेढ सयभन्दा बढी शाखा विस्तार गरिसकेका छन् । अब गाउँमा मानिसहरुले बैंकिङ पहुँच पाएनन् भन्ने त ठाउँ नै छैन । अब तीन वटा गाउँपालिकामा मात्रै बैंक पुग्न बाँकी छ ।
त्यहाँ पनि भौतिक पूर्वाधारको कमिले रोकिएको हो । बैंक पनि व्यापार हेर्छन् । अलिकति बढी विजनेस भएको ठाउँमा त बैंकहरु अवश्य नै जान्छन् । जहाँ व्यापार हुन्छ त्यहाँ बैंक पनि जान्छन् । शाखा भएको कतिपय ठाउँहरुमा व्यापार भएको पनि छैन । त्यस कारण विजनेसले बैंकलाई आकर्षण गर्ने हो । त्यो आवश्यकता निडवेस्ड हुन्छ । त्यति हुँदा हुँदै पनि बैंक नभएपनि त्यहाँ अन्य माइक्रोफाइनान्स र सहकारीहरु पनि छन् । पहिलेको जस्तो वित्तीय पहुँच नागरिकहरुमा पुगेन भन्ने अवस्था अहिले छैन ।
बैंकिङ क्षेत्रका लागि कोरोना भाइरसले सिकाएको पाठ के हो ?
बैंकिङ क्षेत्र मात्र होइन सबै क्षेत्रका लागि कोरोनाले सिकाएको पाठ भनेको हामीले कष्टमा इफिसियन्ट हुनु पर्यो भन्ने हो । डिजिटलाइजेसनमा जानु पर्यो । पहिले ४० जना कर्मचारीलाई तालिम दिनु पर्यो भने पुरै टिम त्यो ठाउँ गएर धेरै खर्च गर्नु पर्थ्याे । तर अहिले भर्चुअल माध्यममार्फत जति जनालाई पनि तालिम दिन सकिने अवस्था छ । त्यो पनि न्यूनतम खर्चमै । समयको पनि बचत भयो । कोरोनाले डिजिटलाइजेसनलाई बढायो । काम पनि छिटो गर्न मद्दत गर्यो । कष्ट इफिसिएन्सीमा पनि बैंकहरुले सोच्यो । सबैभन्दा ठूलो कूरा कोरोनाले डिजिटलाइजेसनलाई बढायो ।
कोरोनाकालले डिजिटल बैंकिङलाई बढाउनको लागि कत्तिको सहयोग गर्यो ?
डिजिटल बैंकिङमा म सन्तुष्ट छैन । हामीसँग जति प्रडक्ट छ त्यसँग कतिपय अवस्थामा बैंकरहरु नै जानकार छैनन् । डिजिटल माध्यमलाई प्रवद्र्धन गर्नको लागि राष्ट्र बैंकले नै प्राथमिकताका साथ काम गरिरहेको छ । डिजिटल माध्यमको प्रयोगले खर्च घटाउँछ, समयको बचत गर्छ भन्ने कुरामा हामी सबैको एक मत रह्याे । तर, त्यसमा अभ्यस्तता कस्तो छ भन्ने कुरा महत्वपूर्ण रह्यो । यसलाई कति मानिसले सदुपयोग र प्रयोग गरिरहेका छन् भन्ने कुरा महत्वपूर्णका साथ सोच्नु पर्ने अवस्था पनि हो ।
बैंकले अघिल्लो दिन क्यूआर कोड सुभारम्भ गर्ने, तर पछिल्लो दिन त्यहाँ क्यूआर कोड नहुने, पहिलेको जस्तै नगद कारोबार हुने अवस्था धेरै ठाउँहरुमा देखिएको छ, यस्तो अवस्था किन आयो ? त्यसको नियमन तथा अनुगमन कत्तिको देख्नु भएको छ ?
अघिल्लो दिन सञ्चालन गर्ने पछिल्लो दिन क्यूआर कोड नहुने त हुन्न । तर, सञ्चालनमा भने कमै आएको मान्न सकिन्छ । यसको बारेमा आम नागरिकमा सचेतना र त्यस सम्बन्धि जानकारी कस्तो छ भन्ने कूरा मुख्य हो । जस्तो हाम्रो प्रडक्ट, स्ट्रक्चर , परिकल्पना र लागत छ त्यो अनुसारको ग्राहकले प्रयोग र कारोबार गरिरहेका छन् कि छैनन् भन्ने विषय मुख्य हो । सञ्चालनमा ल्याइसकेपछि त्यसपछि हामीले गर्नु पर्ने काम कारवाही भने आवश्यक छ । त्यसमा हामी सबैले ध्यान दिन आवश्यक छ । यसको बारेमा नागरिकलाई जानकारी दिनु पर्ने, सचेतनाका कूराहरु दियो भने यसको प्रयोग झन बढाउन सकिन्छ र नागरिकलाई डिजिटल रुपमा अभ्यस्त बनाउन सकिन्छ ।
हामी सबैले डिजिटललाई प्रयोग गर्नु पर्छ भन्छौं तर हामी आफै बैंकमा काम गर्ने, बैंकका सीईओ, ब्रान्च म्यानेजरले समेत त्यो प्रयोग गरेका छन् कि छैनन् भन्ने बुझ्न जरुरी छ । हामी आफै क्यूआर कोड प्रयोग गर्दैनौं, हामी आफै खल्तिमा पैसा बोकेर सामान खरिद गर्न हिड्छौं भनेपछि सर्वसाधारण नागरिकले कसरी प्रयोग गर्छ ? डिजिटल प्रविधिको प्रयोग कसरी बढ्छ ? हामीसँग प्रडक्ट छ, स्रोत साधन छ, सबै छ । तर, यो प्रयाप्त छत भन्दा छैन । शहरमा पनि डिजिटाइजेसनको प्रयोग जति मात्रामा हुनु पर्ने हो त्यो अवस्था अहिले छैन ।
अहिले बजारमा तरलता धेरै घटेको छ, बैंकहरु फेरि कर्जा लगानीमा आक्रामक भएका हुन् ?
हो, अहिले कर्जाको विस्तार बढी नै भइरहेको छ । यो बिचमा कर्जाको विस्तार व्यापारको थप आवश्यकताले भएन । पहिलो क्वाटरसम्म कसैसँग पैसा थियो भने उ न व्यापार गर्न गयो नत बैंकमा डिपोजिट गर्न । लगानी गरौं भनेपनि कोरोनाले के गर्छ भन्ने त्रास थियो । धेरैले भएको पैसा स्टक मार्केटमा लगानी गरे । त्यो सबै पैसा सेयर बजारमा गयो । जसको कारणले त्यो समयमा सेयर बजार उकालो लाग्यो । बिचमा राष्ट्र बैंकले पनि लोयल्टी फाइनान्सिङको विषय लिएर आयो । त्यसले पनि केही फाइनान्सिङ बढेर गयो । त्यससँगै अन्य वित्तीय क्षेत्र पनि सुधार हुँदै गयो । सेयर बजार बढेपछि कर्जाको माग पनि बढ्यो ।
कर्जाको ग्रोथ पनि मार्जिङ लेण्डिङतर्फको बढेको छ । पछिल्लो ६ महिनामा मार्जिङलेण्डिङमा ६० प्रतिशत कर्जा बढेको छ । त्यो सबैभन्दा बढी ग्रोथ हो । सेयरबजार बढेपछि सबैको आकर्षण त्यतैतिर भयो । त्यससँगै होम लोन रिटेल लोनतर्फ पनि कर्जा बढेको छ । तर पर्यटनतर्फ भने ग्रोथ भएन । जता इकोनोमीको ग्रोथ भयो त्यतैतिर मार्केट ग्रोथ दौडिरहेको छ । समग्रमा गत वर्षको ६ महिनाको तुलना गर्ने हो भने यो वर्षको ग्रोथ राम्रो देखिन्छ । निक्षेप संकलन, कर्जा प्रवाह लगायत परिसुचकमा गत वर्षको ६ महिनाभन्दा यो वर्षको ६ महिनामा ग्रोथ राम्रो देखिएको छ । रेमिट्यान्स पनि आइरह्यो । जसको कारणले बैंकिङ क्षेत्रले धेरै असर भोग्नु परेन ।कोरोको कारण समस्या परेको भन्दै अझै पनि धेरै उद्योगी व्ययवसायीहरू राहतको माग गरिरहेका छन्, राष्ट्र बैंकले पनि उनीहरुका लागि केही राहत ल्यायो र बैकहरुले अनुपालना गरे ।
राष्ट्र बैंकले बैंकहरुलाई राहत दिनु भनेर निर्देशन समेत दियो । तर, पछिल्लो समय विभिन्न बैंकहरुले ती व्यवसायी तथा ऋणीको धित्तो धमाधम लिलाम गर्न सुरु गरे, सूचना निकाल्न थाले । यो प्रक्रियालाई तपाइँले कसरी बुझ्नुभएको छ ?
हामीले आधारभुत कुरा बझ्न आवश्यक छ । कोरोना सुरु भएको अहिले एक वर्ष भयो । गत वर्ष पुसमा तिर्नु पर्ने पैसा जसले तिरेको छैन । त्यो त ठिकै हो । तर, विगत तीन वर्षदेखि नतिरेकाहरुलाई पनि छुट हो त ? अनि बैंकहरुको विजनेस होइन त ? बैकहरुले चलाउने सर्वसाधारणहरुको पैसा होइन र ? हामीले चलाउने पैसा नागरिकको नै हो । ऋणीले कर्जाको पैसा तिरेन भने बैंक डुब्ने होइन, जनता नै डुब्छन् । उनीहरुले जम्मा गरेको पैसा डुब्छ । नागरिकले हामीलाई विश्वास गरेर पैसा जम्मा गरेका छन् । राष्ट्र बैंकले गत एक वर्षदेखि कोरोनाको कारण समस्यामा परेकाहरुलाई सहयोग गर भनेको हो ।
विगत ३/४ वर्षदेखि सावा व्याज, किस्ता नतिर्नेहरुलाई सहयोग गर भनेको होइन । हामी डिफल्टरलाई दुई प्रकारले हेर्छौं । एउटा ‘विल फिल डिफल्टर’ अर्को ‘नन विलफुुल डिफल्टर’ । नन विलफुल डिफलटर भनेको जसको नतिर्ने नियत थिएन तर परिस्थितिजन्य कारणले त्यो डिफल्टर भयो । तर विलफुुल डिफल्टरहरु एक प्रयोजनका लागि पैसा लिने तर अर्कै काममा पैसा प्रयोग गर्ने । समयमै सावा, व्याज नतिर्ने, बदमासी गर्ने । हामीले जनताको पैसा लिएर बसेका छौं, हामीप्रति जनताको विश्वास छ । क्यापिटल त ५ खर्ब पनि छैन । अरु बाँकी पैसा त नागरिको नै हो । बैंकले डुबाउँदैन भनेर नै मानिसले बैंकमा पैसा राख्छन् । जनतालाई नबुडाउनको लागि त हामीले खराव ऋणीलाई कारवाही गर्नु परेन ? त्यसैले म हाम्रो बुझाईलाई परिवर्तन गर्नु पर्यो भन्छु ।
बैंक तथा वित्तीय संस्थाले कर्जाको व्याजदर कम गरेसँगै निक्षेपकर्तालाई पनि निकै पेले भन्ने विषय पनि छनि यसलाई कसरी लिनुहुन्छ ?
होइन, निक्षेपकर्तालाई पेल्नु किन पर्यो ? यो हाम्रो बुझाईको कुरा हो । निक्षेपकतालाई पेल्यो, उनीहरुलाई कम व्याज दियो भन्दै गर्दा जब बैंकसँग डिपोजिट नै छैन भने ऋण कहाँबाट दिन्छन् ? बैंकहरुको लागि कर्जा र निक्षेपका दुवै समान ग्राहक हुन् । यो सबै डिमाण्ड र सप्लाईको खेल हो । हिजो अस्ती प्रतिकेजी ८० रुपैयाँ पाइने सुन्तलाको मुल्य आजभोलि २ सय रुपैयाँभन्दा बढी छ । वस्तु कम हुँदै गएपछि मूल्य अवश्य पनि बढ्छ । यसै गरि बैंकमा पनि तरलता अत्याधिक भयो । कर्जा गएन । निक्षेप जम्मा भइरह्यो । रेमिट्यान्स पनि आइरह्यो । तर, कर्जा डिमाण्ड बढेन र बैंकसँग अत्याधिक रुपमा तरलता भयो । बढी तरलता भएपछि बैंकहरुले तरलता घटाउन खोज्यो । तरलता घटाउनु भनेको निक्षेपको लागत घटाउँदै लैजानु हो । भोलि कर्जाको डिमाण्ड बढी भयो भने निक्षेपको व्याजदर त बढी नै हाल्छ । त्यसैले यो एउटा सिम्पल गेम हो । हिजो निक्षेपकर्ताले फिक्स डिपोजिटमा १४ प्रतिशत पनि त पाएकै हुन् नी । यो एउटा चक्र हो । यसलाई सामान्य अर्थशास्त्र को सिद्धान्त लागू भएको मान्नुपर्दछ ।
नेपाली बैंकिङ क्षेत्रलाई सही ट्रयाकमा अगाडि बढाउनको लागि नियामक निकायको नीति सही छ ?
अहिलेको अवस्थामा अर्थात कोरोना भाइरसपछि राष्ट्र बैंकले ल्याएको नीतिमा प्रश्न गर्नु पर्ने ठाउँ नै छैन । हामी हाम्रो हिसावबाट हेर्दा राष्ट्र बैंकले स्प्रेडमा कडा गर्यो । अन्य शुल्क लिन दिएन । जसले गर्दा बैंकहरुको नाफामा घाटा लाग्यो भन्छौं । तर, ग्राहकहरुले राष्ट्र बैंकमाथि प्रश्न गर्नु पर्ने ठाउँ नै दिएको छैन । पहिले व्याज छुट दिने विषय, त्यसपछिको समायावधि थप्ने विषय, पुनर्तालिकीकरण, पुनर्कर्जा, सहुलियतपूर्ण कर्जाको व्यवस्था लगायत यी विभिन्न व्यवस्थाहरु ग्राहकहरुकै लागि छन् । राष्ट्र बैंकले कोरोना महामारीमा गरेका व्यवस्थालाई हेर्ने हो भने धेरै राम्रो काम गरेको छ । यसले पनि ग्राहकलाई मर्का परेन । कोरोनाको समयमा नागरिकलाई नगद मै राहत बैंक बाहेक कसैले पनि दिएन । राष्ट्र बैंकले ल्याएका नीतिको कार्यान्वयन भने कत्तिको भएको छ त्यो मूख्य विषय हो । त्यसतर्फ हामी सबैले ध्यान दिनु पर्छ । कोरोना भाइरसको असर व्यवस्थापनमा राष्ट्र बैंक सफल भएको छ भनेर म दावी नै गर्छु ।
तपाइँले बैंकहरु बाहेक अरु कसैले पनि राहत दिएनन् भन्नुभयो । यसको मतलब बैंकहरुले आफ्नो खल्तिबाटै नागरिकलाई राहत दिएका हुन् ?
खल्तिबाटै दिएको त हो नी । बैंकहरुले खुरुखुरु व्याज पाइरहेका थिए । तर, लिनुस् तपाइँलाई २ प्रतिशत छुट भनेर दिए । त्यो २ प्रतिशत नदिएको भए त बैंकको नाफा बढ्थ्यो । जस्तै, मैले तपाइँलाई १ करोड रुपैयाँ १२ प्रतिशत व्याजमा ऋण दिएको छु । तपाइँले १२ लाख रुपैयाँ व्याज दिनु पर्ने थियो । तर तपाइँलाई समस्या भयो । ल तपाइँलाई २ प्रतिशत छुट भन्दा १० लाख मात्रै दिनु भनेपछि त २ लाख त मेरो खल्तिबाट दिएँ नी । हो, बैंकहरुले पनि आफ्नो नाफा कटौती गरेर आफ्ना ग्राहकहरुलाई छुट दिएका हुन् ।
अलि फरक प्रसंग र प्रश्न गरेँ, नागरिकलाई सहज रुपमा सेवा दिने नाममा वित्तीय क्षेत्रमा पनि धेरै लेयरहरु छन्, यो होलसेल बैंकिङ कहिलेसम्म रहने ? यसले त नागरिकलाई झन ठूलो आर्थिक भार परेन र ?
हरेक चिजलाई हेर्ने कोण फरक किसिमको हुन्छ । नजर र बुझाई पनि फरक हुन्छ । हिजोको दिनमा नेरु ( नेपाली रुपैयाँ) मा ऋण लिएर भारु भारतीय रुपैयाँ दिनु पर्थ्यो ब्य्याज मानेेर। तर, अहिले त्यस्तो अवस्था छैन । यदि ती माइक्रोफाइनान्स ती सहकारीहरु ती ग्रामिण ठाउँमा नभइदिएको भए ६० प्रतिशत व्याजमा पैसा लिनु पर्थयो । हिजो यस्तै अवस्था थियो । कतिको त घरखेत गएका छन् । त्योबाट अहिले १७/१८ प्रतिशतमा आउँदा के फरक पर्यो ? हरेकको आ–आफ्नै स्पेसिअलाइजेेेसन हुन्छ । एउटा ठूलो विजनेस गर्ने बैंक सानो २०/३० हजारको व्यवसाय गर्नेमा फोकस हुन्छ त ? हुँदै हुँदैन । त्यसमा फोकस त्यही माइक्रो फाइनान्सको हुन्छ ।
हामीमा ‘फाइनान्सियल लिट्रेसी’को समस्या छ । जनताहरु वाणिज्य बैंकमा पनि त आउन सक्छन् । किन आउँदैनन् ? राष्ट्र बैंकले विभिन्न सेवा सुविधा र सहुलियत दिएको छ । किन आउँदैनन् ? आफुले केही नबुझने तर बिचमा बिचौलिया आए ।चर्को व्याज लियो भनेर हुन्छ त? त्यसकारणले माइक्रोफाइनान्सहरु त्यो ठाउँमा पुगेर हिजोका साहुबाहरुले लिने ६० प्रतिशत व्याजलाई अन्त्य गरेर १६/१७ प्रतिशत व्याज दिइरहेका छन् र ठगेका छैनन् । हिजो कयौंका घर खेत जान्थे । तर, आज त्यस्तो अवस्था छैन । मेरो भनाई त १६/१७ प्रतिशतबाट अझै पनि सस्तो भए त हुन्थ्यो नी तर सबै हिसाबले बुझ्नुपर्छ ।
फरकै प्रशंग, तपाइँले समसामयिक घटनाक्रमलाई पनि नजिकबाट नियाल्नु हुन्छ, अहिले नेपाली सेयरबजार उथलपुथल छ, अप–डाउनको सिलसिला बढेको छ । यसलाई कसरी नियाल्नु भएको छ ?
मार्चको मध्यसम्म संसारैभरका सबै सेयर बजार ओरालो यात्रामा थिए । त्यसपछि रिकभर हुँदै संसारभरकै परिसुचक उच्च विन्दुमा पुग्यो । न्युओर्क, भारत र नेपालमै कोभिडको बीचमा परिसूचकले उच्च विन्दु पार गरेर नयाँ रेकर्ड राख्यो । सेयर बजार बढ्दा हौसिने र घट्दा निराश हुने लगानीकर्ताको प्रवृति छ । नेपालकै सन्दर्भमा कुरा गर्दा १२ सयमा रहेको नेप्से परिसुचक बढेर २६ सयमा पुग्दा लगानीकर्तालाई वास्तै छैन । तर, २६ सयबाट २०/२५ अंकले घट्यो भने आत्तिएर बेच्न दौडिने प्रवृति लगानीकर्ताको छ । जुन सेयर बजारका लगानीकर्ताहरुका लागि उपयुक्त हुन सक्दैन । सर्वप्रथम यो प्रवृतिलाई सुधार्न आवश्यक छ ।
नेपाली सेयर बजारका लगानीकर्ताहरु बजार बढ्यो भने किन्ने तर बजार घट्न लाग्यो भने बेच्न दौडिहाल्छन् । हामी कहाँ आधारभुत ज्ञानको अभाव छ । हाम्रा लगानीकर्ताहरुमा वित्तीय चेतनाको अभाव छ । लगानीकर्ताले ‘डिभिडेण्ड इल्ड’ हेर्नुपर्छ । कम्पनीको प्रोफाइल हेर्नु पर्ने हो । कम्पनीको व्यवस्थापन कस्तो छ भनेर हेर्नु पर्ने हुन्छ । कम्पनीको इपीएस ९प्रतिसेयर आम्दानी० लगायतका पक्षहरु अध्ययन गरेर लगानी गर्नु पर्ने हुन्छ । तर, हामी फलानोसँग मर्ज हुने भयो, फलानो कम्पनीको राइट सेयर आउने भयो भन्ने लगायतका हल्लाहरु सुनेर लगानी गर्न दौडिन्छौं । त्यही भएर हल्लाको भरमा बढेको सेयर बजार हल्लाकै भरमा घट्छ ।
यो सामान्य विषय नै हो । त्यसैले ‘फण्डामेन्टल्स’को आधारमा गरेको लगानी सुरक्षित हुन्छ । राम्रो हुन्छ । अगाडि बढ्छ । आजको दिनमा सेयर बजारको प्रबृत्ति बढी जसो ‘पर्फरमेन्सबेस्ड मार्केट प्राइस’भन्दा पनि ‘हल्लाबेस्ड मार्केट प्राइस’ छ । यसैले विनाकारण घटबढ हुने, आन्तरिक सूचना चुहावटको कारणले पनि मार्केट तलमाथि हुने अवस्था देखिएको छ । अहिले बजार विश्वास गर्न लायक भइसकेको अवस्था छैन । त्यसैले बजारको इण्डिकेटरले सही संकेत गर्छ त भन्दा ‘आई कान्ट सिरियस’ । तर, यो विस्तारै सुधार हुँदै जाने प्रक्रिया हो ।
हिजोभन्दा आज धेरै परिवर्तन भएको छ । हिजो दुई चार जनाले चाहे भने परिसुचक जता पनि लान सक्थे । सेयर मूल्य जता पनि लान्थे । तर, आज हेर्नुभयो भने बजारमा दैनिक १०, ११ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको छ । धेरै विषयहरु सकारात्मक छन् । तर, प्रयाप्त छैन । सुधारका कामहरु गर्नुपर्ने धेरै छन् । पुँजी बजारमा भएको ‘फरमेन्स’ र ुविकासु भने सन्तोषजनक छ भन्नुपर्छ, सकारात्मक कुुुराहरु पनी हाईलाईट गन्र्नुपर्छ ।
यस्तो कुराहरु अध्ययन गरेर लगानी गर्यो भने कुनै न कुनै समयमा यस्ता कम्पनीले राम्रो प्रतिफल दिन्छन् । अब तत्कालिन रुपमा अर्थात सर्टटर्ममै नाफा चाहिएको हो भने मार्केटको इन्फरमेसन अनुसार नै चल्नु पर्ने हुन्छ । ट्रेड पनि त्यही अनुसारको गर्नु पर्छ । अर्को महत्वपूर्ण कुरा भनेको लगानीकर्ताले रियलाइजेसनको लिमिट राख्न आवश्यक छ । बजारमा ठूला लगानीकर्ता र म्युच्युअल फण्डहरुको पनि भूमिका रहन्छ । उनीहरुले बजार तल माथि गयो भने अलि होल्ड गर्ने भन्दा पनि उनीहरु बजार घट्न थाल्यो भने साना लगानीकर्ता भन्दा पनि पहिला आँतिन्छन् । म्युच्युअल फण्डको पनि बजारमा धेरै भूमिका र योगदान गर्न सक्छन् ।
तर, यहाँ सबैलाई नाफा नै चाहिएको छ । त्यस कारणले यी विविध विषयहरुमा सुधार हुन आवश्यक छ । कम्पनीको सम्पूर्ण विषयवस्तु अध्ययन गरेर गरेको लगानीले कुनै पनि समयमा राम्रो प्रतिफल त पक्कै दिन्छ । हल्लाहल्लैको भरमा लगानी गरेको हो भने त सेयरबजार जुवाघर जस्तै हुन्छ । बुझेर गरेको लगानी हो भने हाम्रो जस्तो क्यापिटल मार्केटमा लगानीकर्ता पछुताउनु पर्ने अवस्था आउँदैन । बजार तल माथि भइरहन्छ नी हरेक दिन लगानीको मार्क टु मार्कट गर्दै कहिले उफ्रिने त अर्को दिन हतासिने लगानीकर्ताले बजारमा गुमाउछन अनि बजारलाई झन तलमाथि हुन मद्दत गर्छन । विश्ववास आफ्नो लगानीमा हुनुपर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
“बैंकहरुको लागि कर्जा र निक्षेपका दुवै समान ग्राहक हुन् / व्याज यो सबै डिमाण्ड र सप्लाईको खेल हो ” भन्दै गर्दा कुनै समय LIQUIDITY CRISIS हुँदा CARTELLING गरेर DEPSIT को INTEREST लाई संकुचन गर्ने काम किन गरियो ? अहिले DEPOSIT को व्याज घटेर अति नै तल पुग्दा पनि नत राष्ट्र बैंक ले केहि बोल्यो नत NBA नै / साना साना लाखौं DEPOSITOR लाई मार्ने काम भएको छ / आउने दिनमा पनि फेरी कर्जाको व्याज बढ्ने अवस्था आयो भने तपाईं डिमाण्ड र सप्लाईको खेल भन्नु हुन्छ कि उही CARTELLING को लागि LOBBYING गर्नुहुन्छ ?