२०७७ फागुन २७ गते १२:०९ विकासन्युज
नेपालको इञ्जिनियरिङ क्षेत्रमा परिचित नाम हो विज्ञानप्रसाद श्रेष्ठ । स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी जलविद्युत आयोजना (४५६ मेगावाट) को नेतृत्व गरिरहेका श्रेष्ठको कार्यकौशलता र व्यवस्थापकिय क्षमताकै कारण उनलाई सो परियोजनाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सुम्पियो । विगत डेढ दशकदेखि अपर तामाकोशीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न श्रेष्ठले ७ वर्ष अगाडि मात्रै सो कम्पनीको सीईओका रुपमा प्रवेश गरे । तर, २०७३ मै निर्माण सम्पन्न भइसक्ने भनिएको अपर तामाकोशीको निर्माण कहिले सकिन्छ यकिन गर्न सक्ने अवस्था भने देखिँदैन । सो परियोजनाको काम कहिले सम्पन्न हुन्छ ? निर्माण ढिलाईको कारण के हो ? र कम्पनीका सेयरधनीले कहिलेदेखि लाभांश पाउँछन् लगायतका विषयमा कुराकानी गरेका छौं ।
अपर तामाकोशी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण हुने भयो भनेर धेरै उत्साहित थिए, तर अहिले यसको निर्माण गति देखेर सबैमा निरशा छ । नेपालका ठूला आयोजनाहरु बन्न विदेशी लगानीकर्ता नै चाहिने रहेछ ?
यसमा म अलि डिबेट गर्छु । परियोजनाको फाइनान्स बुझ्नेले मात्र यसको प्राविधिक कुराहरु बुझ्छ । दुई तीन दशक अगाडि यस्ता ठूला आयोजनाहरु सरकारले मात्रै गर्छ भन्ने मानसिकता हामी सबैमा थियो । सरकारले नगरे त्यसमा विदेशी साहयता चाहिन्छ भन्ने थियो । तर, २० मेगावाटको चिलिमे आएपछि त्यसले प्रोजेक्ट फाइनान्स कसरी गर्ने भन्ने गाइडलाइन दिएको छ । हामी उत्साहित थियौं ।
सन् २००० पछि उर्जा क्षेत्रमा लगानी कम गर्ने भन्ने विषय पनि उठ्यो । सरकारले ठूला परियोजनामा लगानी नगरेपछि कसले गर्ने भन्ने विषय पनि उठ्यो । तामाकोशी आउने भएपछि धेरै मानिस उत्साहित थिए । अहिले पनि उत्साहित नै छन् । तर यसको केही प्राविधिक र प्राकृतिक विपदहरुले नै यसको निर्माण कार्यमा असर पुगेको हो ।
अपर तामाकोशीले केहिलेदेखि बिजुली उत्पादन गर्छ ?
यसको ठ्याक्कै डेडलाइन भन्न सकिने अवस्था छैन । हामी प्रक्रियामा नै छौं । कोरोना भाइरसको कारणले पनि धेरै काम प्रभवित भए । अर्को कन्ट्याक्टरको कारणले पनि काम रोकियो । केही हप्तापछि हामी यसको काम सिध्याउँछौं । चैत भित्रै हामी पानी भर्छौं । कन्ट्याक्टरबाट आउनु पर्ने सामानहरु पनि आइरहेका छैनन् ।
२०७७ सालभित्रै अपर तामाकोसीको बिजुली उपभोक्ताहरुले उपभोग गर्न पाउँछन् ?
०७७ साल भित्रै त म भन्न सक्दैन । जसरी मेलम्चीले आफ्नो प्रक्रिया अनुसार काम गरिरहेको छ । त्यसरी नै हामीले काम गर्नु पर्ने हुन्छ । मेलम्चीलाई फुल फेजमा काम गर्न २/३ महिना लाग्छ । त्यस्तै हामी पनि टेस्टिङ फेजमा छौं । हाइड्रोपावरको गाह्रो काम भनेको वाटर-वे हो । त्यो सफल भयो भने नर्मल रुपमा ६ महिनाभित्र काम सकिन्छ । तर, त्यसलाई हामीले ३ महिनामा झार्दैछौं । आशावादी कुरा गरौं ।
परीक्षणकाल पनि त्यति लामो हुन्छ ?
हुन्छ नी । हाइड्रो पावरको सबैभन्दा क्रिटिकल पार्ट भनेको सिभिल स्ट्रक्चर हो । त्यो सफल भयो भने रिक्स कम हुन्छ । हामी चैतभित्र टेस्ट सुरु गर्छाैं । फुल फेजको बिजुली उत्पादन गर्न असारसम्म समय लाग्न सक्छ ।
अपर तामाकोशी बन्यो भनेर खुशीमा लड्डु खुवाउने कहिले हो ?
जुन दिनमा टनेलमा पानी भरेर कुनै पनि समस्या देखिएन र बत्ती बल्यो भने हामी लड्डु खुवाउँछौं । त्यो समय भनेको चैत मसान्त वा बैशाखको पहिलो हप्ता हो । कुनै समस्या नआयो भने त्यो समयमा नागरिकले अपर तामोकोसीको उपहार अवश्य नै पाउँछन् । यति लामो समय लगाएर काम गर्नु भएको छ । तर पनि काम सफल हुन्छ कि हुँदैन भन्ने दुविधा र शंका किन ?
परियोजना सफल छ भनेर थाहा छ भने त परीक्षण किन चाहियो ? यो एउटा प्रक्रिया हो । शतप्रतिशत सफल भनेर वा शतप्रतिशत कन्फिडेन्ट भन्ने त कहिँ पनि हुँदैनन नी । ब्लण्डर समस्या त नआउला तर सानोतिनो त हुन्छ नी ।
यो परियाजनाको सुरक्षित ल्याण्डिङ गर्दै गर्दा अर्थात यति लामो समय लगाएर परियोजना निर्माण गरिरहँदा तपाईंका अनुभुति र अनुभवहरु के कस्ता रहे ?
यो त एउटा विश्वविद्यालय नै छ । हनुमानसँग शक्ति हुन्छ रे तर शक्ति कहाँ छ भन्न सक्दैन भने जस्तै हो यो । सुरुवातीमा काम गर्न धेरै गाह्रो थियो । तामाकोसी आएको १८ वर्षभन्दा पनि बढी भइसकेको जस्तो मलाई लाग्छ । मैले यो परियोजनामा पहिले आउट सोर्सिङ भएर पनि काम गरेँ । म आफैलाई १०/११ वर्ष भइसकेको छ । म यसको नेतृत्वदायी भूमिकामा रहेर आएको ७ वर्षभन्दा बढी भयो । ३/४ वर्ष सेकेण्ड म्यान भएर पनि काम गरेँ । यो बिचमा धेरै अनुभुति र अनुभवहरु रहे । जो म अहिले भन्न सक्ने अवस्थामै छैन ।
नेपालको अन्य परियोजनाभन्दा अपर तामाकोशीमा नेतृत्व स्थिर छ, यो स्थिरताको फाइदा के हो ?
यसलाई तुलानात्मक रुपमा हेर्नु पर्ने हुन्छ । धेरैले लागत बढ्यो, समयावधि बढ्यो भन्छन् । तर, धेरै समस्याहरु स्थिर नेतृत्व भएकै कारण समाधान भएका छन् । यस्सो हेर्दा परियोजना ढिलाई त भइरहेको छ । परियोजना सफल पार्नको लागि नेतृत्वको आफ्नै ईफोर्ट हुन्छ । हामीले पहिलो चुनौती सामना गर्नु परेको समय हो भूकम्प । भूकम्पको समयमा धेरै चुनौतीहरु सामाना गर्नु पर्यो । एक वर्ष हामीले काम गर्न नै सकेनौं । भूकम्पको समयमा हामीले परियोजना स्थलमा बस्ने मानिसहरुको मनोबल उच्च राख्नु पर्ने अवस्था थियो । कन्ट्याक्टरलाई भाग्न नदिन पनि भूमिका खेल्नु पर्ने अवस्था थियो । ती दुवै काम गर्न म सफल भएँ । त्यो समस्या समाधान हुने बित्तिकै फेरि नाकाबन्दीको समस्या भोग्नु पर्यो । भूकम्पको समयभन्दा पनि बढी चुनौती हामीले नाकाबन्दीमा भोग्नु पर्यो । फेरि अहिले कोरोनाको समय आयो ।
यी विभिन्न समयमा आएका चुनौतीहरुलाई सहज रुपमा पार गर्न वा विगतका घटनाक्रमहरुलाई पाठको रुपमा बुझेर आउने समस्या समाधान गर्नको लागि स्थीर नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ ।
तपाईंको नजर र बुझाईमा अपर तामाकोशी जलविद्युत आयोजना सफल कि असफल ?
म दुबै भन्न सक्दैन । किनभने मानिसको यो परियोजनाप्रति जति अपेक्षा थियो त्यो नभएको अवश्य नै हो । त्यसैले यसलाई सफल पनि भन्न सकिने अवस्था छैन । हामी सम्पन्न देश भएको भए चाँडै सकिन्थ्यो । हाम्रो देश अनुसार यो काम ठीकै हो ।
यो परियोजनालाई सकारात्मक ढंगले अगाडि बढाउनको लागि कसको भूमिका के रह्यो ?
यसमा धेरैको महत्वपूर्ण भूमिका छ । एक दुई जनाको नाम लिँदा अन्याय हुन्छ । विद्युत प्राधिकरणका हालसम्मका कार्यकारी निर्देशकहरुको महत्वपूर्ण भूमिका छ । सुरुवाती चरणमा हरिशचन्द्र शाहदेखि हालसम्मका एमडीहरुको भूमिका उत्तिकै महत्वपूर्ण छ । यो परियोजनामा विदेशी लगानी ल्याउनको लागि धेरै खेल भइहरेको थियो । तर, स्वदेशीले नै बनाउनु पर्छ भन्ने आवाज आएपछि स्वदेशी लगानीमै शुरु गरिएको हो । यसमा सबैको भूमिका महत्वपूर्ण नै छ ।
अहिले अपर तामाकोसी निर्माणको अन्तिम चरणमा छ, अपर तामाकोशीको अनुमानित लागत कति पुग्यो ?
यसमा विभिन्न किसिमको बजेट हुन्छ । व्याज सहित काउन्ट गर्ने कि व्याज बिना काउन्ट गर्ने भन्ने कुरा पनि आउँछ । यसको फाइनान्सिङ डिजाइन अलि कमै थियो । यसमा धेरै रिक्सहरु नआओस् भनेर पनि कम बजेट अनुमान गरिएको हो । त्यतिखेर ३५ अर्ब रुपैयाँ मात्रै अनुमान गरिएको थियो । त्यो व्याज बिनाकै लगानी हो । अहिले समय बढ्यो । व्याज बढ्यो । व्याजबाहेक ५२ अर्ब र व्याजसहित जोड्दा अहिले ८६ अर्ब रुपैयाँ पुगिसकेको छ । भन्न सजिलो छ तर यसको चोट कति छ भन्ने कुरा हामीलाई थाहा छ ।
१३ अर्ब सरकारको सब्सिटी छ । यस्तो हुँदा हुँदै पनि व्याज धेरै बढी छ । अहिले १० प्रतिशतभन्दा कम छ । तर, एक समयमा १२ प्रतिशतभन्दा बढी पनि भएको थियो । यो परियोजनाको व्याज पनि खर्च हो । विद्युत प्राधिकरणले पनि रिक्स प्रिमियम राखेर दिन्छ । म प्राधिकरणकै कर्मचारी भएको भएपनि यो अन्याय नै हो । यसरी पनि यसको लागत बढिरहेको छ । परियोजना सस्तो र महँगो गर्ने भनेको व्याजले नै हो । यो परियोजनाको लागत बढ्ने मूख्य कारण नै व्याज हो ।
यो परियोजना निर्माण सुरु हुने समयमा सबैले रोल मोडेल परियोजनाका रुपमा लिएका थिए । के यसले रोल मोडेलकै भूमिका खेल्न सक्छ ?
यो परियोजनाले डिस्टिङसन पाउन सक्दैन । केही कमी कमजोरी छन् । परियोजनालाई पासमार्क दिन सकिन्छ । परियोजना फेलर होइन । यो परियोजना एकदमै समस्याका बाबजुद शुरु गरिएको हो ।
शुरुमा ३५ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको परियोजनाका लागि अहिले ८६ अर्ब पुगिसकेको छ । सरकारकै स्वामित्व रहेको यस्तो गौरवको आयोजनाकाे लगानीमा यति ठूलो भिन्नता किन ? परियोजनाले कहाँ फेल खायो ?
फेल खायो भन्दा पनि यो इन्टरप्रेटेसनको विषय हो । पहिले व्याजसहित पनि ५० अर्ब हाराहारी मै थियो । त्यसमा डलर एक्सेञ्ज छोडिएको थियो । यो परियोजना रिक्स कम गर्नको लागि केही फिगरहरु हामीले कममा नै राख्यौं । त्यसमा विदेशी मुद्रा राखेको भए त ७/८ अर्ब रुपैयाँ अवश्य नै आउँथ्यो । यो परियोजनाको लागत बढ्नुको मुख्य कारण भनेकै समय र व्याज हो ।
देश यही हो, मानिस यिनै हुन्, स्रोत साधन यही हो । तर कुनै परियोजना तोकेको समयभन्दा अगाडि नै सम्पन्न हुने भने कुनै धेरै समय लगाउनु पर्ने, तपाईंको बुझाईमा यस्तो अवस्था किन आउँछ ?
हामीले प्राकतिक विपद्हरु पनि बुझ्नु पर्यो । हामीले यो बिचमा धेरै समस्याहरु भोग्यौं, भूकम्प, नाकाबन्दी र कोरोना भाइरसको कारण हाम्रो काम धेरै प्रभावित भयो । यो परियोजना किन ढिलाई भयो भन्न सकिने अवस्था पनि छैन । यसमा निश्चित समूहको स्वार्थ लुकेको छ । त्यस कारणले पनि यसको काम प्रभावित भइरहेको छ । नाकाबन्दीको कारणले पनि हामीले एक वर्ष काम गर्न सकेनौं । मैले अहिले नै यसले समस्या गर्यो भन्यो भने सहयोग गरिरहेको मानिस पनि बाहिरिन्छ । यो परियोजना नपाएकाहरुले यसलाई असहयोग गर्न खोजिरहेका छन् ।
जसले आफ्नो व्यक्तिगत स्वार्थको लागि यति ठूलो गौरवको आयोजना प्रभावित पारिरहेको छ, त्यसलाई खुलस्त पार्न तपाईंको कन्जुस्याईँ किन ?
अहिले नै धेरै कुराहरु भन्न उचित पनि हुँदैन । मैले व्यवस्थापकीय कोणबाट हेर्नुपर्छ । मैले मेरो मुखबाट यसलाई प्रत्यक्ष रुपमा भन्न सक्दिन । अहिलेको लागि यो अनसिन हो । कतिपय अवस्थामा डिप्लोमेटिक हुनुपर्दो रहेछ ।
अपर तामाकोशीलाई सरकार, लगानीकर्ता र सबै तह तप्काको पूर्ण सहयोग र साथ छ तर पनि समयमै बन्न सकेन । यो परियोजनाको मुख्य समस्याको जड के हो ?
अहिले मुख्य देखिने समस्या भनेको कन्ट्याक्र नै हो । कन्ट्याक्टरको कारणले पनि काम रोकिने रहेछ भन्ने पाठ अपर तामाकोशीले सिकाएको छ । धेरै राम्रो व्यवस्थापन गर्दा पनि कन्ट्याक्टरको कारण यति ठूलो समस्या आउने रहेछ भन्ने हामीले बुझ्यौं ।
तपाईंको भनाई अनुसार कन्ट्याक्टर छनोट गर्दा हामीले गल्ती गर्यौं ?
हो, पक्कै हो । यहाँ मुख्य समस्याको कारण त्यही हो ।
गल्ती गर्नेलाई कारबाही गर्ने बारेमा सोच्नु भएन ?
कारबाही गर्ने त उसको कन्ट्याक्ट अमाउन्टसम्म न हो । त्यो सफर गर्ने काम त हामी गरिरहेका छौं । हामीलाई एक प्रकारको बाउण्ड्री छ । म निजी उद्यमी भएको भए यसलाई हटाएर अर्कोलाई ल्याउन सक्थेँ । त्यो किसिमको रिक्स लिन सकिन्छ । तर, हामी पब्लिक उद्यमी भएकोले प्रक्रिया पुर्याएर काम गर्नुपर्ने हुन्छ । हाम्रो बाध्यता फरक खालको छ । हामी बाँधिएका छौं ।
यो परियोजनाकाे निर्माण सम्पन्न हुने भनिएको पनि ५ वर्ष भइसक्यो अझै बनेको छैन । टू दी पोइन्ट अपर तामाकोशीलाई कसले ठग्यो ?
सुरुमा प्राकृतिक विपद्ले ठग्यो । त्यसपछि यो बिचमा केही प्राविधक समस्याहरु पनि आए । हाम्रो सुरुङको डिजाइन अर्थात संरचना पनि परिवर्तन गर्नुपर्ने थियो । त्यसमा पनि समय लाग्यो । त्यसैले लागत पनि बढ्यो । ठेकेदारबाट पनि असहयोग जस्तो देखियो । यी विविध कारणले परियोजनाको काम ढिलाई हुन पुग्यो । यो परियोजनाबाट हामीले धेरै पाठ सिकेका छौं ।
यो कम्पनीका सेयरधनीलाई तपाईं के सन्देश दिनुहुन्छ ?
अपर तामाकोशीमा सयरकै कारणले पनि गिद्धेदृष्टि लागेको हो । यसको सेयर किनेर सिरानीमा राखेपछि चिलिमे जस्तै हुन्छ धेरैले ठानेका थिए । त्यो कारणले पनि कतिले धेरै सेयर पाए कतिले कम पाए । जसले पाए पनि नेपालीले पाए भन्ने मानसिकता राख्नु पर्छ भनेर हामीले वकालत राख्दै आएका छौं । यो गौरवको परियोजना हो । यसबाट धेरै पाठ सिक्न सकिन्छ । हामीले आशा गरेको भन्दा कम प्रगति छ । यो परियोजनाले सुरुमा लगानीकर्तालाई सोचे जस्तो लाभांश दिन सक्दैन तर निराशा बनाउँदैन ।
कम्पनीले लगानीकर्तालाई लाभांश कहिलेदेखि दिन्छ ?
यो वर्ष दिन सक्दैनौं । जुन वर्षमा हामी फुल फेजमा विद्युत उत्पादन गर्छौं त्यही वर्षबाट लाभांश पनि दिन्छौं । हामीले धेरै थोरै भएपनि लाभांश दिन सक्ने अवस्था आउँछ । हाइड्रोपावरमा क्यास फ्लो कम हुन्छ । त्यस आधारमा हामी लाभांश दिन्छौं । यो सेन्सेटिभ विषय हो । धेरै निराशाजनक लाभांश पनि हुँदैन । हामी लाभांश दिन सक्छौं । हामीले वार्षिक ९ अर्ब आम्दानी गर्छौं । त्यसमा व्याज हुन्छ । पूर्ण रुपमा उत्पादन भइसकेपछि हामी नियमित रुपमा लाभांश दिन हुन्छाैं ।
अहिले अपर तामाकोशीको मार्केट रेट जुन छ त्यसलाई जष्टिफाई गर्छ वा के हुन्छ ?
मैले यस्तो नै हुन्छ भनेर भन्नु हुँदैन । यसले बजारलाई इफेक्ट गर्छ । हामी पारदर्शी छौं । लगानीकर्ताहरुले आ-आफ्नो साइडबाट हेर्नुपर्ने हुन्छ । कम्पनीको फण्डामेन्टल्सहरु त हामी दिई नै रहेका हुन्छौं । हामी सेयरधनीलाई निराश पार्दैनौं ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.