२०७७ चैत ५ गते १७:१५ विकासन्युज
काठमाडौं । कुमारी क्यापिटलले निष्काशन गरेको कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड भएको छ । क्यापिटलले कुमारी समाूहिक लगानी कोष अन्तर्गत संचालन हुने कुमारी इक्वीटी फण्डको इकाई आज (चैत ५ गते) बिहीबार बाँडफाँड गरेको हो ।
क्यापिटलले गत फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म प्रति इकाई १० रुपैयाँ दरको ८ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमा माग भन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ ।
मागभन्दा बढी आवेदन आएकाले सामूहिक लगानीकोष निर्देशिका २०६९ को दफा १५(४) मा र विवरणपुस्तिकाको बुँदा ४(च) मा भएको व्यवस्था अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको इकाई १० करोड इकाई बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ (पन्ध्र) प्रतिशत विजपूँजी वापतको १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंकलाई बाँडफाँड गरेको हो ।
र, बाँकी रहेको ८ करोड ५० लाख कित्ता इकाई आज बाँडफाँड भएको हो । उक्त फण्डमा ९४ हजार ७९४ जनाले आवेदन दिएका थिए । जसमध्ये ९४ हजार ७३३ जनाले रितपूर्वक आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिनेमध्ये सर्बसाधारणबाट ९४ हजार ६६१ जनालाई ३ करोड ९२ लाख ३१ हजार १० इकाई र विभिन्न संघ संस्थाबाट ७५ वटा संस्थालाई ५ करोड ३९ लाख २२ हजार ३०० इकाई बाँडफाँड गरिएको हो ।
त्यस्तै, दोहोरो आवेदन दिने ६१ जना आवेदकको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।
यसरी बाँडफाँड गर्दा इकाई १०० देखि २० लाख इकाईसम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड पाएका छन् । २० लाख इकाई भन्दा माथिल्लो समूह अर्थात २५ लाख इकाईदेखि ५० लाख इकाईसम्म माग गरेका आवेदकलाई कूल १ करोड ६८ लाख ४६ हजार ६९० इकाई बाँडफाँड गरिएको छ ।
यससँगै, २५ लाखदेखि ५० लाखइकाईसम्म आवेदन दिने प्रत्येक ७ जनाले २४ लाख ०६ हजार ६७० इकाई हात पारेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.