२०७७ चैत १० गते १८:१९ विकासन्युज
काठमाडौं । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले ३९ कम्पनीको सेयर कारोबार गर्न पाउने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आज(चैत १० गते) स्टक डिलरको लागि कारोबार योग्य ३९ कम्पनीको नामावली सार्वजनिक गरेको हो ।
उक्त नामावली अनुसार डिलरले नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकसहित ३९ कम्पनीको सेयर किनबेच गर्न पाउने भएको छ ।
नेप्सेले छनोट गरेको कम्पनीमा सूचीकृत भएका सबै बैंक अर्थात २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त, अन्य समूहको १ र होटल एण्ड पर्यटन समूहको १ गरी ३९ वटा योग्य कम्पनी रहेका छन् ।
विकास बैंक समूह अन्तर्गत एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छनोट भएका छन् ।
त्यसैगरी माइक्रोफाइनान्स समूहका ४ कम्पनीमध्ये छिमेक लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था, आरएसडीसी लघुवित्त संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्था परेका छन् ।
त्यसैगरी, अन्य समूहको नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) र होटल एण्ड पर्यटन समूहको तारागाउँ रिजेन्सी होटल कम्पनी छनोट भएका छन् ।
पुँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित भएको उक्त स्टक डिलरले पुँजी बजारमा संस्थागत लगानी बढाउनको लागि भित्रिन लागेकाे हाे । यससँगै नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सक्ने छ ।
कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ भने चुक्ता पुँजी ५ अर्ब रुपैयाँ हुनेछ । ४ वटा कम्पनीको लगानीमा खोलिएको उक्त कम्पनीमा सबैभन्दा बढी लगानी सीआईटीको रहेको छ । जसको ५१ प्रतिशत सेयर रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी(एनटीसी) को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर रहेको कोषले जानकारी दिएको छ ।
यस्तै, कम्पनीले बढीमा १० अर्ब रुपैयाँसम्म बजारबाट उठाउनेछ । स्टक डिलर कम्पनीले सेयर बजारमा करिब १५ अर्ब रुपैयाँ लगानी गर्नेछ । आफूसँग भएको ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गरेर सेयर बजारलाई स्थायित्व प्रदान गर्ने कोषले बताएकाे छ ।
कुन कुन हुन् याेग्य कम्पनी ?
Copyright © 2024 Bikash Media Pvt. Ltd.