२०७७ चैत १० गते १८:५६ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले नेपालको पुँजीबजार बैंक तथा वित्तीय संस्थाको मात्रै ऐना भएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको छलफल कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।
उनले बजारमा रियल सेक्टरभन्दा बैंक तथा वित्तीय संस्थाको बढी बाहुल्यता भएकोले नेपालको पुँजीबजार बैंक तथा वित्तीय संस्थाको मात्रै ऐना भएको बताएका हुन् ।
पुँजीबजार बैंक तथा वित्तीय संस्थाको ऐना भएकोले नियामक निकाय नेपाल राष्ट्र बैंक तथा बीमा समितिले केहि नीति परिवर्तन गर्नासाथ बजारमा हलचल मच्चिने गरेको उनले बताए ।
‘नेपाल राष्ट्र बैंक तथा बीमा समितिले पोलिसी परिवर्तन गर्नासाथ बजारमा हाइक्राई हुन थाल्छ । त्यसैले अन्य रियल सेक्टरका कम्पनी बजारमा प्रवेश भए भने बैंकको पोलिसी चेञ्ज हुँदा बजारमा हाइक्राई हुँदैन थियो होला ।’, स्पष्ट पार्दै उनले भने।
साथै, रियल सेक्टरलाई बजारमा प्रवेश गराएपछि मात्र नेपालको पुँजीबजारलाई अर्थतन्त्रको ऐना भन्न मिल्ने उनको भनाई छ ।
‘हाम्रो पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता छ । हामीले रियल सेक्टरको कम्पनीलाई अझैपनि बजारमा आकर्षित गराउन सकेका छैनौं । अन्तर्राष्ट्रिय पुँजीबजारको संरचना हेर्ने हो भने त्यहाँ सूचीकृत कम्पनीमा बैंक तथा वित्तीय संस्था कम हुन्छ र रियल सेक्टरका कम्पनीहरु बढी हुन्छन् । तब मात्रै हामीले अर्थतन्त्रको ऐना भन्न सक्छौं ।’, गिरीले भने ।
त्यसैले नेपालमा बुक बिल्डिङ् विधि लागू गर्नुको मूख्य उद्देश्य नै रियल सेक्टर कम्पनीलाई बजारमा प्रवेश गराउनु रहेको कार्यकारी निर्देशक गिरीले बताए ।
साथै, उनले राम्रो कम्पनीलाई बजारमा अभिप्रेरित गर्न नयाँ विधि ल्याइएको बताए । राम्रो कम्पनी भन्नाले तीन आर्थिक वर्षदेखि लगातार नाफामा भएको, प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीको कम्तिमा १५० प्रतिशत र क्रेडिट रेटिङ औषतभन्दा माथिल्लो अर्थात रिक्स कम भएको हुनुपर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.