२०७७ चैत २४ गते ११:५० विकासन्युज
विश्वनाथ गोयल, उपाध्यक्ष-होङ्सी सिमेन्ट
नेपाली बजारमा सिमेन्टको मूल्य निरन्तर बढिरहेको थियो । भूकम्पपछिको पुर्ननिर्माण ताका नेपालीहरुले एक बोरा सिमेन्टका लागि १ हजार रुपैयाँभन्दा बढी तिर्नु पर्यो । जब चिनियाँ र नेपालीको संयुक्त लगानीमा होङ्सी सिमेन्ट उद्योग खुल्यो, उसकाे उत्पादन बजारमा आयो तब सिमेन्टको मूल्यवृद्धि रोकियो । पछिल्ला दुई वर्षमा सिमेन्टको मूल्य केही घटेको छ । हाल बजारमा ओपीसी सिमेन्ट ७५० र पीपीसी सिमेन्ट ६५० मा किन्न पाइन्छ । उपभोक्ताको लागि यो खुशीको खवर हो । तर यतिबेला सिमेन्ट उद्योगहरु तनावमा छन् । प्रतिस्पर्धाले मूल्य घटाउन उद्योगहरुलाई दबाब छ । तर उद्योगीहरु अहिलेको मूल्यमा पनि उद्योग धान्न गाह्रो भयो भनिरहेका छन् । सिमेन्ट उद्योगहरुको वास्तविक अवस्था के हो ? अब मूल्य बढ्छ वा अझै घट्छ ? प्रस्तुत छ यिनै विषयमा केन्द्रीत भएर होङ्सी सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयलसँग रामकृष्ण पौडेल र सन्तोष रोकायाले गरेको विकास वहस ।
तपाईं होङ्सी सिमेन्टकाे उपाध्यक्ष हुनुहुन्छ । होङ्सी सिमेन्टले बजारमा सबैभन्दा सस्ताे मूल्यमा सिमेन्ट बेच्दै आएकाे छ । साथै यसकाे नेपाली प्रवर्द्धक शिवमले महँगाे मूल्यमा बेच्छ । साना कम्पनीहरू अहिलेकाे मूल्य कम भयाे, याे मूल्यमा उद्याेग चलाउन सकिदैन भनिरहेका छन् । सिमेन्टकाे बजार विकास कुन अवस्थामा छ ?
समग्रमा सिमेन्ट उद्याेगहरू कठिन अवस्थामा छन् । अहिलेकाे मूल्य कम छ । उद्याेग नाफामा चल्न दिनुपर्छ । हामीले सस्ताे मात्र खाेजेर भएन । गुणस्तर पनि राम्राे हुनुपर्छ । होङ्सी र शिवमको गुणस्तर राम्रो छ । शिवम् सिमेन्टलाई नेपाल सरकारले अवार्ड नै दिएको छ । नेपाली उद्योगीहरुमा ४३ ग्रेड पाउने पनि शिवम् नै पहिलो सिमेन्ट कम्पनी हो । गुणस्तरको मामिलामा शिवम् नै नेपालको गौरव हो । अहिले सबैको रोजाई नै शिवम् सिमेन्ट हो । ग्राहकले हार्डवेयरर्सको पसलमा निर्माणको सामग्रीहरु खरिद गर्दा पहिला शिवम सिमेन्ट छ वा छैन भनेर सोध्नहुन्छ, त्यसपछि मात्रै अन्य निर्माण सामग्रीहरु खरिद गर्नु हुन्छ । ग्राहकको रुचीका आधारमाडिलरहरुलाई शिवम् सिमेन्ट राख्नु पर्ने बाध्यता नै छ । त्यसैले पनि अरु सिमन्टहरु भन्दा शिवम महँगो पनि छ । शिवम एउटा ब्राण्डका रुपमा स्थापित भइसकेको सिमेन्ट हो । तर, मूल्य घटाउनु पर्ने बाध्यता पनि हामीलाई छ ।
नेपाली सिमेन्ट उद्योगहरुमा होङ्सीको प्रभाव कस्तो छ ?
सिमेन्ट ढुङ्गाको गुणस्तरमा भर पर्छ । होङ्सीको खानी एकदमै राम्रो छ । दोस्रो, यसमा लेटेष्ट टेक्नोलोजीको प्रयोग भएको छ । नेपालमा होङ्सीको गुणस्तरको जस्तो सिमेन्ट कुनै पनि उद्योगहरुले उत्पादन गर्दैनन् । तर, अहिले उपभोक्ताहरुले चिन्न सकेका छैनन् । यसलाई चिन्न र बुझ्न अवश्य नै समय लाग्छ । यो एकदिनमा सम्भव हुने कुरा पनि होइन ।
तपाईंले होङ्सीको गुणस्तरराम्रोछ भनिरहनु भएको छ, तरयसको मूल्य तुलनात्मक रुपमा अन्य सिमेन्टभन्दा कम छ । उच्च गुणस्तरको बस्तुको मूल्य पनि उच्च हुन्छ भनिन्छ । तर होङ्सीमा ठ्याक्कै उल्टो किन ?
होङ्सीमा त्यो नियम अहिले लागू भइसकेको छैन । यो अवश्य पनि गुणस्तरको हिसावले मूल्य बढी नै हुनु पर्ने हो । तर, हाम्रो चिनियाँ पाटर्नरले मानिरहेको छैन । हामीले मूल्य बढाउनु पर्छ भनिरहेका छौं । तर, उसले होङ्सीको ब्राण्डलाई स्थापित गर्न चाहन्छ । त्यसैले मूल्य बढाउन पनि चाहिरहेको छैन ।
होङ्सीको मूल्य आगामी दिनमा बढ्नेछ वा अझ प्रतिस्पर्धामा जानु मूल्य घटाउँछ ?
घट्ने त ठाउँ नै छैन । घट्नु भनेको नोक्सानी व्यहोर्नु हो । होङ्सीले आफ्नो सिमेन्टको मूल्य ५० रुपैयाँ घटायो भने नेपालको सिमेन्ट इन्ड्रष्टी नै कोल्याप्स हुन्छ । मूल्य घटायो भने होङ्सी सँसँगै देशलाई नै नोक्सान हुन्छ । मूल्य घटाउन खोज्नु भनेको नेपालको अर्थतन्त्र र बैंक नै फेल गर्नु हो । हाम्रो मूल्य अहिले बोर्डर लाइनमा छ । होङ्सीले ५० रुपैयाँ मूल्य घटायो भने अन्य सिमेन्ट उद्योगहरुले बैंकको कर्जा पनि तिर्न सक्दैनन् ।
केही ठूला सिमेन्ट उद्योगहरु स्थापनाको पाइप लाइनमा छन्, यसले अझ प्रतिस्पर्धा बढेर सिमेन्टको मूल्य कम हुन सक्छ भन्ने अनुमान धेरैले गरेका छन् नि?
हो, त्यो ठीकै हो । व्यापारको फर्मुला पनि त्यही हो कि प्रतिस्पर्धा बढ्यो भने मूल्य पनि घट्छ । त्यही कारणले पनि अहिले मूल्य घटिरहेको छ । तर, अझै घट्ने कति ? घट्नेको पनि सीमा हुन्छ नि ।
नेपालको धेरै प्रडक्टहरु भारतको प्रडक्ड र त्यहाँको मूल्यसँग तुलना गरिन्छ । तर, सिमेन्टको मूल्य भारतको भन्दा धेरै बढी छ, यसलाई कसरी लिनु भएको छ ?
भारतमा कोइला सस्तो छ । विजुली सस्तो छ । चुनढुंगाको खानीमाथि फ्याक्ट्री हुन्छ । नेपालमा सिमेन्ट उत्पादनमा धेरै महँगो छ । धेरै ठाउँमा बिजुली पनि पुगेको छैन । कोइला पाउँदैन । कोइलाको मूल्य अत्याधिक बढेको छ । यी विभिन्न विषयहरुले उत्पादनमा अवश्य नै असर पारेको छ । अहिले पनि धेरै उद्योगहरुले बिजुली नभएर डिजलबाट सिमेन्ट उत्पादन गरिरहेका छन् । होङ्सीले पनि दैनिक ७० लाख रुपैयाँ डिजेलमै खर्च गर्छ । होङ्सी अहिले नोक्सानमै छ । अहिले जुन दरमा होङ्सीको मूल्य छ यो मूल्य निरन्तर २ वर्ष गर्यो भने नेपाली सिमेन्ट उद्योग नै फेल हुन्छ । होङ्सी अहिले समस्यामा छ । जहाँ बिजुली छैन । होङ्सीलाई २५ मेगावाट बिजुली आवश्यक छ । डिजेलबाट सिमेन्ट उतपादन गर्छु त्यसैले मेरो सिमेन्ट महँगोमा बेच्छु भन्न त मैले मिल्दैनन नि ?
हामीले डिजेल प्रयोग गरेर पनि बिजुलीकै लागत समान दरमा सिमेन्ट बिक्री गरिरहेका छौं । धेरै मन्त्री, सचिवज्युहरु मलाई मूल्य घट्छ कि भनेर सोध्नु हुन्छ । तर, म त्यस्तो नसोच्दा नि हुन्छ भनेर प्रतिक्रिया दिन्छु । धेरै उद्योगहरु नोक्सानमै चलिरहेका छन् । प्रमोटरहरुकै पैसाले उद्योग चलिरहेका छन् । आज नभए भोलि होला भनेर प्रमोटरहरु लगानी गरिहेका छन् ।
तपाईंले प्रमोटरहरुले खल्तिबाट पैसा हालेर उद्योग चलाइरहेका छन् भन्नुभयो, यो प्रक्रिया कहिलेसम्म लम्बिन्छ ?
समय लाग्छ । तर, यो कुरा ग्राहक र सरकारले पनि महसुस गर्नुपर्छ ।
कम्पनी र प्रमोटरहरु घाटामा छन् भनेर ग्राहकले थप पैसा त तिर्दैन नि ? लागत अनुसार मूल्य निर्धारण गर्ने त उत्पादकले होइन ?
मैले पर्सेप्सनको कुरा गरेको हो । भारतकोभन्दा नेपालामा सिमेन्ट सस्तो हुनुको कारण के छ ?सबैभन्दा पहिले सिमेन्ट कसरी बन्छ, त्यो कुरा बुझ्नु पर्यो । सिमेन्ट बनाउनको लागि चुनढङ्गा चाहिन्छ । भारतमा चुनढुङ्गाको प्रतिटन लागत मूल्य डेढ सय रुपैयाँ छ । नेपालमा १४ सय रुपैयाँ छ । भारतमा चुनढुङ्गा समथर भूभागका छ । नेपालमा पहाडै पहाडमा छ । नेपालमा एक लेयर माटो,अर्को लेयर खराब ढुङ्गा र अर्को लेयरमा चुनढुङ्गा पाइन्छ । भारतमा आँखा चिम्लेर उठाउनमिल्ने चुनढुङ्का छ । भारतको इण्ड्रस्टी चुनढुङ्गा खानी नजिकै छ । नेपालको कयौं किलो मिटर टाढा छ । ढुवानी भाडा पनि त्यति नै महँगो छ । बाटो पनि राम्रो छैन ।
कोईला हामी साउथ अफ्रिकाबाट आयात गर्छौं । त्यो कोइला साउथ इण्डिया हुँदै आउँछ । त्यसमा त्यतिकै खर्च छ । जिप्सन र आइरन पनि भारतबाटै आउँछ । त्यसैले नेपालमा सिमेन्ट सस्तो हुुनु पर्ने कारण के छ ? एक सय रुपैयाँ सिमेन्टको मूल्यको ४० रुपैयाँ कोइलामा खर्च हुन्छ । ३० रुपैयाँ बिजुलीमा जान्छ । २० रुपैयाँ चुनढुङ्गामा खर्च हुन्छ । पैसाको हिसावले कुरा गर्ने हो भने सिमेन्टमा नेपालको लगानी २० रुपैयाँ मात्रै हुन्छ । ८० रुपैयाँ विदेशबाट आएको सामानमा लगानी हुन्छ । हाम्रो चुनढुङ्गामा १ सय रुपैयाँ प्रतिटन कर तिरिरहेका छौं । त्यस बाहेक प्रदेश र स्थानीय सरकारले पैसा मागिरहेका हुन्छन् । चौतर्फि रुपबाट हामीलाई समस्या छ । हाम्रा यी समस्याहरु सरकारले बुझ्नु पर्दैन ?
सरकारले ट्रंक लाइन र डेडिकेटेड लाइनमा अतिरिक्त विद्युत महसुल लगायो भनेर तपाईंहरुले लामो समयदेखि विरोध गर्दै आउनु भएको छ । तर त्यसमा पनि सरकारले तपाईहरु अतिरिक्त मूल्य तिर्नैपर्छ भनिरहेको छ । अब के गर्नुहुन्छ ?
सरकारले सेवा नै नदिकन बिल पठाएको छ । हामीसरकारलाई प्रमाण दिनुस् भनिरहेका छौं । पहिलो कुरा दुईटा उपभोक्ताबीच शुल्कमा फरक गर्न पाइन्छ कि पाइँदैन ?एउटा उपभोक्तालाई एउटा दर र अर्को उपभोक्तालाई अर्कै दर लिन मिल्छ कि मिल्दैन ? संविधानले दुई उपभोक्ताबीचबाट लिने शुल्कमा फरक हुुनु हुँदैन भन्छ । बढी बिजुली उपभोग गर्नेले बरु बढी छुट पाउनु पर्ने हो । दोस्रो कुरा विद्युत प्राधिकरणकै गल्ति छ । कसैलाई बिजुली उपलब्ध गराउँछु भनेर बिजुली नदिँदा र बिना सूचना काटिँदा त्यसको जिम्मेवार हुनुपर्छ कि पर्दैन ? दिन्छु भनेको बिजुली दिनु पर्छ कि पर्दैन ? त्यसको क्षतिपूर्ति दिनु पर्छ कि पर्दैन ?सरकारले पनि प्राधिकरण नियममा छकि छैन भनेर बुझ्नु पर्छ । हल्का पपुलारिटी सरकारले खोज्ने होइन । निश्चित मानिसहरुले सिर्जना गरेको एउटा समस्याका कारण सरकार र उद्योगीबीचको सम्बन्ध बिग्रिएको छ ।
सरकारले अतिरिक्त विद्युत महसुल लिएर छोड्ने अडान लिएको देखियो नि ?
यो रकम सरकारले उठाउनु पनि हुँदैन । उठायो भने उद्योगहरु बन्द हुन्छन् । यो पैसा उठायो भने सरकारको दादागिरी मात्रै देखिन्छ । अरु केही पनि हुँदैन । यो सत्ताको दुरुपयोग मात्रै हुन्छ ।
तपाईंको व्यक्तिगत अनुभवजन्य कुरा गरौं । तपाईले ३४ वर्ष सरकारी कम्पनीमा काम गर्नु भयो । नेपाल टेलिकम र नेपाल आयल निगमको नेतृत्व रहेर काम गर्ने मौका पनि पाउनु भयो । सरकारी निकायमा रहेर काम गर्दा र सर्वसाधरण भएर सरकारलाई हेर्दा वा उद्योगी भएर सरकारलाई हेर्दा कस्तो अनुभुति हुँदो रहेछ ?
सरकारको निकायमा बसेर पनि व्यक्तिले म एकदिन सर्वसाधारण भएर जीउनु पर्छ भन्ने सोच्नु पर्छ । मैले गरेका निर्णयहरु सर्वसाधारणले त्यो निर्णयबाट फाइदा लिन सक्छ कि सक्दैन ? त्यो कुरा ख्याल गर्नु पर्छ । मैले दुरसञ्चारको शुल्क निर्धारण गर्दा सर्वसाधारणलाई एकदमैसस्तो र सहज हुने किसिमले निर्धारण गरेको थिएँ । विदेशमा भएको मानिससँग कुरा गर्दा १ सय २० रुपैयाँ तिर्नु पर्ने एक जमाना थियो । तर, अहिले त्यो सेवा अहिले २/३ रुपैयाँमा झरेको छ । विभिन्न एपबाट कुरा गर्दा निःशुल्क नै छ । त्यतिखेर एक डलर बराबर २० रुपैयाँमा थियो । अहिले डलरको भाउ १२० रुपैयाँ पुगिसकेको छ । यो सबै प्रविधिले दिएको कुरा हो । नेपालमा दुरसञ्चार बाहेक नेपालमा कुनै पनि चिजको शुल्क घटेको छैन । दुरसञ्चारमा प्रयोग भएको कुनै पनि प्रविधि र चिज नेपालको छैन । सबै चिज विदेशबाट ल्याएका छौं । तर, पनि सस्तो गर्न हामी सफल भयौं ।
सरकारी ओहदामा बसेर काम गर्दा र निजी क्षेत्रमा रहेर काम गर्दा केमा बढी खुसी र सन्तुष्टि मिल्ने रहेछ ?
मैले काम आनन्दका साथ गर्छु । म जागिर गर्ने बेलामा नेपालमा दुरसञ्चार भन्ने थिएन । त्यो स्थापनको सिलसिलामा मैले धेरै काम गर्ने मौका पाएँ । प्रविधिको विकास गर्नको लागि हाम्रो धेरै योगदान छ । त्यसमा म धेरै सन्तुष्ट छु । म २०५८ सालमा रिटायर्ड पनि भएँ । मैले दुरसञ्चारको अधयक्षको लागि आवेदन पनि दिउको थिएँ । त्यसमा म छनोट भएनँ । त्यो नियामवली बनाउने एक सदस्य म पनि थिएँ । त्यसको अध्यक्ष हुनको लागि नेपाली दुरसञ्चार सेवामा १० वर्ष काम गरेको हुनु पर्ने स्पष्ट रुपमा व्यवस्था गरिएको छ । त्यस्तै, सोही सेवा सम्बन्धि शैक्षिक योग्यता भएको हुनु पर्ने व्यवस्था छ । तर, नियुक्ती गर्दा नियमको पालना भएन । सरकारले ती दुवै योग्यता नभएको व्यक्तिलाई त्यसमा राख्यो । त्यसको विरुद्धमा म सर्वोच्चमा गएँ । सर्वोच्चले पनि सरकारको निर्णय ठीक छ भन्यो । त्यसपछि आफ्नै काम गरु भनेर यतातिर लागेँ । अहिले पनि म त्यस्तै अनुभुति गरिरहेको छु । होङ्सी ल्याउन पनि धेरे भूमिका खेलेँ । नयाँ–नयाँ सिर्जनात्मक कामहरु मैले गरिरहेको हुन्छु ।
होङसीलाई नेपालमा ल्याउन तपाईंको ब्रेनले कस्तो भूमिको खेल्यो र स्वयम् होङ्सीको टीमले कतिको भूमिका खेल्यो ?
होङ्सीलाई हामी ल्याउने भन्दा पनि होङ्सी आफै हाम्रो खोजीमा आएको हो । होङ्सीले हामीलाई खोजिरहेको थियो । उसले नेपालको सबै ग्रुपसँग कुरा गरिसकेको थियो । अन्तिममा हामीसँग कुरा भयो । हामीले होङ्सीलाई पत्याउन २ वर्ष समय लाग्यो । हामीलाई होङ्सी कस्तो कम्पनी हो थाहा थिएन । हामीले त्यसको अध्ययन पनि गर्यांै । त्यसपछि विस्तारै विश्वासको वातावरण बनेपछि यो सम्भव भएको हो । हाम्रो प्रयास भने धेरै ठूलो छ । अहिले होङ्सीलाई आफ्नो उत्पादन कहाँ बेच्यौं भन्ने चिन छैन । अहिले दैनिक ६ हजार टन उत्पादन गर्ने उद्योग चलिरहेको छ । दोस्रो चरणमा दैनिक १२ हजार टन सिमेन्ट उत्पादन हुने फ्याक्ट्र लगाउँदैछ ।
फेरि होङ्सीकै कुरा गरौं, आफ्नो बजार विस्तार गर्नको लागि होङ्सीले के कस्ता रणनीतिहरु बनाइरहेको छ ?
जसले प्रविधिमा फड्को मार्न सक्छ त्यो नै सफल बन्छ । हामी प्रविधिको प्रयोगलाई बढाइहेका छौं । होङ्सीको प्लान्टमा टेक्नोलोजिकल एड्भान्समेन्ट छ । होङ्सीले ६ देखि ८ मेगावाट पावर आफै उत्पादन गर्न सक्छ । यस्तो व्यवस्था नेपालको कुनै पनि उद्योगमा छैन । जुन हावा हामी उद्योगबाट फालिरहेका हुन्छौं । त्यो हावालाई रिसाइकल गरेर विद्युत उत्पादन गर्न सक्छौं । यो कुरा होङ्सीको लागि ठूलो आयाम हो । हामी यस्ता विविध कुराहरुलाई अनुशरण गरिरहेका छौं । दोस्रो, व्यवस्थापन हो । हामीले बजारमा कसरी प्रस्तुत हुने ? मार्केट कसरी बनाउने भन्ने योजना बनाएका छौं र बनाइ पनि रहेका छौं । हाम्रो महत्वपूर्ण विषय हाम्रो प्रडक्ट स्टोर नै रहन्न । हाम्रो प्रडक्ट दुई तीन दिनमै बजारमा गइहाल्छ । होङ्सीले दुई तीन दिनमै प्रडक्ट बजारमा पठाइहाल्नु पर्छ । होङ्सीले नेपालका २९ वटा उद्योगलाई क्लिङ्कर बिक्री गर्छ । उनीहरु हामीमाथि निर्भर छन् । यसले उनीहरुलाई धेरै सहज भएको छ । ती उद्योगहरुले भारतबाट क्लिङ्कर ल्याउनु पर्दैन ।भन्सारमा ल्याउँदा भन्सारमा धेरै समस्या हुन्छ । ढुवानी खर्च त्यति नै हुन्छ । हामीले उनीहरुको अनावश्यक रुपमा हुने खर्च घटाई दिएका छौं ।
क्लिङ्कर उत्पादक उद्योगहरुले मूल्य बढाएर साना उद्योगीहरुलाई समस्यामा पारे भन्ने आरोप पनि सुनिन्छ नि ?
त्यस्तो होइन । क्लिङ्कर पाइने दुई स्रोत छन् । एउटा नेपाली उद्योग र अर्को भारत । भारतबाट ल्याउने क्लिङ्करको ढुवानी भाडा मात्रै नेपाली उद्योगबाट लिएको मूल्यभन्दा एक हजारले बढी हुन्छ । नेपाली क्लिङकर आएर उनीहरुलाई धेरै फाइदा भएको छ ।सिमेन्टको रुपमा प्रतिस्पर्धा भइरहेको छ । सिमेन्टको मूल्य बढ्नु पर्छ । उनीहरुले आफ्नो मूल्य पाउन सक्नु भएको छैन ।
धेरै बैंकहरुको ठूलो लगानी सिमेन्ट उद्योगहरुमा छ । तपाईं पनि सिमेन्ट उद्योगहरु संकटमा छन् भन्नुहुन्छ । बैंकहरु पनि सिमेन्टमा भएको लगानी जोखिममा पर्ने हो कि भनेर आशंका गरिरहेको पाइन्छ । के उद्योगहरु बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा गुज्रदै छन् ?
हो, सिमेन्ट उद्योगमा उद्योगी पनि ठूलो लगानी भएको छ । बैंकहरुले पनि अर्बौ रुपैयाँ यस क्षेत्रमा कर्जा लगानी गरेका छन् । तर सिमेन्ट उद्योगहरु कम्फरनेटल अवस्थामा छैनन् । मैले अघि नै भने कि हामीले होङ्सीमा प्रतिबोरा ५० रुपैयाँ मूल्य घटायौं भने ग्राडिङ सिमेन्ट उद्योगहरु कोल्याप्स हुन्छन् । अर्बौं रुपैयाँ नोक्सान हुन्छ । अहिले मूल्य घट्नुभन्दा पनि मूल्य बढाउनु पर्ने अवस्था छ ।
अब मूल्य घट्छ वा बढ्छ ?
मूल्य नबढाउनुको विकल्प नै छैन । घटाउने निर्णय गर्नु भनेको पुरै इण्ड्रष्टी कोल्याप्स गर्नु हो ।
कहिले काहिँ अनफियर बिजनसेले पनि इण्ड्रस्टी नै कोल्याप्स हुने स्थितिआएको उदाहरण पनि नेपालमै छन् । तपाइँलाई लाग्छ नेपाली सिमेन्ट उद्योगहरु यसरी अपरिपक्क ढंगले अगाडि बढिरहेका छन् ?
त्यस्तो होइन ।अहिलेका उद्योगीहरु योजनाबद्ध किसिमले अगाडि बढिरहेका छन् ।पहिले नेपालीहरुले ग्राण्डिङ उद्योग मात्र लगाएको थिए । त्यसपछि उद्योगीहरु क्लिङ्कर उत्पादनमा लागे । एउटा क्लिङकर उद्योगमा न्यूनतम १५ अर्ब रुपैयाँको लगानी छ । अहिले प्रतिस्पर्धा पनि बढेको छ । उनीहरु घाटामा जानु कसैको लागि पनि राम्रो होइन । उद्योगपतिलाई पैसा कमाउन दिनुपर्छ । उसले पैसा कमायो भने उसले अझ राम्रा लगानी गर्छ । यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा नागरिकलाई हुन्छ । तर, हाम्रोमा त्यस्तो कल्चर छैन । त्यसैले यसमा सरकारले अनावश्यक किचलो गर्नु हुँदैन ।
सरकारले मूल्यमा कहाँ किचलो गरेको छ र ?
१० रुपैयाँ मूल्य बढाउने बित्तिकै सरकारको चिठी आउँछ । यो त्यति सजिलो बिषय होइन । अहिले उदयपुरको ८ सय ३० र शिवमको ७ सय २० रुपैयाँ मात्रै मूल्य छ । यो फरक किन ?सरकरी निकायले १ सय रुपैयाँ महँगोमा बिक्री गर्न पाउँछ ?
नेपाली सिमेन्टमा होङ्सीको स्ट्रोङ्ग प्रतिस्पर्धी को हो ?
नेपाली सबै सिमेन्ट उद्योगहरु हाम्रा प्रतिस्पर्धी हुन् । क्लिङकर बनाउने १२/१३ उद्योगहरु नेपालमा भइसके । नेपालका क्लिङकर उद्योगहरु ३ हजार टन उत्पादन क्षमताका छन् । त्यो लेवलको ईफिसियन्सीहरु उनीहरुसँग छकि छैन ? कुरा त्यो हो । होङ्सीले कम लगातमा उत्पादन गर्न सक्छ । त्यो लागतमा उनीहरुले सक्छन् कि सक्दैनन् ? त्यसमा फरक छ ।
होङ्सी सिमेन्टले पब्लिकमा जाने बारे केही योजना बनाएको छ ?
शिवम् गइसकेको छ । तर, होङ्सीको अहिले कुनै योजना छैन । नेपालमा विदेशी लगानीकर्ता ल्याउन कति कठिनाई हुन्छ म एउटा किताब नै लेख्न सक्छु । म मिहेनत र भाग्यमा विश्वास गर्छु । अवसर आउँछ । त्यसको सदुपयोग गर्नु पर्छ । हुनत होंङसी अरु कम्पनी कहाँ पनि पुगेको थियो । तर, उनीहरुले स्वीकार गरेन, मैले गरेँ ।
विश्वका धेरै उद्योगहरु त्यहाँको जीडीपीमा १०/१५ प्रतिशत योगदान गर्छन । तर नेपालमा अहिलेसम्म एउटा पनि उद्योग छैन, जसले जीडीपीमा यतिप्रतिशत योगदान गरेको छु भनेर देखाउन सकोस् । नेपालको उद्योगीहरु किन कमजोर छन् ?
त्यस्तो किसिमको वातावरण सिर्जना सरकारले पनि गरिदिनु पर्छ । विदेश उद्योगीलाई त्यहाँको सरकारले गर्ने व्यवहार र नेपाली उद्योगीहरुलाई सरकारले गर्ने व्यवहार धेरै फरक छ । विदेशी उद्योगीहरु आफै सरकार हुन् । जब सरकारले नेपाली उद्योगीहरुले भनेको कुरा सुन्छ त्यो बेला हाम्रो महत्व पनि बढ्छ । यदि कुरा नै सुन्दैन भने त के नै हुन्छ र ? हाम्रा कुरा सरकारले सुन्दै सुन्दैन त के भन्ने ?
Copyright © 2024 Bikash Media Pvt. Ltd.