२०७८ वैशाख १० गते १७:१० विकासन्युज
काठमाडौं । एनआरएन डेभलपमेन्ट फण्डले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । गैरआवासीय नेपालीलाई लक्षित गरी फण्डले छिट्टै आईपीओ जारी गर्ने याेजना बनाएकाे गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले बताएका हुन् ।
संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरेको बताउँदै संघका अध्यक्ष पन्तले त्यसका लागि नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण सेयर जारी गरि संकलन गर्ने जानकारी गराए । साथै, उक्त आईपीओ सार्क मुलुक बाहेकका गैरआवसीय नेपालीले मात्रै खरिद गर्न पाउने उनकाे भनाई छ ।
१० अर्ब रूपैयाँ पुँजी भएको एनआरएन डेभलपमेन्ट फण्डको रकमको प्रतिफल बैंकमा पैसा राखी ब्याजबाट नभई पूर्वाधारमा लगानी गरेरै दिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको साप्ताहिक अर्थ संवादमा अध्यक्ष पन्तले बैंकबाट ब्याज खाएर नभइ पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको बताएका हुन् ।
पूर्वाधार तथा उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना भएको छ । एनआरएन नेपाल डेभलमेन्ट फण्ड मा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ ।
‘यो एनआरएनहरुको लगानी हो, अहिलेसम्म हामीसँग १ सय ७० वटा परियोजनाका प्रस्ताव आएको छ, अबको ५/७ सातामै परियोजना शुरु हुन्छ,’ उनले भने- ‘संकलित लगानीलाई बैंकमा राखेर ब्याज लिएर आम्दानी गर्ने हैन, पूर्वाधारमा सदुपयोग हुन्छ ।’
संघले पारम्भिक अवधिमा १० अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याएर लगानी गर्ने र १ वर्षभित्रै लगानीलाई १ खर्ब पुर्याउने लक्ष्य राखेको छ ।परियोजनामा १० लाख गैरआवासीय नेपालीको लगानी रहने बताइएको छ । १० लाख एनआरएनबाट संकलित १० अर्ब रुपैयाँ कृषि, पर्यटन र पुर्वाधार कै क्षेत्रमा लगानी गरिने छ ।
२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो ।
कोषमा केही वर्षमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्याउने संघको योजना छ ।
नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी सहित गैरआवासीय नेपाली प्रबर्द्धक रहेको कम्पनीमा साढे २ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानी प्राप्त भइसकेको छ । पन्तले भने- ‘संस्थापक एनआरएनहरुले २ अर्ब ५१ करोड रुपैयाँ नेपाल पठाइ सकेका छन् ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.