एनसीएचएलको ४० प्रतिशत लाभांश पारित, सञ्चालकमा तीन जना निर्वाचित

  २०७८ जेठ ५ गते १८:०४     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा जेठ ५ गते जुम प्ल्याटफर्म मार्फत सम्पन्न भएको हो ।

सभाले चुक्ता पुँजीको ३८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २ प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश पारित गरेको छ । २९ करोड ८ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी ४१ करोड १ लाख रुपैयाँ पुग्ने छ ।

कम्पनीले पुँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन पनि गर्ने योजना बनाएको छ ।

आ.व. २०७६÷७७ मा कम्पनीको भुक्तानी कारोबारहरुमा उल्लेख्य रुपमा वृद्धी भएता पनि कम्पनीको खुद नाफा २२.२ प्रतिशतले घटेको छ । त्यसै गरी कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम रहेको छ ।

कम्पनीको खुदनाफा घट्नुका कारणहरु भने कम्पनीले सञ्चालन गर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरुमा कारोबार शुल्क घटाइएको, २०७६ चैत ११ देखि २०७७ असार मसान्तसम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा रहेका छन् ।

सभाले कम्पनीको सञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्नु हुने तीन नयाँ सञ्चालकहरुको निर्विरोध चयन पनि गरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरुको कार्यकाल समाप्त भएसँगै उक्त पदमा हिमालयन बैंकका जेनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंकका वरिष्ठ उप-प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका आइ.टि. प्रमुख सृजन मल्ल निर्वाचित भएका छन् ।

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीन जना, विकास बैंकका तर्फबाट एक जना र फाईनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जना प्रतिनिधी रहेका छन् ।

कम्पनीले भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७६/७७ मा कुल ९७ खर्ब रुपैयाँ बराबरको २ करो ०६ लाख रुपैयाँ भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.