२०७८ जेठ ७ गते १८:२३ विकासन्युज
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी तथा राष्ट्रिय वाणिज्य बैंकबाट संयुक्त रुपमा स्थापना गरिएको नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सम्झौता भएको छ । कम्पनीले डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न सहकार्यताको लागि एनसीएचएलसँग सम्झौता गरेको हो ।
सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात् एनडीपीसीले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल-टाइम तथा नन-रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ भने एनडीपीसीले आफ्नो वित्तीय सेवाहरु डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा पनि विस्तार गरी बैंकिङ्ग पहुँच बढाउन थप पहल गर्ने छ ।
एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंकद्वारा स्थापित कम्पनी हो जसले गर्दा यसमा ग्रमीण क्षेत्रको पहुँच देखि लिएर वित्तिय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् । तसर्थ यस कम्पनीले देशका कुनाकाप्चासम्म पनि मोबाईलको माध्यमबाट वित्तिय पहुँच विस्तार गरी डिजिटल सोसाइटी बनाउने राष्ट्रिय अभियानलाई आत्मसाथ गर्ने छ । हाल प्रारम्भिक टेस्टिङ्गको चरणमा रहेको एनडिपिसिको मोबाईल वालेट सञ्चालनमा आए पश्चात् अन्लाईन र अफ्लाईन दुबै अवस्थामा तथा फिचर फोन प्रयोगकर्ताहरुले समेत उक्त मोबाईल वालेट प्रयोग गर्न मिल्ने छ । एनडिपिसिले हालै नेपाल राष्ट्र बैंकबाट “नमस्तेपे” सञ्चालन गर्न भुक्तानी प्रणाली सञ्चालकको अनुमति पनि प्राप्त गरिसकेको छ ।
दूरसञ्चार कंम्पनीले प्रवद्र्धन गरेको एक मात्र भुक्तानी सेवा प्रदायक, एनडिपिसि तथा बैंक वित्तिय संस्थाहरुले प्रवद्र्धन गरेको भुक्तानी प्रणाली सञ्चालक, एनसीएचएलबीचको यस सहकार्यले दूरसञ्चारको पूर्वाधार र ग्राहक तथा डिजिटल भुक्तानीको पूर्वाधार-बैंक वित्तिय संस्थाका ग्राहकहरुलाई जोड्ने अपेक्षा गरिएकोले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रूपमा लिइएको छ । यसले नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकको डिजिटल भुक्तानीको पहलहरुलाई थप टेवा पुर्याउने विश्वास गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.