सिवाईसी नेपालले शालिग्राम लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

  २०७८ जेठ १४ गते २०:२१     विकासन्युज

बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । जेठ १४ गते सम्पन्न संस्थाको पहिलो विशेष साधारणसभाले सञ्चालक समितिको बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो ।

विशेष साधारण सभाले सिवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिवाईसी नेपालको १०० कित्ता सेयरलाई शालिग्रामको ७५ कित्ता सेयर (१ः०.७५) दिने गरी सेयर मूल्य अनुपात(स्वाप रेसियो) कायम गरिएको छ ।

प्राप्ति गर्ने कार्य सम्पन्न भएपश्चात् हुने संस्थाको अधिकृत पूँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि आवश्यक सहमति र सम्झौता गर्ने लगायत गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा संस्थाको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी चण्डिप्रसाद शर्मा पौडेलले पछिल्लो समयमा लघुवित्त संस्थाहरुमा देखिएको सदस्यहरुको दोहोरोपना र संस्थाहरु विचको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न संस्थाहरु एक अर्कामा गाभिने वा प्राप्ती हुनै पर्ने धारण व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न उक्त सभामा अध्यक्षको आज्ञाले संचालक समितिको तर्फबाट प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन माथि सेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट प्रवन्ध सञ्चालक शर्माले स्पष्ट पारेका थिए ।

सभामा सेयरधनी महेन्द्रकुमार गिरी, कृष्णप्रसाद सापकोटा, प्रकाश रिजाल लगाएतले आफ्ना भनाईहरु राखेका थिए । सभाको सञ्चालन संस्थाका कम्पनी सचिव चन्द्रप्रसाद ढकालले गरेका थिए ।

यसैबीच, शालिग्राम लघुवित्तको शुक्रबार सम्पन्न विशेष साधारण सभाले समेत संस्थालाई सिवाईसी नेपाल लघुवित्तले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुबै संस्थाको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।

उक्त सभा बागलुङको प्रथम विशेष साधारण सभा शुक्रबार बागलुङ बजारमा भर्चुयोल (विद्युतीय) माध्यमबाट सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.