२०७८ जेठ १५ गते २०:२४ विकासन्युज
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरिसकेको छ । विभिन्न क्षेत्रलाई राहतका कार्यक्रम ल्याएको बजेटले पुँजीबजारको क्षेत्रलाई भने खासै केही समेटेको छैन ।
सरकारले आगामी आर्थिक वर्षभित्रै वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बताएका हुन् ।
साथै, सरकारले म्युचुअल फण्डको इकाई बिक्री गर्दा कर नलाग्ने पनि व्यवस्था गरेको छ । यसअघि म्युचुअल फण्डको इकाई बेच्दा म्युचुअल फण्ड सञ्चालन गर्नेको नाफामा कर लाग्ने वा नलाग्ने भन्ने विषयमा दुविधा रहेको थियो । त्यसलाई स्पष्टता बनाउँदै अर्थमन्त्री पौडेलले अब आगामी वर्षदेखि कर नलाग्ने बताएका हुन् ।
त्यस्तै, सरकारले नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को २२ प्रतिशत सेयर ग्राहकलाई उपलब्ध गराउने भएको छ । यससँगै अब ग्राहकले एनटीसीको सिमसँगै एनटीसीको सेयर पनि पाउने छन् ।
के भन्छन् बजारका लगानीकर्ताहरू ?
अम्बिकाप्रसाद पौडेल- समग्रमा राम्रो
बजेट समग्रमा ठीक छ । अन्य क्षेत्रमा राम्रै लाग्यो तर पुँजीबजारको क्षेत्रमा हामीले उठाउको विषय पाइएन । कमोडिटी मार्केट सञ्चालन गर्ने र म्युचुअल फण्डको कर हटाइएको छ । बाँकी सबै जस्ताको त्यस्तै छ । बजारमा आफ्नो गतिमा गएको हुनाले पनि होला बजेटले केही सम्बोधन गरेन । दीर्घकालिन र अल्पकालिन लगानीकर्तालाई वर्गीकरण गरिनुपर्थ्यो, त्यो गरिएन ।
यद्दपि, समग्रमा अहिलको सन्दर्भमा स्वास्थगत पूर्वाधारलाई महत्वपूर्ण स्थान दिएको हुनाले राम्रो छ ।
छोटेलाल रौनियार- केही नबोल्नु नै बजारको लागि सकारात्मक
पुँजीबजारको लागि खासै बजेटमा केही आएन । तर पनि राम्रो हो । यो अवस्थामा पुँजीबजारको सम्बन्धी केही नबोल्दा पनि बजारको लागि सकारात्मक रुपमै लिनुपर्छ । नकारात्मक केही आएन । यो नै बजारको लागि राम्रो हो ।
उत्तम अर्याल- समग्रमा बजारको लागि सकारात्मक
आगामी आर्थिक वर्षको बजेट वितरणमुखी बजेट छ, जसले समग्र वित्तीय क्षेत्रमा राम्रो हुन्छ ।
एनटीसीको २२ प्रतिशत सेयर पब्लिक अर्थात ग्राकहकलाई दिने भनिएको छ । अब यसको मूल्याङ्कन सरकारले कसरी गर्छ । पहिला कोरियन कम्पनीलाई दिने बेलामा सम्पत्तिको २५/२६ सयको मूल्याङ्कन गरिएको भन्ने थियो । अब यो बजारमा एफपीओ जसरी आउने भयो । करिब १५/१६ सयमा आउला की भन्ने अनुमान हो । यदी सरकार भइरह्यो भने असोजसम्ममा मूल्याङ्कन होला ।
म्युचुअल फण्डको कर छुट छ । यसले म्युचुअल फण्डहरुलाई फाइदा हुने भयो । रेमिट्यान्समा थप १ प्रतिशत कर छुट दिने भनिएको छ । समग्रमा बजारको लागि सकारात्मक नै छ ।
राधा पोखरेल- लगानीकर्ताको लागि बजेट हर्ष न विस्मात
बजेट राम्रै छ । तर पनि हामीले अपेक्षा गरेको अनुसारको केही पनि आएन । किनभने बजारलाई थप सुधार गरिने भनिएको छ । तर प्रत्यक्ष रुपमा लगानीकर्तालाई लाभ हुने खालको बजेट आएको छैन । समग्रमा भन्नु पर्दा लगानीकर्ताको लागि बजेट हर्ष न विस्मात ।
संरक्षणा चौधरी- हात्ती आयो हात्ती आयो फुस्सा
पुँजीबजारको लागि बजेटमा केही पनि छैन । यसपालिको बजेटमा त पुँजीबजारको विकास गरिने भन्ने पनि सुन्न पाइएन । विद्युतीय उत्पादनलाई जोड दिने भनिएकोले जलविद्युत क्षेत्रको लागि प्राथमिकता दिएको छ । यसले हाइड्रो क्षेत्रको लागि राम्रो छ ।
त्यस्तै, एनटीसीको सेयर पब्लिकलाई दिने भनिएकोले यसले सेयर सप्लाई थप बढ्ने भएको छ । अन्य बजेट सबै कोभिड केन्द्रित नै आएको छ । नयाँ लगानीकर्तालाई प्रोत्साहान गर्ने बजेट आउनुपर्ने हो, तर हामी बजारका लगानीकर्ताको लागि भने ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझै भएको छ ।
प्रकाश तिवारी- वितरणमूखी बजेट
बजेट भयङ्कर वितरणमूखी बजेट आयो । तर, पुँजीबजारको लागि भने केही पनि देखिन । बजेटबाट हामीले केही आश पनि गरेका थिएनौं र आएन पनि । अबको नीति तथा कार्यक्रमले बजारलाई विकास गर्ने लगायत दीर्घकालिन बनाउनको लागि केही आउछ की भन्ने आशा छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.