२०७८ जेठ १६ गते १५:०८ विकासन्युज
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुँजीगत लाभकरबाट मात्रै ३२ अर्ब रुपैयाँ बढी कर उठाउने लक्ष्य राखेकाे छ । सरकारले आर्थिक वर्ष २०७८/७९ मा वर्तमान स्रोत र कर परिवर्तन तथा प्रशासनिक सुधारबाट गरी कूल ३२ अर्ब २ करोड ६ लाख रुपैयाँ कर उठाउने लक्ष्य लिएको हो ।
जुन गत वर्षको तुलनामा २४५ प्रतिशतभन्दा बढी हो । सरकारले गत वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ बाट कूल ९ अर्ब २७ करोड ०८ लाख रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो ।
त्यस्तै, चालु आवको संशोधित अनुमानित पुँजीगत लाभकरको तुलनामा आगामी वर्षको पुँजीगत लाभाकरको लक्ष्य ५.०६ प्रतिशतले बढी हो । सरकारले चालु आवमा ३० अर्ब ४७ करोड ८० लाख रुपैयाँ बराबरको पुँजीगत लाभाकर उठाउने संशोधित अनुमान गरेको छ ।
आगामी आवमा सरकारले वर्तमान श्रोतबाट ३१ अर्ब ३८ करोड २ लाख र कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ६४ करोड ४ लाख रुपैयाँ पुँजीगत लाभ कर उठाउने लक्ष्य लिएको छ ।
त्यस्तै, सरकारले आगामी वर्षदेखि लागू हुनेगरी दोश्रो बजारका अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई छुट्टाछुट्टै करको व्यवस्था गरिदिएको छ । बजेट मार्फत सरकारले अल्पकालिन लगानीकर्तालाई ७.५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ५ प्रतिशत(हालको बामोजिम) कर लागू गर्ने नयाँ व्यवस्था गरेको हो ।
यसअघि अल्पकालिन र दीर्घकालिन दुबै लगानीकर्तालाई बराबर अर्थात ५ प्रतिशत नै पुँजीगत लाभकर गरिँदै आएको थियो ।
नयाँ व्यवस्था अनुसार अब सेयर किनेको एक वर्षअघि नै बिक्री गर्ने लगानीकर्ताले ७.५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । र, सो अवधिभन्दा पछि सेयर बिक्री गर्ने लगानीकर्ताले पुँजीगत लाभकर बमोजिम ५ प्रतिशत कर सरकारलाई बुझाउनुपर्ने भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
बैंकलाई ब्रोकर लाईसेन्स दिएर लगानीकर्ता लाई सर्वसुलभ सेवा दिएमा सम्भव देखिन्छ / तर अहिलेको ब्रोकर सेवा कायम रहेमा आधा tax पनि उठ्ने सम्भावना कम छ / लक्ष्य प्राप्तिको लागि अर्थ मन्त्रीज्युको बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरामा ध्यान जाओस /