२०७८ असार १ गते १२:०८ विकासन्युज
काठमाडौं । गत वर्षको असारमा धान रोप्ने समयमा रासायनिक मल नपाएका किसानले यस वर्ष मल पाउने भएका छन् । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मल मौज्दात रहेको भन्दै अभाव नहुने जनाएको हो ।
कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीका अनुसार असारका लागि आवश्यक पर्ने यूरिया, डिएपी र पोटास मल पर्याप्त मात्रामा कम्पनीको भण्डारमा रहेको छ । पर्याप्त मात्रामा रासायनिक मल भण्डारणमा भएपनि ढुवानीमा समस्या भएको छ ।
गत वैशाखदेखि देशका अधिकाशं जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै लागू गरिएको निषेधाज्ञाका कारण मलको ढुवानी हुन सकेको छैन । पर्याप्त मल भण्डारण भएपनि ढुवानी रोकिदा अभाव हुनसक्ने देखिएको उनी बताउँछन् ।
‘गत वर्ष धान रोप्ने समयमा मलको अभाव भयो, हामीले यस वर्ष अभाव नहुने गरी समयमा नै मल खरिदका लागि टेन्हर आह्वान गर्यौँ, मल पनि आइसकेको छ तर, ढुवानीमा समस्या देखियो, सरकारले मल ढुवानीलाई अतिआवश्यक वस्तुमा नराख्दा ढुवानी रोकियो, आजको भोलि नै मल ल्याउन सकिदैँन, खरिदको तयारी गरेको ७/८ महिनापछि मल आउँछ, आएको मल पनि ढुवानी गर्न सकिएन,’ उनले भने ।
कृषि सामग्री कम्पनीसँग हाल १७ हजार टन युरिया मौज्दात रहेको छ भने थप ५० हजार टन असारसम्म आइपुग्ने अनुमान गरिएको छ । थप ५० हजार टन युरिया मल भदौमा आइपुग्ने कम्पनीले जनाएको छ ।
धान रोपाइँ गर्ने समय अर्थात जेठ असार महिनामा ७० हजार टनभन्दा बढी मलको माग हुने गरेको छ । कम्पनीको तथ्यांक अनुसार जेठ असार र साउनमा गरी धान रोप्ने समयमा करिब एक लाख टन मलको माग हुने गरेको छ ।
कति छ मौज्दात ?
कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीका अनुसार कम्पनीको भण्डारमा हाल तीन प्रकारका रासायनिक मलहरु रहेका छन् । जसमा बिहीबारसम्मको तथ्यांक अनुसार १७ हजार १ सय ३५ मेट्रिक टन युरिया, ३३ हजार ५ सय ५७ मेट्रिक टन डिएपी र ३ हजार ५ सय ९० मेट्रिकटन पोटास मौज्दात रहेकोे छ ।
उनका अनुसार बोलपत्र मार्फत खरिद गरिएको ५० हजार मेट्रिक टन युरिया आयातको क्रममा रहेको छ । यस्तै, बंगलादेखबाट खरिद गरिएको ५० हजार टनमध्ये १९ हजार ५ सय टन हाराहारीको मल असार १५ गतेभित्र आइसक्ने अनुमान गरिएको छ ।
कम्पनीले ग्लोबल टेन्डरमार्फत चीनबाट ल्याउन लागेको ३० हजार टन युरिया मल बीचबाटोमा आइपुगेको छ । उक्त रासायनिक मल असार महिनाभित्र कम्पनीको गोदाममा आइपुग्ने अनुमान गरिएको भण्डारी बताउँछन् ।
कृषि सामग्री कम्पनीसँग पर्र्याप्त मात्रामा रासायनिक मल मौज्दात रहे पनि साल्ट ट्रेडिङ कर्पाेरेशनसँग भने मल सकिएको छ । यस वर्षका लागि कोटा पाएको मल आयात गरी बिक्री वितरण गरिएको भन्दै कम्पनीले मल नभएको जनाएको हो ।
गत वर्षका लागि कोटा पाएको मध्ये ५० हजार मेट्रिक टन मल आयातको प्रक्रिया सुरु भएको जनाईएको छ ।
नेपालमा रोपाइँ हुने क्षेत्रफलका आधारमा करिब साढे ७ लाखदेखि ८ लाख टन आवश्यक पर्छ । जसमध्ये साढे पाँच लाख टन आयात गर्न सके किसानले अभाव झेल्नु पर्दैन ।
सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि मल खरिद गर्न ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट करिब पाँच लाख टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डीएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने जनाएको छ ।
कम्पनीले यस वर्ष यूरिया मल खरिदका लागि ११ वटा टेन्डर आह्वान गरेको थियो, जसमा ६ कम्पनिले तोकिएको समयमा मल नल्याएपछि कारवाहीमा परेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.