२०७८ असार २ गते १७:५० विकासन्युज
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाका ग्राहकले ब्याज रकममा १० प्रतिशत र हर्जानामा शतप्रतिशत छुट पाउने भएका छन् । संस्थाले हालको अवस्थालाई मध्यनजर गर्दै उक्त छुट दिने व्यवस्था मिलाएको हो ।
बिश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को दोस्रो लहरको संक्रमण फैलिए संगै देशभरी निशेधाज्ञा तथा बन्दाबन्दीको अवस्था सृजना भई व्यापार व्यवसाय पूर्णरुपमा ठप्प हुन गई आम्दानीमा समेत प्रत्यक्षरुपमा असर परेको छ । यो अवस्थासँगै संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले ग्राहकलाई विभिन्न तीन विधामा छुट सुविधा दिने जानकारी गराएका छन् ।
महामारीको कारण कर्जाको किस्ता नियमित भुक्तानी गर्न नसकेको खण्डमा सो वापत वित्तीय संस्थाको नियमानुसार लाग्ने हर्जाना रकम मिति २०७८ जेठ १ गतेदेखि बन्दाबन्दी पूर्णरुपमा अन्त्य भएको १ महिना अवधिसम्मको लागि नलिने व्यवस्था मिलाएको संस्थाले जानकारी गराएको छ ।
महामारीको कारण वा अन्य कारणले समेत यस अघि देखि नै वित्तीय संस्थालाई बुझाउनु पर्ने कर्जा रकम भुक्तान नगरेका ग्राहक सदस्यहरुको हकमा २०७८ असार १ देखि असार ३१ गते भित्र हालसम्म रोकिएको सम्पूर्ण साँवा तथा ब्याज भुक्तान गरेको खण्डमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत तथा हर्जानामा शतप्रतिशतका दरले छुट प्रदान गर्ने व्यवस्था मिलाईएको छ ।
महामारीको कारण ग्राहक सदस्यलाई पर्न गएको क्षतिलाई न्यूनिकरण गर्न हाल प्रदान गर्दै आएको ग्राहक संरक्षण कोष अन्तर्गतको सुविधामा केही शिर्षक थप गरी ग्राहकलाई सुविधा प्रदान गर्ने निर्णय समेत भएको हँदा सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी समयमा नै लाभ लिनुहुन संस्थाले अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ६४ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ३ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व २२ करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.