२०७८ असार ४ गते १४:०७ विकासन्युज
काठमाडौं । पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाए आन्दोलन गर्ने बताएका छन् ।
पम्प व्यवसायी र मजदुरलाई तत्काल खोपको व्यवस्था नर्भए आन्दोलन गर्ने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको छ । संघले एक विज्ञप्ती जारी गर्दै खोप लगाउन केन्द्रमा जादा खोप लगाउन नपाएको जनाईएको छ ।
खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
खोप लगाउन नपाईएको भन्दै संघले भोली अर्थात शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी विज्ञप्तिमा छ ।
कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूको भनाइ छ ।
गत बुधबारदेखि उनीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो ।
नेपाल आयल निगमले प्रत्येक पेट्रोल पम्पमा तीन जनालाई खोप लगाउने गरी व्यवस्थापन मिलाउने भने पनि कार्यान्वयन हुन नसकेको व्यवसायीहरूले बताएका छन् ।
खोपको व्यवस्था नभएको भन्दै ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी नै बन्द गरेका थिए । अतिआवश्यक सेवा अन्तरगत राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि आयल निगमले ट्यांकर चालकलाई खोपको व्यवस्था गरेको थियो ।
ट्यांकर चालकलाई खोप दिएपनि पम्पका मजदुर तथा व्यवसायीलाई खोपको व्यवस्था नभएको भन्दै पम्प व्यवसायीहरु आन्दोलित बनेका हुन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.