२०७८ असार ७ गते १५:५० विकासन्युज
बाग्लुङ । जिल्लाको ताराखोला गाउँपालिकाले उच्च शिक्षा अध्यापनका लागि विद्यार्थीलाई आर्थिक सहयोग गर्न थालेको छ । गत आवदेखि गाउँपालिकामा जन्मेर विभिन्न क्याम्पसमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीका लागि छात्रवृत्ति दिन थालिएको छ ।
गाउँपालिकाले गत वर्ष रु चार लाख आठ गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति स्वरुप प्रदान गरिसकिएको छ ।
चालू आवमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिसकेको गाउँपालिकाले जनाएको छ । गाउँमा डाक्टर, इञ्जिनियर जस्ता प्राविधिक धारमा अध्ययन गर्न अभिप्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।
गाउँपालिकाले विशेष गरि डाक्टर तथा इञ्जिनीयर अध्ययन गर्नेका लागि उक्त शैक्षिक अनुदान कार्यक्रम केन्द्रित गरेको छ ।
गाउँपालिकाले निर्माण गरेको कार्यविधिअनुसार पाँच प्राविधिक र तीन साधारण अध्ययन गर्नेलाई छात्रवृत्ति दिइने गरेको गाउँपालिकाका शिक्षा अधिकृत सविताकुमारी केसी पौडेलले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले खुलाएको निवेदनमा १२ जनाको आवेदन परेकामा गरिब, जेहेन्दार तथा योग्यताका आधारमा आठ विद्यार्थी छनोट गरेको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.