२०७८ असार ११ गते १५:२९ विकासन्युज
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा पहिलो दिनमै पौने ५ लाख लगानीकर्ताले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पहिलो दिन साढे ४ घण्टाको अवधिमै ४ लाख ७३ हजार ५२१ जनाले आवेदन दिएका हुन् ।
आज(असार ११ गते) बिहान १० बजेदेखि बिक्री खुला भएको उक्त आईपीओमा दिउँसो साढे २ बजेसम्ममा ७३ लाख ८१ हजार ६० कित्ता सेयरको लागि आवेदन परिसकेको क्यापिटलले जानकारी गराएको छ । जुन संस्थाले सर्वसाधारमा माग गरेकाेभन्दा ४ गुणा बढी आवेदन हाे । संस्थाले सर्वसाधारणमामात्रै १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेकाे छ ।
लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।
यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ ।
थप सामाग्री
Copyright © 2024 Bikash Media Pvt. Ltd.