२०७८ असार ११ गते १९:१३ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न संस्थालाई १३ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशनको लागि स्वीकृति दिएको छ । बोर्डले असार १० गते मात्रै तीन वटा कम्पनीलाई विभिन्न किसिमको धितोपत्र जारी गर्न स्वीकृति दिएको हो ।
स्वीकृति पाउनेमा तेह्रथुम पावर कम्पनी, कृषि विकास बैंक र आरबीबी मर्चेन्ट बैंकिङ्ग रहेका छन् । जसमध्ये तेह्रथुम पावर कम्पनीले आईपीओ, कृषि विकास बैंकले ऋणपत्र र आरबीबी मर्चेन्ट बैंकिङ्गले म्युचुअल फण्ड जारी गर्ने छन् ।
बोर्डको स्वीकृति पाएको तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वाधारणलाई गरी एक सय अंकित दरको १२ लाख कित्ता सेयर जारी गर्ने छ । कम्पनीले अबको केही दिनमै सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत सो मात्राको सेयर जारी गर्ने छ ।
त्यस्तै, आरबीबी मर्चेन्ट बैंकिङ्गले पनि ‘४ प्रतिशत एग्रीकल्चर बण्ड ८ एण्ड ९ यर्स’ नामक ऋणपत्र निष्काशन गर्न बोर्डको स्वीकृति पाएको छ । संस्थाले एक हजार रुपैयाँ दरका १ करोड २० लाख थानको १२ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्र्ने छ । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको सहयक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ्गले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन गर्न बोर्डको अनुमति पाएको हो । संस्थाले ‘आरबिबि म्यूचुअल फण्ड १’ जारी गर्न अनुमति पाएको छ । जुन बन्दमुखी प्रकृतिको योजना हो । यस फण्डको समयावधि सात वर्षको रहनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.