२०७८ असार १७ गते १०:४१ विकासन्युज
काठमाडौं । आजदेखि सातामा २१ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि नियमित अन्तर्राष्ट्रिय उडानको तालिका स्वीकृत गर्दै उक्त संख्या तोकेको हो ।
सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान सुरु गरिसकेको छ । उक्त गन्तव्यमा विभिन्न वायुसेवा कम्पनीले निश्चीत उडान गर्नेगरी कोटा तोकिएको हो ।
सरकारले ११ गन्तव्यका लागि अन्तर्राष्ट्रिय उडान खुला गरेतापनि हालसम्म कोरिया र चीनमा उडान हुन सकेको छैन । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । कोरिया, टर्की, कुवेत र ओमान नेपाली वायुसेवा कम्पनी नजाने गन्तब्य हुन् ।
नेपाल सरकारले टर्कीमा उडान खुला गरेतापनि टर्की सरकारले नेपाल उडानलाई कालोसूचीमा राखेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा उडान गर्नेछ ।
यस्तै, नेपाली तथा चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.