आइपुग्यो बङ्गलादेशबाट ४५ हजार मेट्रिकटन युरिया मल

  २०७८ असार १७ गते १३:४२     विकासन्युज

वीरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ ।

सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो ।

जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको पाँच हजार मेट्रिक टन युरिया मल आउने क्रममा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रवन्धक गोरखनाथ केसीले जानकारी दिए ।

उनका अनुसार बङ्गलादेशबाट उपलब्ध हुने ५० हजार मेट्रिकटन बाहेक थप दुई हजार मेट्रिकटन युरिया मल नेपाल आउने भएका छन् । यसवर्ष धान रोप्ने समयमा मलको अभाव नहुने उनको भनाइ छ ।

सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नु पर्नेमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाई भएको हो ।

सम्झौता अनुसारको बाँकी पाँच र थप दुई गरी कूल सात हजार मेट्रिकटन मल एक हप्ताभित्रै लिमिटेडको प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुग्ने बताइएको छ । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन ९जिटुजी०मार्फत खरीद गरेर बङ्गलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो ।

अघिल्लो वर्षसम्म मलको अभाव खेपीरहेका किसान यो वर्ष समयमै मल पाउँदा खुशी भएका छन् । केही दिन यता मनसुन सक्रिय भई पानी परेकाले पर्सामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

समयमै धान रोपाइँ सम्पन्न हुँदा यो वर्ष जिल्लामा २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साका अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए । उनका अनुसार पर्सामा कूल ४६ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल एक हजार ७ सय मेट्रिकटन, डिएपी ७६० मेट्रिकटन र पोटास ८२० मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ । मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ ।

पर्सा जिल्लास्थित १ सय ३१ थोक विक्रेतामार्फत् सो मल किसानसम्म पुग्ने गरिन्छ । सो कार्यालयले थोक विक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ । विक्रेताहरुले स्थानीय तहले तोकेको मूल्यमा किसानहरुलाई मल बिक्री गर्ने गरेको छ ।

कतिपय विक्रेताले किसानसंग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारवाही गर्नुपर्ने मांग किसानको छ । पर्सामा ९० प्रतिशत किसान व्यवसायिक रुपमा धान खेती गर्दै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.