२०७८ असार १७ गते १४:२५ विकासन्युज
काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा आज बसेको विपद् सम्बन्धी बैठकमा गृहमन्त्री पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिएका हुन ।
उनले विपदका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिए। राहत र उद्धारका लागि स्रोतको अभाव नहुने जानकारी दिँदै विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गरे ।
राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनु पर्नेमा जोड दिँदै उनले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण सिर्जना गर्न पनि अनुराेध गरे ।
गृहमन्त्री पौडेलले क्षति न्यूनीकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको जानकारी दिँदै अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनर्स्थापना र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्न निर्देशन दिएका थिए ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानले कोषमा पाँच अर्ब भन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताए । उनले क्षति, उद्धार र राहतमा भएका कार्यहरु, अवरुद्ध सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नु पर्ने कार्यहरु लगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने जानकारी दिए ।
बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पुर्याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरु अघि बढाउने तयारी बताएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.