२०७८ असार १७ गते १४:४४ विकासन्युज
काठमाडौं । गत बैशाख २० गतेदेखि बन्द रहेको आन्तरिक उडान करिब दुई महिनापछि सुरु भएको छ । बिहीबारदेखि सुरु भएको आन्तरिक उडानमा यात्रुको उत्साहजनक सहभागिता देखिएको छ ।
निषेधाज्ञा अघिल्लो उडान हुने संख्याको आधारमा अहिलेलाई ५० प्रतिशतमा झारिएको छ । बुध्द एयरले यसको आधारमा ३१ उडान पाएका छन् ।
३१ उडानबाट बुद्धले झण्डै ३८०० यात्रुले उडान भर्न सक्ने जनाएकोे छ । बुध्द एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीका अनुसार आज पहिलो दिन ३५०० बुकिङ भएको रहेछ ।
‘यो हाम्रो लागि निकै उत्साहजनक संख्या हो । पहिलो बन्दाबन्दी पछि भएको उडानमा यत्तिको सहभागिता थिएनन्’, उनले भने ।
नागरिक उड्डयन प्राधिकरणको उडान तालिका अनुसार हरेक घण्टामा ७ उडान मात्रै हुनेहुँदा विमानस्थलमा भिडभाड देखिएको छैन ।
कोभिडविरुद्धको निर्देशिका अनुसार उडान सेवा सञ्चालन भइरहेको छ । हरेक यात्रुको तापक्रम मापन, ह्याण्ड सेनिटाइजरको व्यवस्था, विमानभित्र मास्क र फेशशिल्डको अनिवार्य प्रयोग सुरक्षाका प्रमुख उपायहरु अपनाइएका छन् ।
बढीपहिराले बाटोघाटो असहज भएका गन्तव्यमा बुध्द एयरले उडान थप गरेको छ । बुध्द एयरसँग १५ वटा जहाजमध्ये १० एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाजहरु रहेका छन् ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६७ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ ।
कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो । वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो ।
जसमध्येमा बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई १०, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीनरतीन उडान स्वीकृति दिइएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.