२०७८ असार १८ गते १७:२५ विकासन्युज
काठमाडौं । नेकपा(एमाले)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने एमाले सांसदहरुलाई सोमबारसम्ममा हस्ताक्षर फिर्ता लिन आव्हान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरुलाई सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन आग्रह गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।
उनले बहुदलीय प्रणालीमा दलको निर्णय विपरित दलका सदस्यले गरेको हस्ताक्षर अनधिकृत हुने पनि सम्वद्ध पक्षहरुलाई जानकारी गराउने निर्णय गरेको पनि बताए ।
उनले भने ‘आजको बैठकले आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहनुभएको वर्तमान सरकारलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भनेर हस्ताक्षरसहित राष्ट्रपति समक्ष पुग्नु र त्यसमध्ये केही साथीहरु मुद्दाको पक्ष बनेर सर्वोच्च अदालतसम्म जानु मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, पार्टी विधान, राष्ट्र र जनताको चाहाना, हित केही सँगपनि मेल खाने विषय होइन, त्यो हस्ताक्षरलाई आउने सोमबार साँझ ५ बजेसम्म फिर्ता लिएर आन्दोलनको एकतामा योगदान गर्नका निम्ति हामीले आव्हान गरेका छौँ, र त्यस्तो अनधिकृत हस्ताक्षर बहुदलीय प्रणालीमा दलको निर्णय विपरित दलका सदस्यले गरेका हस्ताक्षरको कुनै मान्यता हुन नसक्ने, अर्थ, वैधता हुन नसक्ने पन िसम्वद्ध सबैमा जानकारी गराउने निर्णय गरेका छौँ ।’
बैठकले पार्टी एकतालाई सुदृढ पार्नका लागि नेता कार्यकतालाई आव्हान गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए । कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान दिन नेता, कार्यकर्तामा आव्हान गरिएको छ ।
‘यो पार्टीको एकतामा यो मुलुकको लोकतन्त्र, कम्युनिष्ट आन्दोलन र राष्ट्रको भविष्य पनि धेरै हदसम्म जोडिएको हुनाले यो पार्टीको एकतालाई सुदृढ गर्न हामीले पुनः एकचोटी सबै नेता, कार्यकर्ताहरुलाई आव्हान गरेका छौं, अहिले पार्टीभित्र देखा परेका केही समस्याहरुका कारणले देशभर जनतामा निराशा छ र विपक्षीहरुमा उत्साह छ, सबै नेता, कार्यकर्ताहरुलाई हाम्रो पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभारालाई जनचाहाना, कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान गर्न आव्हान गरेका छौँ,’ प्रवक्ता ज्ञवालीले भने ।
एमाले केन्द्रीय कमिटी बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.