आंशिक सञ्चालनमा आयो डुम्रे–बन्दीपुर सडक

  २०७८ असार २० गते ११:५१     विकासन्युज

फाइल फाेटाे

दमाैली । पहिराले अवरुद्ध डुम्रे–बन्दीपुर सडकखण्ड चारदिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा सो सडक मरमत गरिएपछि शनिबारदेखि आंशिकरूपमा सञ्चालनमा आएको हो ।

पृथ्वीराजमार्गको डुम्रेबाट सात किमिको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो ।

आंशिकरूपमा सडकखण्ड सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए । ‘चार दिनदेखि सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भइरहेको थियो, आंशिकरूपमा भए पनि सञ्चालनमा आएपछि केही सहज भएको छ’, उनले भने ।

पहिराले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छ । गाउँपालिकाले बन्दीपुर गाउँपालिका–२ ढाडखोलाको पहिरो पनि हटाउन शुरु गरेको छ । पहिरोले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पु¥याएको छ । ठाउँठाउँमा सडक भासिएको छ । पहिरोले गाउँपालिकाभित्रका सडक, विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानीमा क्षति पुगेको छ ।

गाउँपालिकाले बाढीपहिरा पीडित भएकालाई राहत वितरण शुरु गरेको छ । बन्दीपुर–२ का ७९ पहिरो पीडितलाई शनिबार त्रिपाल र चामल वितरण गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार अधिकांश घर बस्न नमिल्ने गरी जोखिममा परेको छ । ‘कोही चर्चमा, कोही बाल विकास केन्द्र, कोही विद्यालय र सामुदायिक भवनमा आश्रय लिन बाध्य छन्’, उनले भने ।

बाढीपहिराले गाउँपालिकाभित्रका करिब १७२ घर जोखिममा परेको छ । बन्दीपुर–१, २, ३ र ४ मा बाढीपहिरोबाट बढी क्षति पुगेको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.