२०७८ असार २१ गते १०:१२ विकासन्युज
काठमाडाैं । नेकपा एमालेले माधवकुमार नेपालसहित पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज सकिँदैछ ।
गत शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले नेपाल पक्षका सांसदको हस्ताक्षर फिर्ताको लागि आज बेलुकी ५ बजेसम्मको अल्टिमेटम दिइएको थियो । उक्त समयसिमा आज साँझ ५ बजे सकिदैछ ।
प्रतिनिधि सभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गर्दै १४६ सांसदले अदालतमा दर्ता गराएको रिट निवेदनमा नेपाल पक्षका पनि २३ सांसदले हस्ताक्षर गरेका थिए ।
ओलीले आजसम्मको समय दिएपनि माधव नेपाल समूहका नेताहरुले हस्ताक्षर फिर्ता नगर्ने प्रतिक्रिया दिइसकेको छ । नेपाल पक्षले हस्ताक्षर फिर्ताको कुरा बाहेक अन्य कुरामा सहमति गरेर पार्टी एकताको प्रक्रिया अघि बढाउन सकिने तर्क राखेको छ भने अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभए एमाले एकताको च्याप्टर बन्द हुने बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.