२०७८ असार २२ गते १७:२३ विकासन्युज
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) ले नेपाललाई पनि नराम्रोसँग प्रभावित बनाएको छ । कोरोना महामारीको दोस्रो लहरमा विश्वमभरनै एक प्रकारको रणभुल्लता देखिएको छ । विश्वकै उत्कृष्ट स्वास्थ्य पूर्वाधार भएका देशहरुलाई समेत महामारी नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको छ ।
नेपालमा लुम्बिनी प्रदेश अन्तर्गत रुकुम जिल्लाको सिस्ने गाउँपालिका पनि निक्कै प्रभावित पालिकाहरु मध्ये एक हो । यसैक्रममा कोरोना भाइरस संक्रमणपछि गाउँपालिकाले कसरी उपचार सेवा सञ्चालन गर्यो, त्यसैगरी स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा विकास निर्माणको काम र सेवा कसरी प्रवाह गरेका छन् भन्ने लगायतका विषयमा केन्द्रित भएर सो गाउँपालिकाकी अध्यक्ष कुमारी गौतमसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ ऊक्त कुराकानीको सम्पादित अंश :
अहिले कोरोनाका कारण विश्व नै आक्रान्त छ, कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाले के गरिरहेको छ ?
अन्य ठाउँमा जस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । यस महामारीलाई नियन्त्रण गर्नको लागि हामीले पालिकाको तर्फबाट सम्पूर्ण प्रयासहरू जारी राखेका छौं । गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रण कार्यलाई निरन्तरता दिँदै नागरिक सचेतना गराउँदै, अहिले पनि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छौं । यस महामारीलाई नियन्त्रण गर्नको लागि आर्थिक खर्चिएर पनि काम गर्नुपर्ने अवस्था भयो भने गत वर्ष नै भवन निर्माण गरी २४ बेडको आइसोलेसन कक्षको व्यवस्थापन गरेका छौं । त्यो आइसोलेसनलाई यो वर्ष पनि पुन प्रयोग गरी आवश्यक स्वास्थ्य जनशक्तिको पनि व्यवस्थापन गरेका छौं ।
कोरोनाको लक्षण देखिएका बिरामीहरूको एन्टिजेन र पीसीआर परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । परीक्षण गर्दा कोरोना पुष्टि भएका र स्वास्थ्य अवस्था सामान्य भएका बिरामीलाई होम आइसोलेसनमै सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । पछिल्लो समयमा गाउँपालिका भित्र कोरोनाको संक्रमण घट्दै गएको भन्ने आभाष छ तर पनि परीक्षणको दायरालाई चाहिँ निरन्तरता दिइरहेका छौं । सुरुका चरणमा सबै तिर स्वास्थ्य सामाग्री अभाव भइरहेको समयमा हाम्रो पालिकामा पनि स्वास्थ्य सामाग्रीको अभाव भयो भने हाल हामीले आवश्यक स्वास्थ्य सामाग्रीको पनि व्यवस्थापन गरेका छौं ।
पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्स पनि व्यवस्था गरेका छौं । गाउँपालिकाले स्वास्थ्य सतर्कतालाई अहिले पनि उच्च प्राथमिकता दिएर कार्यान्वयन गराएको छ । कोभिड परीक्षण गर्दा चाहिँ संक्रमितहरु देखापर्ने क्रम जारी नै छ । यस महामारीलाई न्यूनीकरण गर्न सबै लागिपरेका छौं । जथाभावी नहिँड्न भिडभाड नगर्न मास्क प्रयोग गर्ने सामाजिक दुरी कायम गर्ने जस्ता सन्देशहरू विभिन्न माध्यमबाट दिइरहेका छौं ।
तपाईंको पालिकामा आजसम्म कतीजना कोरोना संक्रमित छन् ?
कोरोनासँग लक्षण देखिएका धेरै जस्तो बिरामीहरूले जिल्ला अस्पतालमा परीक्षण गरेका छन् भने पालिकाको स्वास्थ्यचौकीमा परीक्षण गर्नेको संख्या चाहिँ न्यूनरहेको छ । जिल्ला अस्पताल र गाउँपालिका भित्र परीक्षण गर्दा हालसम्म ३ सय भन्दा बढिमा संक्रमणको पुष्टि भएको छ । पालिकामा उपचार हुन नसकेर अन्य अस्पतालमा रेफर गरी उपचारको क्रममा ५ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएका छौं ।
कोरोना नियन्त्रणमा गाउँपालिकालाई के–कस्ता समस्या छन् ? अबका चुनौती के छन् ?
चुनौती र समस्या त धेरै छन् । यस महामारीलाई न्यूनीकरण र व्यवस्थापन गर्नको लागि आर्थिकको आवश्यकता छ । गाउँपालिकाले कोभिड व्यवस्थापन कोष भनेर आगामी योजनामा राखेको छ । हामीले सुरुमा विपत् व्यवस्थापन कोष भनेर राखेका थियौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री जुटाउनको लागि हामीले कोभिड व्यवस्थापन कोषको स्थापना गरेको हो । हामीसँग प्रर्याप्त मात्रामा अक्सिजन छैन, जनशक्तिको अभाव छ भने आइसोलेसन बेडको प्रर्याप्त व्यवस्था छैन । बजेटको अभाव मुख्य हो ।
तेस्रो लहरको संक्रमण आउन सक्ने तर्फ सचेत हुँदै यसले बालबालिकालाई प्रभाव पार्न सक्ने भएकाले यस प्रति मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री जुटाउने योजना बनाएका छौं । कोरोना भाइरस महामारीको तेस्रो लहरले बढी बालबालिकाहरूलाई असर गर्ने धेरै विज्ञहरूले चेतावनी दिएका छन् । त्यसैले तेस्रो लहरको महामारी आउनु भन्दा पहिला नै यसको लागि पुर्वातयारी गर्न पनि आवश्यक छ । कोरोना नै अहिलेका सबै भन्दा बढि चुनौतीको रूपमा रहेको छ ।
कमजोर आर्थिक अवस्था भएकाहरूको लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनुभएको छ ?
दैनिक ज्यालादारी गर्ने, हातमुख जोर्ने वर्गका लागि खाद्यान्न र राहतको व्यवस्था हामीले केही हतसम्म ल्याएका छौं । पालिकामा हाल निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञाको समयमा पनि हामीले सानासाना भौतिक निर्माणको कामहरू रोकेनौं । किसानहरूलाई आफ्नो खोतीबाट खान पुगि रहेको छ भने सामान्य विकास निर्माणको काम पालिकामा चलिरहेको छ ।
तपाईं पालिका प्रमुखको रूपमा निर्वाचित भएको आएको ४ वर्ष पूरा भयो, जनताले अत्यधिक मत दिए, तपाईंंले पालिकालाई के दिनुभयो ?
हो, हामी निर्वाचित भएको आएको ४ वर्ष पुरा भएको छ भने अन्तिम कार्यकालको दौरानमा पनि छौं । हामी निर्वाचित नहुनु भन्दा अगाडी पालिकाको अवस्था नाजुक नै थियो भन्दा पनि फरक पर्दैन । हामी निर्वाचित भइसकेपछि हामीले घोषणापत्रमा पनि धेरै कुराहरूको उल्लेख गरेका थियौं । यसमा हामीले जनताहरूसँग गरेका प्रतिबद्धता थिए, पालिकाका आवश्यकता थियो, ती आवश्यकता र विकासका कुराहरू हामीले क्रमैसँग सम्बोधन गरेको अवस्था छ । भौतिक पूर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगायतको क्षेत्रहरूमा परिवर्तन र विकास भएको छ ।
हामीले गाउँपालिका भित्रका अधिकांश नागरिकहरूलाई पालिकाको तर्फबाट सेवा प्रवाहमा न्यूनतम आधारभूत कुराहरू परिपूर्ति गर्नको लागि हाम्रो प्रयत्न जारी छ । पहिलेको तुलनामा विकास निर्माणको कामहरू पनि धेरै भएका छन् । भौतिक पूर्वाधारको तर्फ कुरा गर्दा पहिला केही ठाउँमा मात्र सडक सञ्जाल पुगेको थियो भने हाल हामी सडक पहुँच सबै ठाउँमा पुर्याएका छौं । पालिकामा टेलिफोनको टावर पनि नभएको अवस्था थियो । वडा नं. २, ३, ६ का केही टोलहरू सूचना विहीन अवस्था थिए भने हामीले हाल टेलिफोनको टावरहरू जडान गरेका छौं । विद्युतको पहुँच नभएका नागरिकको घरमा विद्युतको पहुँचमा ल्याएका छौं । कृषि क्षेत्रमा सबैलाई उत्पादन गरेर खाने वातावरण सृजना गरिएका छौं ।
स्वास्थ्य क्षेत्रमा पनि आमूल परिवर्तन आएको छ भने यस क्षेत्रमा पनि हामीले धेरै लगानी गरेका छौं । यसका साथै सबैलाई नागरिकहरूलाई स्वास्थ्यको पहुँच पुर्याइ आवश्यक स्वास्थ्य संस्थाको निर्माण गरी स्वास्थ्य जनशक्तिको पनि व्यवस्थापन गरेका छौं । पालिकाको प्रत्येक स्वास्थ्यचौकीमा प्रजनन् केन्द्रको पनि स्थापना गरेका छौं । शिक्षा क्षेत्रमा पनि ठुलो परिवर्तन आएको छ । हामीले ५ देखि ८ सम्म स्थानीय पाठ्य क्रमको स्थापना पनि गरेका छौं ।
हामीले छोरी बीमा कार्यक्रम पनि सञ्चालन गरेका छौं । २०७७/७८ को निति तथा कार्यक्रमबाट छोरी बीमा कार्यक्रम लागु गरेका हौं । गाउँपालिका भित्र जन्मने छोरीहरूको लागि भविष्य सुनिश्चित गर्न तथा उच्च शिक्षा हाशिल गर्न सजिलो होस् भनेर बीमा कार्यक्रम सञ्चालन गरेका हौं । छोरी बीमा पालिकाले निःशुल्क गर्दै आएको छ । छोरीहरूको लागि २० वर्षसम्म मुद्दती खाता खोलेर त्यस खातमा गाउँपालिकाको तर्फबाट ५ हजार रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाइएको छ । छोरा र छोरीबिचको विभेदलाई अन्त्य गर्दै छोरीको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो । छोरीको हत्या गर्ने, आमालाई हिंसा गर्ने तथा छोरी भएर जन्मेकोमा आत्मग्लानि गर्ने संस्कृति अन्त्य गराउन छोरी बीमा कार्यक्रम सुरु गरिएको हो । यसबाट समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश प्रवाह हुने ठहर छ ।
गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?
युवाहरूलाई कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले भनिरहेका छौं । रोजगारीको कुरा पनि बजेटसँग नै जोडिँदो रहेछ । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरिबिका रेखामुनि रहेका र बेरोजगारी भएका युवाहरू मात्र छनोट भएका छन् । उद्यमशीलता विकासमा युवालाई लगाउनु पर्छ भनेर पनि हामीले जोड दिएका छौं । युवाहरूलाई सिपमूलक तालिमहरू पनि दिँदै आएका छौं ।
युवाहरू जुन पेशामा लागेका छन् त्यही पेशालाई राम्रो बनाउन आग्रह गरेका छौं । युवाहरूलाई उत्पादनसँग जोडिनु पर्छ भनेका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेसामा संलग्न छन् । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं ।
स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के– कस्ता चुनौती र समस्या आए त ?
स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । सुरुमा सङ्घीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । हाल हामीले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति नियम र कानुनहरूले स्थानीय सरकारका अधिकारका क्षेत्र प्रस्ट पारिसकेका छौं । कतिपय मानिसहरुले सङ्घीयता बुझेर पनि बुच पचाएका छन् भने कतिपयले बुझेका पनि छैनन् । विकास निर्माणको काम पनि गर्दा बजेटको समस्या पनि भयो । तर, चुनौतीको सामना गर्दै अगाडि बढेका छौं ।
अन्त्यमा, आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?
सबैभन्दा पहिला त पालिकाका वासिन्दाहरुलाई के भन्न चाहन्छु भने जनताको सहभागिता बिना विकास निर्माण कामले गति पनि लिन सक्दैन र त्यो सफल पनि हुन सक्दैन । त्यसैले नागरिकको सहभागिता हुन आवश्यक छ । कोभिडको समय पनि छ, भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफूमात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ । त्यसकारण कर्तव्यबोध हुन जरुरी पनि छ । तपाईंको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागिपरेका छौं । नआत्तिनुहोस्, धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहनुहोस् भन्न चाहन्छु ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.