२०७८ असार २४ गते १३:१७ विकासन्युज
काठमाडौं । बोटलर्स नेपाल (तराई)का सेयरधनीले ५ वर्ष पुग्दा पनि लाभांश नबुझेका छैनन् । केही सेयरधनीले हालसम्म पनि आर्थिक वर्ष २०७१/७२ सालको लाभांश लिन नगएका कम्पनीले बताएको हो ।
कम्पनीका अनुसार गत २०७२ साल पुस २८ गते सम्पन्न कम्पनीको आर्थिक वर्ष २०७१/७२ को पारित लाभांश सेयरधनीले लिएका छैनन् । उक्त लाभांश सम्बन्धित सेयरधनीले वा निजको हकवालाले ५ वर्ष पुगिसक्दा पनि हालसम्म लिन नआएको तथा दावी समेत नपरेको कम्पनीको भनाई छ ।
यससँगै उक्त लाभांश भुक्तानी गर्न कम्पनीले सेयरधनीलाई आग्रह गरेको छ । जसको लागि लगानीकर्ताले कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा सम्पर्क गर्न सक्नेछन् । उनीहरुले आफ्नो सेयर प्रमाणपत्रका साथ परिचय पत्र लिई आजको मितिबाट एक महिनाभित्रमा सम्पर्क गर्नुपर्ने हुन्छ ।
यदि सो अवधिभित्र लाभांश लिन नगएमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गराएको छ । सो कोष कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापित भएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.