२०७८ असार २४ गते १९:२८ विकासन्युज
काठमाडौं । पछिल्लो समय नेपाली पुँजी बजारमा विभिन्न प्रकारका धितोपत्र आउने क्रम जारी रहेको छ । बजारमा वाणिज्य बैंकदेखि म्युचुअल फण्डसम्मले धमाधम आईपीओ, लिलामी सेयर, म्युचुअल फण्ड, ऋणपत्र जस्ता विभिन्न किसिमका धितोपत्र जारी गरिरहेका छन् ।
हालै मात्र विभिन्न ५ कम्पनीले धितोपत्रको निष्काशन तथा बिक्री खुला गरिरहेका छन् । त्यस्तै, केही कम्पनीहरु भने धितोपत्र जारी गर्ने सबै प्रकृया सम्पन्न गरिसकेका छन् । र, उनीहरु मिति तय गरेर धितोपत्र निष्काशन गर्न तम्तयार भएर बसेका छन् ।
हाल धितोपत्र निष्काशन खुला गरेका कम्पनीमा दुई इन्स्योरेन्स, एक विकास बैंक, एक लघुवित्त र एक म्युचुअल फण्ड रहेका छन् । जसमध्ये युनियन लाइफ इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरिरहेको छ । त्यस्तै, स्वावलम्बन लघुवित्त र प्रिमियर इन्स्योरेन्सले लिलामीमा सेयर बिक्री गरिरहेका छन् । त्यसैगरी, ज्योति विकास बैंकले ऋणपत्र र आरविवि मर्चेन्ट बैंकिङ्गले म्युचुअल फण्ड जारी गरिरहेको छ ।
यससँगै लिलामीमा सेयर बिक्री गर्ने बाहेक हाल कूल २ अर्ब २४ करोड ५० लाख रुपैयाँ बराबरको धितोपत्र बिक्री खुला भईरहेको छ ।
यूनियन लाइफ इन्स्योरेन्स
यूनियन लाइफ इन्स्योरेन्सले आज (असार २४ गते) बाट ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले छिटोमा असार २८ गतेसम्ममा आवेदन दिइसक्नु पर्ने छ ।
स्वावलम्बन लघुवित्त
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले असार १८ गतेदेखि सेयर लिलामीमा राखेको छ । नबिल बैंकको स्वामित्वमा रहेको संस्थाले संस्थापक समूहको कूल १ लाख ८९ हजार ६५३ कित्ता सेयर लिलामीमा राखेको हो । उक्त सेयर न्यूनतम मूल्य ७ सय रुपैयाँका दरले बोलकबोल माध्यमबाट बिक्री खुला गरिएको हो । यससँगै इच्छुकले असार २९ गतेसम्ममा न्यूनतम ७ सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा खरिद गर्न सक्नेछन् ।
प्रिमियर इन्स्योरेन्स
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले पनि संस्थापक समूहको ५ लाख ४८ हजार २५ कित्ता सेयर लिलामी राखेको छ । इन्स्योरेन्सले उक्त सेयर असार १६ गतेदेखि प्रतिकित्ता न्यूनतम ६ सय रुपैयाँमा बिक्रीमा राखेको हो । यससँगै खरिद गर्न चाहनले असार २५ गतेभित्र बोलपत्र आवेदन पेश गर्नु पर्ने हुन्छ ।
आरविवि म्युचुअल फण्ड १
राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्गले आरविवि म्युचुअल फण्ड अन्तर्गत आरविवि म्युचुअल फण्ड १ सञ्चालमा ल्याएको छ । मर्चेन्टले असार २३ गतेदेखि प्रति इकाई १० रुपैयाँ रहेको १० करोड इकाई निष्काशन गरिरहेको छ । यससँगै इच्छुकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सक्नेछन् । मर्चेन्टले छिटोमा असार २७ गतेसम्म र ढिलोमा साउन ६ गतेसम्म बिक्री गर्ने जानकारी गराएको छ ।
ज्योति विकास बैंकको ऋणपत्र
ज्योति विकास बैंकले असार २० गतेदेखि एक अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरिरहेको छ । बैंकले असार २० गतेदेखि १० वर्ष अवधिको उक्त ऋणपत्र निष्काशन तथा बिक्रीमा राखेको हो । जसको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको छ । यससँगै इच्छुकले साउन ३ गतेसम्म न्यूनतम २६ कित्तादेखि अधिकतम ३० लाख कित्तासम्मको लागि उक्त ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
४ कम्पनीले धितोपत्र जारी गर्दै
त्यस्तै, बजारमा विभिन्न ४ वटा कम्पनीको धितोपत्र आउँदै छन् । उनीहरुले कूल ११ करोड ६१ लाख ३५ हजार ५५८ कित्ता धितोपत्र जारी गर्दै छन् । जसमध्ये दुई कम्पनीले ऋणपत्र, एकले हकप्रद र एकले लिलामीमा सेयर जारी गर्दै छन् । ऋणपत्र जारी गर्नेमा दुबै वाणिज्य बैंक रहेका छन् । हकप्रद जारी गर्नेमा हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) रहेको छ । जसले हालसम्मकै उच्च रकमको हकप्रद जारी गर्न लागेको हो । त्यस्तै, समृद्धि फाइनान्सले भने लिलामीमा सेयर बिक्री गर्न लागेको हो ।
एचआईडीसीएल
हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले आगामी साउन ५ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि एक सय अंकित दरका ११ करोड कित्ता अर्थात ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । यससँगै योग्य लगानीकर्ताले साउन ५ गतेदेखि साउन २५ गतेभित्रमा कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । गत जेठ २७ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रको बिक्री खुला गर्दैछ । बैंकले आगामी असार २८ गतेदेखि उक्त ऋणपत्र खुला गर्न लागेको हो । जसमा इच्छुकले छिटोमा असार ३१ गते र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । १० वर्षे अवधिको यस ऋणपत्रमा ८.५ प्रतिशत ब्याजदर पाइने छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो दिन ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसमा वार्षिक ८.५ प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ बैंकले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले असार ३१ गतेदेखि छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १७ गतेसम्म खरिद गर्न सक्नेछन् । सर्वसाधारणहरुले न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् ।
समृद्धि फाइनान्स
समृद्धि फाइनान्स कम्पनीले आगामी असार २९ गते मंगलबारदेखि ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामीमा राख्दै छ । कम्पनीले बिक्री नभएको सो मात्राको सेयर आगामी साउन ५ गतेसम्म बिक्री खुला गर्ने भएको छ । कम्पनीले गत असार ३ गतेदेखि असार १० गतेसम्म हकप्रद सेयर बिक्रीमा राखेको थियो । जसको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यससँगै इच्छुकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.