२०७८ असार २५ गते १५:४५ विकासन्युज
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् ।
शुक्रवार माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेताहरु सहित निर्वाचत आयोग पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचली भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका हुन ।
उनले विगत २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको भएपनि २०६९ सालमा एउटा नाममात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको बताए । अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरको उनको भनाई छ ।
देशमा राजनीतिक पार्टीहरुमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्धन्द चलेको भन्दै उनले पार्टीहरुलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताए । राजनीतिक पार्टीहरु बिचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरि स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए ।
राजनीतिक पार्टीहरुलाई सिस्टममा ल्याउनका निम्ति आफुहरुले माओवादी केन्द्र खारेजीको माग सहित निर्वाचन आयोगमा निवेदन दिएको उनको भनाई थियो ।
नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु शाह लगायतका नेताहरु पुगेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.