२०७८ असार २६ गते ९:०० विकासन्युज
मुलुक कोरोना महामारीको चपेटामा परेसँगै प्रदेश १ अन्तर्गत उदयपुर जिल्लाको उदयपुरगढि गाउँपालिका पनि प्रभावित बन्न पुग्यो । संक्रमण रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले विभिन्न प्रयास गरिरहेको छ । यस गाउँपालिकाले संक्रमितको घरमै गएर हेरचाह गर्नेदेखि फोन सम्पर्कबाट नियमित अपडेट लिने गरेको छ भने उपचारको प्रबन्धका लागि राम्रो समन्वय पनि गरेको छ ।
यसैक्रममा गाउँपालिकाले कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि गरिरहेको गतिविधि, स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
अहिले कोरोनाका कारण विश्व नै आक्रान्त छ, कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाले के गरिरहेको छ ?
अन्य ठाउँमा जस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । यस महामारीलाई नियन्त्रण गर्नका लागि हामीले पालिकाको तर्फबाट सम्पूर्ण प्रयासहरू जारी राखेका छौं । यहाँका स्वास्थ्यकर्मीहरुसँग कोरोना विश्वव्यापी महामारीको स्तर, भाइरस सर्ने विधि, संक्रमितमा देखिने लक्षण तथा सम्भाव्य उपचारका उपायहरूबारे छलफल गरेका छौं । त्यसैगरी, नागरिकस्तरमा यस रोगका लक्षणहरू, संक्रमण रोक्न अपनाउनुपर्ने बहुआयामिक सावधानीहरू लगायतका सम्बन्धमा पनि सु–सूचित गराएका छौं । यसो गर्नका लागि पालिकाभित्रका वडामा माइकिङ गर्ने काम गरेका छौं भने स्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई हामीले अग्राह गरेका छौं ।
कोरोना संक्रमण दर हामीले कल्पना गरेभन्दा द्रुत रूपमा फैलिएको छ । कोरोनासँग लक्षण देखिएका बिरामीलाई एन्टिजेन र पीसीआर परीक्षण निःशुल्क रुपमै गर्दै आएका छौं । उक्त पीसीआर वा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएका बिरामीहरूको स्वास्थ्य अवस्था सामान्य छ भने होम आइसोलेसनमा बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्यमा समस्या भएको वा जटिल अवस्था आएको खण्डमा अस्पताल पुर्याई उपचार गर्ने व्यवस्था समेत मिलाएका छौं ।
गाउँपालिकाको केन्द्रमा हामीले ६ बेडको कोभिड अस्पताल पनि स्थापना गरेका छौं । यस अस्पतालमा १ जना एमबीबीएस डाक्टर, १ जना स्टाफ नर्स र कार्यालय सहयोगी राखेका छौं । अस्पतालले अन्य रोगका बिरामीलाई विभिन्न सेवा सञ्चालन गरी सेवा प्रवाह गर्दै आएको छ । दोस्रो चरणको महामारी पालिकामा व्यापक फैलिएपछि विपद् व्यवस्थापन समितिको गठन, शीघ्र उद्धार कार्यदलहरूको गठन र रकम व्यवस्था लगायतका सङ्गठनात्मक कार्यहरू सम्पादन पनि भएका छन् । पालिकाले स्वास्थ्यचौकीहरूमा अत्यावश्यक औषधिहरूको आपूर्ति व्यवस्था मिलाउनेदेखि कोरोना रोकथामका लागि आवश्यक उपकरणहरू जस्तै–थर्मल गन, मास्क, उपकरणहरूको खोजी गर्ने, शङ्कास्पद संक्रमितहरुलाई अलग्गै राख्नको लागि क्वारेनटिनस्थलको पहिचान र त्यसको निर्माणका लागि सुरक्षाकर्मीहरूसँग समन्वय गर्ने कार्य पनि अघि बढाएका छौं ।
गाउँपालिकामा कोरोना संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
पालिकामा महामारी गत वर्षभन्दा यस वर्ष व्यापक रूपमा फैलिएको छ । पछिल्लो समय संक्रमण दर घटेको छ भने धेरैजसो बिरामी निको भएका छन् । कोरोनाको समयमा पालिकाभित्रका धेरै ठाउँमा पूजा तथा विवाहहरू भए । पूजाआजामा धेरै ठाउँबाट मानिसहरू आउने र भेटघाट हुने माहोल बन्यो, त्यसैले जहाँजहाँ पूजा तथा भीडभाड धेरै भए त्यही ठाउँमा कोरोनाले बढी प्रभाव पा¥यो । पालिकाका सबैजसो वडा नै कोभिडबाट प्रभावित भएका छन् । पालिकाका धेरै नागरिकहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ भने कोभिडका कारण ३ जना नागरिकहरूको ज्यान पनि गएको छ ।
तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम केके भए नि ?
हामी जनप्रतिनिधि भएर आउँदा जनताको आधारभूत आवश्यकता, पूर्वाधारको अवस्था निकै कमजोर एवं जीर्ण थियो । हामी पालिकामा निर्वाचित भएर आएपछि विकासनिर्माणका कामहरू धेरै भएका छन् । गाउँपालिका विकास र सम्बृद्धितर्फ उन्मुख हुँदै गएको छ । स्थानीय सरकार बनेपछि पालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । हाम्रो पालिका ५ ओटा गाविस अनि १० ओटा वडा मिलेर बनेको छ । सडक सञ्जालको कुरा गर्दा पालिकाको सबै वडा तथा टोलमा सडक पुगेको छ । हामीले ८५ प्रतिशत घरधुरीमा खानेपानी पुर्याएका छौं भने हरेक बस्तीमा धेरै हदसम्म खानेपानी सुविधा सुनिश्चितताका लागि पनि काम गरिरहेका छौं ।
हामी निर्वाचित भएर आउनुभन्दा अगाडि कमैको घरमा मात्र बिजुली पुगेको थियो । हामी स्थानीय तहमा निर्वाचित भएर आएको ६ महिना पश्चात् गाउँपालिकालाई उज्यालो बनाउनु पर्छ भनेर लागि पर्यौं । ५ ओटा वडामा ३२ करोड रुपैयाँको आयोजना अन्तर्गत बिजुली पुर्याइ बत्ती बाल्ने कामको सुरुवात भएको छ । २८ करोड रुपैयाँ बराबरका योजना अन्तर्गत वडा नं. ४, ५ र ८ मा बाँकी रहेको काम भइरहेको छ भने यो काम ८० प्रतिशत पुरा भइसकेको छ । बिजुलीका ३ हजार थान मिटरबक्स चाहिँ वितरण गरिसकेका छौं भने बाँकी रहेको १५ सय थान मिटरबक्स खरिद गर्नको लागि सम्बन्धित निकायमा रकम जम्मा गरिसकेका छौं । १५ सय ओटै मिटरबक्स ल्याएर वितरण ग¥यौं भने करिब ४५ सय घरधुरीलाई बिजुली पुग्छ । हाम्रो कार्यकाल भित्र नै ९५ प्रतिशत घर धुरीमा बिजुली पुर्याउने लक्ष्य राखेका छौं ।
त्यसैगरी, यती मात्र नभई हरेक क्षेत्रमा परिवर्तन र विकास भएको छ भने महत्वपुर्ण काम पनि धेरै भएका छन् । पर्यटकीय क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् । प्रत्येक वडामा पालिकास्तरमा खेलमैदानका कुरालाई पनि हामीले जोड दिएका छौं ।
स्थानीय सरकार प्रमुख भएर काम गर्नुपर्दा के कस्ता चुनौतीको सामना गर्नुभयो ?
गाउँपालिकाको नेतृत्व सम्हालेको ४ वर्ष भित्र चुनौती धेरै आए । व्यवस्थाभित्रको समस्या एकातिर छ । संघीयता कार्यान्वयनको सुरुवाती चरणमा काम गर्नुपर्ने भएकाले सीमित बजेट, कर्मचारीको अभाव समस्याकै रूपमा देखाप¥यो । नेतृत्व गर्ने कुरामा, काम गर्दा अप्ठ्यारा स्थितिहरू त आउँछन् नै । बढि खर्चिलो र भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखा परेका छन् । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । सुरुमा संघीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सुरुको एक वर्ष हामीलाई कागको कुइरोमा अल्मलिएजस्तो भयो । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो ।
हाल हामीले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति नियम र कानुनहरुबाट स्थानीय सरकारका अधिकार क्षेत्रलाई प्रष्ट पारिसकेका छौं । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । अर्कोतर्फ केन्द्र र प्रदेशले दिने अनुदानको दायरामा रहेर योजना बनाउनुपर्ने बाध्यता छ । कोभिडले पनि २ वर्ष धेरै समस्या भयो । जनताको इच्छा र चाहना बढि नै छ । हामीसँग स्रोत साधन त्यसको तुलनामा धेरै कम छ । त्यही पनि उपलब्धिहरू हासिल गरेका छौँ ।
स्थानीय बासिन्दाको माग कसरी सम्बोधन गरिरहनुभएको छ ?
हामी जनताबाटै निर्वाचित भएर आएका हौँ । मानिसहरूको आवश्यकता असिमित हुन्छ । माग पनि धेरै हुन्छ । सबैको मागलाई पुरा गर्न नसके पनि प्राथमिकता अनुसारका मागलाई चाहिँ पुरा गर्दै आएका छौं । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं ।
निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धता के कति पूरा गर्नुभयो ?
हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम धेरै पुरा गर्न सफल भएका छौं । पूरा गर्न नसक्ने कुराहरू घोषणापत्रमा लेखेका थिएनौं । पर्यटन क्षेत्रको विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । हामीले घोषणापत्रमा उल्लेख गरेका करिव ७० प्रतिशत कुराहरू चाहिँ पुरा गरेका छौं भन्ने महशुस भएको छ । घोषणापत्रमा उल्लेख गरेका कुरा र तिनै प्रतिबद्धताको आधारमा हामी काम गर्दैछौं ।
प्रत्येक वडामा वडा भवनको निर्माण गर्ने तथा कर्मचारी व्यवस्थापन गर्नको लागि ध्यान दिइरहेका छौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेका छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुन सक्दैन । हामीले गर्छौं भनेका कुरा बाहेक अन्य कुराहरू महत्वपुर्ण पनि हुन सक्छन् । त्यसैले समग्र पालिकाको विकास निर्माणमै हामी केन्द्रीत छौं ।
अनि, गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?
युवाहरू परिवर्तन, रूपान्तरण र विकासका संवाहक र राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । युवाहरूको गुणात्मक तथा संख्यात्मक विकास र परिचालनले देशको विकास सम्भव हुन्छ । त्यसैले हामीले युवा रोजगारीमा पनि विशेष ध्यान दिइरहेका छौं । युवाको सिप विकासको लागि पनि हामीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । युवाहरूलाई कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले भनिरहेका छौं ।
यो आर्थिक वर्षमा ५० लाख रुपैयाँ बराबरको तरकारी उत्पादन गरेर बाहिर निकास गरेको अनुमान गरेका छौं । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । युवाहरू जुन पेशामा लागेका छन् त्यही पेशालाई राम्रो बनाउन आग्रह गरेका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं ।
अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?
नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । संघ र प्रदेश सरकारबाट आएका बजेट सही ठाउँमै प्रयोग गरेका छौं । त्यति हुँदाहुँदै पनि ठ्याक्कै भनेजस्तो काम हुन सकेको छैन । पालिकालाई सुन्दर र समृद्ध बनाउनको लागि हामी सबै लाग्नु पर्छ । नागरिकको आवश्यकता पुरा गर्नमात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । हामीले विकास निर्माणको कुरामा पनि जोड दिइरहेका छौं ।
अनि अहिलेका चुनौतीको रूपमा खडा भएको कोभिड महामारीसँग जुध्नको लागि स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि समग्र पालिकावासीलाई आग्रह गर्छु । भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफूमात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्यबोध हुन जरुरी छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागिपरेका छौं । यस भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारीको संक्रमण झन् धेरै फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.