२०७८ असार २८ गते १०:५२ विकासन्युज
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड भएको छ । उक्त आईपीओ बाँडफाँड आज (असार २८ गते) बिहान साढे ९ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा भएको हो ।
क्यापिटलले सेयर निष्काशन बन्द गरेको साता दिनमै सेयर बाँडफाँड गरेको हो । संस्थाले गत असार १७ गतेदेखि २१ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २ हजार ७५३ आवेदकको आवेदन रद्द भएको छ भने बाँकी आवेदन भने रितपूर्वक परेका क्यापिटलले जनाएकाे छ ।
संस्थाको सेयरमा मागभन्दा बढी आवेदन परेको थियो । यसससँगै क्यापिटलले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट बाँडफाँड गरेको हो । यससँगै रितपूर्वक आवेदन दिनेमध्ये ३६ हजार ३४९ जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन् । त्यससँगै १० कित्ताभन्दा बढी माग गर्नेमध्ये २ जनाले सीडीएससीकोबाँकी रहेको २ कित्ता सेयर १/१ कित्ता गरी कूल ११ कित्ता सेयर हात पारेका छन् ।
लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएकाे हाे ।
यससँगै उक्त आईपीओ रिजल्ट बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, मेरो सेयर तथा सीडीएससीको आईपीओ रिजल्ट वेबसाइट मार्फत हेर्न सकिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.