२०७८ असार २९ गते १३:०८ विकासन्युज
काठमाडाैं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्।
मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सोही अनुसार आज देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन ।
विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए ।
त्यसपछि पुनः दोस्रो पटक २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म प्रधानमन्त्री रहे । असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए ।
प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।
यस्तै, चोथौ पटक २०७४ साल जेठ १४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.