२०७८ साउन ५ गते १९:२३ विकासन्युज
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरुले प्रधानमन्त्री शेर वहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै चेम्बरले प्रधानमन्त्री समक्ष केही माग पनि राखेको छ ।
चेम्वरका अध्यक्ष मल्लले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अर्थतन्त्रमा गम्भीर क्षति पुगेको बताउँदै अब सरकारले निजी क्षेत्रलाई विशेष ध्यान दिनु पर्ने बताए ।
उनले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराउन पनि आग्रह गरे ।
मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने पनि माग राखे । उनले ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने पनि माग राखे ।
बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने, निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्यक्रमहरु ल्याइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न बिशेष प्राथमिकता दिन आग्रह गरे ।
यस्तै, प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसंग सदैव सहकार्य गर्न तयार रहेको बताएका छन् ।
कोभिड खोप सम्वन्धी नेपाल चेम्वर अफ कमर्सको माग वारे सरकार सम्वेदनशील रहेको बताउँदै उनले निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने पनि बताए ।
उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर, मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्वरका सूचना तथा संचार समितिका सभापति श्री सन्तोष पाण्डेको उपस्थिति रहेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.