‘आर्थिक अभावका कारण नगरपालिकामा गौरवका धेरै आयोजना अधुरै रहन गयाे’

  २०७८ साउन ९ गते १५:००     विकासन्युज

कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत जिल्लाको ९ स्थानीय तहमध्ये भेरीगंगा नगरपालिका पनि एक हो । यस नगरपालिका अन्य स्थानीय तहको तुलनामा स्रोत, साधन र जनशक्तिका हिसाबले अब्बल मानिन्छ । नगरपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ । नगरपालिकामा यतिवेला विकासको कामले तिव्र रूप लिएको छ । सुर्खेतको पूर्व पश्चिम राजमार्गसम्म जोड्ने रत्न राजमार्गको अधिकतम खण्ड नगरपालिकाअन्तर्गत पर्ने र सुर्खेत–जाजरकोट सडक पनि यही नगरपालिका हुँदै जाने भएकोले गर्दा पनि यस नगरपालिकाले द्रुत आर्थिक विकासको सम्भावना प्रबल रुपमा बोकेको छ भन्ने कुरा छर्लङ्ग हुन्छ ।

निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले नगरपालिकामा गरेका विकास निर्माणको काम, कोरोनाको रोकथाम एवं नियन्त्रणकालागि नगरपालिकाले गरिरहेको गतिविधिलगायतका विषयमा केन्द्रित रहेर सो नगरपालिकाकी उप–प्रमुख रेणु आर्चायसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना रोकथाम तथा न्यूनीकरणको लागि नगरपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ?

कोरोना महामारीको दोस्रो लहरमा विश्वमा नै एक प्रकारको रणभुल्लता देखियो । यो वेला हाम्रो नगरपालिका पनि यस महामारीबाट अछुतो रहन सकेन । हाम्रो नगरपालिका कर्णाली प्रदेशको प्रवेशद्धारमा रहेका कारण अन्य स्थानीय तहको भन्दा महामारी नियन्त्रण गर्नको लागि धेरै नै संघर्ष गर्नुुपर्यो । नगरमा दोस्रो चरणको प्रभाव परेसँगै वैशाख १४ गते बसेको बिपद् व्यवस्थापन समितिको आकस्मिक बैठकद्वारा नगर उप–प्रमुखको संयोजकत्वमा स्थानीय प्रहरी, उद्योग वाणिज्य संघ, रेडक्रस, युवाक्लब, स्वास्थ्य शाखाका प्रतिनिधि सम्मिलित नगरस्तरीय कोभिड रोकथाम तथा निगरानी समूहको गठन गरी सम्पूर्ण गतिविधिहरू यसै समितिमार्फत गर्ने निर्णय गरियो । यस बैठक बाट विभिन्न विकास बजेटका रकमहरू रकमान्तर गरी ७१ लाख रुपैयाँको कोभिड कोष निर्माण गरी यसै कोष मार्फत सम्पूर्ण खर्चहरू गर्ने निर्णय गरियो र यही रकमबाट नै महामारी नियन्त्रण गर्नमा खर्च गर्दै आएका पनि छौं ।

कोरोना महामारी सुरु भएसँगै म तथा मेरा सहकर्मी जनप्रतिनिधीहरु सँगै नागरिकको घरआँगनमा पुगेका छौं । जनचेतना जगाउने, मास्क र स्यानिटाइजर वितरण गर्ने गर्नुका साथै साबुनपानीले हातधुने कार्यमा जागरण ल्याउने काम पनि गरेका छौं । बाहिरी जिल्ला वा विदेशबाट पालिकामा प्रवेश गर्नेहरूलाई परीक्षण देखि क्वारेन्टिन व्यवस्थापन गर्नमा पनि नगरले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । कोभिड संक्रमितको उपचारमा कार्यरत वा फ्रन्टलाइनमा कार्यरत जनशक्तिहरूलाई खाईपाई आएको तलबको ८०, ७५ तथा ५० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । नगरमा संक्रमितको संख्या बढ्दै जाँदा कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएका छौं ।

परीक्षण गर्दा पालिकामा हालसम्म लगभग ११ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संघर्ष गर्दागर्दै पनि पालिकाबाट २१ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएका छौं । कोरोना महामारीको असर नपरेको क्षेत्र र स्थान कुनैपनि छैन होला । नगरपालिकामा पनि जब कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै महामारीलाई नियन्त्रण गर्नको लागि स्वास्थ्य सामाग्री तथा अक्सिजनको जोहो गर्ने, जो संक्रमित छन् उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ भने घरमै होम आइसोलेसनमा बस्न आग्रह गर्नेजस्ता काम गर्दै आएका छौं । नगरका २ ओटा एम्बुलेन्स तयारी अवस्थामा राखि सिकिस्त बिरामीहरूलाई अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाएका छौं ।

लक्षण देखिएका तथा शङ्कास्पद सबैको परीक्षण निःशुल्क गर्दै आएका छौं । यस महामारीलाई नियन्त्रण गर्नका लागि नगरपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै नगरपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुनपानीले हातधुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएका छौं । नगरपालिकाले परीक्षण गर्दा लक्षण भए छुट्टै बस्न अनुरोध गर्छ र संक्रमण पुष्टि भएको व्यक्तिलाई अलग्गै राख्छ । पालिकाले आवश्यक स्वास्थ्य सामाग्री खरिद गरी भण्डारण पनि गरेको छ ।

कमजोर आर्थिक अवस्था भएकाहरूकालागि खाद्यान्न र राहातका कार्यक्रमहरू ल्याउनु भएको छ ?

पालिकामा अहिले राहतका कार्यक्रमहरु ल्याएका छैनौं । तर, कोरोना पुष्टि भई होम आइसोलेसनमा बसेकाहरूलाई नगरद्वारा स्वास्थ्य सामाग्री लगायत पोषण कोसेली स्वरूप एक क्यारेट अण्डा घरमा पुगी भेटेर जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको उपस्थितिमा वितरण गरिएको छ ।

स्थानीय सरकारको चार वर्ष कार्यकाल पूरा हुँदा आफ्नो नेतृत्व कस्तो भएजस्तो लाग्छ, सफल वा असफल ?

२० वर्षको समयसम्म जनप्रतिनिधिविहीन भइरहेको अवस्थामा नेपालको संविधान २०७२ मा भएको व्यवस्थाअनुसार प्रथम पटक संघीयताको कार्यान्वयनसँगै स्थानीयतहको चुनावमार्फत जनता आफूले रोजेको प्रतिनिधिलाई सरकारमा पठाउँदा निश्चय नै उनीहरूको इच्छा, आकांक्षा धेरै नै हुन्छन् । हामी पनि नयाँ व्यवस्थासँगै स्थानीय सरकारको भूमिकामा रहनुपर्ने र सिमित स्रोत साधन र जनशक्तिका बाबजुद असीमित इच्छा र चाहना अनि विकासको भोक मेटाउनु पर्ने बाध्यतामा रहेका थियौं । स्थानीय सरकारले जनशक्ति व्यवस्थापन कानुन कार्य नियमावलीको निर्माण, कार्यान्वयन, अर्ध न्यायिक संरचनाको व्यवस्थापनजस्ता महत्वपुर्ण विषयहरूमा धेरै नै अगाडि बढेर आगामी दिनको लागि मार्ग प्रस्थान भएको छ ।

त्यसैले, स्थानीय सरकारमा निर्वाचित भएर आइसकेपछि जनताका धेरैजसो अपेक्षा पूरा गर्न सफल भएका छौं भन्ने हामीलाई लागेको छ । स्थानीय तहमा निर्वाचित भएर आएपछि विकास निर्माणका कामहरू पनि धेरै भएका छन् । त्यसैले तुलनात्मक रूपमा मैले मेरो कार्यकाल सफल रहेको भन्नुपर्छ ।

तपाईँहरू निर्वाचित भएर आएको करिब ४ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा गर्न सफल हुनुभएको छ ?

हामीले चौतर्फीको रोडम्याप समेटेर निर्वाचनको घोषणापत्र निर्माण गरेर हामीहरू जनतामाझ गएका थियौं । हाम्रो घोषणापत्रलाई रुचाएर जनताहरूले हामीलाई नगरपालिकाको विकास र समृद्धिको जिम्मा दिनुभएको थियो । यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । हाम्रो पहिलो प्राथमिकता भनेको सुशासन कायम गर्नु थियो । जसलाई हामीले केही महिनामै पूरा गरेका थियौं । यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । जसमध्ये हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ८५ प्रतिशत कामहरू सकिसकेका छौं ।

हामी निर्वाचित भएर आउँदा पालिकाको अवस्था जीर्ण र बस्तीहरू अत्यन्तै दुर्गम थिए । नगरपालिकावासी भएको महसुस यहाँका स्थानीयहरूले गर्न पाउनुभएको थिएन । सडक सबै ठाउँमा पुगेको थिएन । विद्युत् पुगेको थिएन । पिउने पानी थिएन । तर, हाल अवस्था बदलिएको छ । नगरसभाबाटै हामीले उक्त ठाउँको विकासकालागि योजना बनाएर काम गरेका छौं भने अहिले ती स्थानसम्म मोटर बाटो पुगेको छ । बिजुलीको काम भइरहेको छ । सहर पसेकाहरू गाउँ फर्कने वातावरण बनाएका छौं । शिक्षा, स्वास्थ्य, कृषि पर्यटनको विकासमा पनि हामीले सफलता हासिल गरेका छौं । सबै वडाहरूमा वडा कार्यालयहरू स्थापना गरेका छौं । प्रत्येक टोलसम्म सडक सञ्जाल विस्तारको कामलाई अगाडि बढाएका छौं ।

तपाईंको कार्यकाल प्रारम्भ भएपछि पालिका भित्र गौरवका आयोजनाको रूपमा कुन–कुन आयोजना अगाडि बढाउनुभयो ? हाल तिनीहरूको अवस्था कस्तो रहेको छ ?

पालिकामा गौरवका आयोजना धेरै सञ्चालन भएका छन् । हामी पालिकामा निर्वाचित पछि प्रारम्भ गौरवका आयोजनाहरू छिन्चु सिटी बस पार्क, डुुम्कोट दलित संग्रहालय, हरिते पार्क, सामुदायिक विद्युतिकरण वडा नं. १, २, ३, ६, ७ मा, बहुउद्देश्य कृषि हाटबजार निर्माणकार्य आदिजस्ता गौरवका आयोजनाहरू अगाडि बढाएका छौं जुन सम्पन्न हुने चरणमा छन् । हामीले पालिकामा सिटी बसपार्कको सञ्चालन गरेका छौं तर बजेट अभावका कारणले नै यो आयोजना सम्पन्न भएको छैन । पूर्वाधार अथवा जग्गा सम्मबन्धि कामचाहिँ सम्पन्न गरेका छौं । पार्क निर्माणको कामपनि गरेका छौं ।

स्थानीय सरकारको सानो विकास बजेट र आर्थिक अभावको कारण नै गौरवका आयोजनाहरू सम्पन्न गर्नसक्ने अवस्था छैन । सबै वडामा स्वास्थ्य सेवा पुर्याउन काम पनि गरिरहेका छौं । हामीले पालिकाभित्र गौरवको आयोजनाको रूपमा भौतिक पूर्वाधार, सबै वडा कार्यालयमा सडकको पहुँच, पालिकाभवन निर्माणको काम अगाडि बढाएका थियौं । हामीले आयोजनाहरू सम्पन्न गर्दा पालिकाले नयाँ प्रकारको स्वरूप प्राप्त गर्ने विश्वास लिएका छौं ।

सहरी खानेपानी आयोजनाको प्रक्रियामा अगाडि बढाएका छौं । भौगोलिक विकटता वा सूखा क्षेत्र भएका ठाउँमा पनि सुखा खानेपानी आयोजनाअन्तर्गत १० ओटा खानेपानी आयोजना सञ्चालन गर्दैछौं । सडकको स्तरोन्नती र निर्माणको काम पनि भएका छन् । कर्णाली प्रदेशकै नमुना वा ठुलो रङ्गशाला पनि निर्माण गर्दैछौं । किसानहरूको आर्थिक उपलब्धिको लागि पालिकामा कोल्डस्टोरको निर्माणमा पनि सहयोग गरेका छौं ।

वर्तमान अवस्थामा पालिकाभित्रको शिक्षाको अवस्था कस्तो रहेको छ ? पालिकाको तर्फबाट शिक्षा क्षेत्रमा के–के महत्वपुर्ण कामहरू गर्नुभएको छ ?

शिक्षा नै मानवस्रोत, सामाजिक, आर्थिक विकास तथा उन्नयनको आधार हो । वर्तमान संविधानमा आधारभूत तथा माध्यमिक शिक्षा सहित शैक्षिक व्यवस्थापनको महत्वपूर्ण कार्य स्थानीयतहको अधिकार क्षेत्रभित्र छ । स्थानीय तहको संरचना बनेसँगै पालिकामा पनि शिक्षा क्षेत्रमा ठुलो परिवर्तन आएको छ । गुणस्तरीय शिक्षामा विशेष जोड दिएका छौं । शिक्षाको दृष्टिकोणले पालिका अलि पछाडि नै परेको मानिन्थ्यो । तर, अहिले उक्त अवस्थाको अन्त्य भएको छ । भौतिक पूर्वाधारको अभाव, दरबन्दी अभावजस्ता यावत समस्याहरूले यहाँको शैक्षिक अवस्था अस्तव्यस्त थियो । शिक्षामा सुधार नआउँदासम्म अन्य उपलब्धिको कुनै महत्व हुँदैन भन्ने ठानेर हामीले भौतिक पूर्वाधार, दरबन्दी मिलानमा ध्यान दियौं । जसकारणले शिक्षामा सुधार आएको छ भने नगरमा १० ओटा शैक्षिक सुधार कार्यक्रम पनि तयार गरेका छौं ।

शिक्षकहरूलाई विषयगत तालिमको व्यवस्था गर्ने, विद्यालयहरूको भौतिक पूर्वाधार पक्षलाई सुधार गर्ने, पुस्तकालयको व्यवस्था गर्ने, आदिजस्ता कार्यक्रमहरूलाई पालिकाले अगाडि बढाएको छ । शैक्षिकक्षेत्रसँग सम्बन्धित समस्या र आवश्यकताहरूको सम्बोधन गर्न त धेरै नै बाँकी छ । तर, पनि स्थानीयतहको सञ्चालनपूर्वको अवस्थाभन्दा व्यवस्थित र पारदर्शी हिसाबले शैक्षिक क्षेत्र सञ्चालन भएका छन् भन्ने हामीलाई लागेको छ । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि रहेको छ । कोरोनाको कारण गाउँपालिकाका शैक्षिक क्षेत्रहरू पनि प्रभावित बन्दै गएका छन् । विद्यालयको आवश्यकताअनुसार शैक्षिक सामाग्रीको उपलब्धता गराएका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ ।

तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ?

हामीले गर्नुपर्ने केही कामहरू अझ पनि बाँकी नै छन् । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ केही उपलब्धिहरू भएको छ । मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि नै न्यायिक क्षेत्रमा आएको सुधार हो । पिडा भोगिरहेका नागरिकलाई पिडाबाट मुक्त गरेका छौं । एकमात्र क्षेत्रमा नभएर विभिन्न क्षेत्रहरूमा सुधार र परिवर्तन ल्याउनु नै मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि हो ।

स्थानीयस्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ?

युवाप्रति लक्षित गर्दै पालिकामा विभिन्न कृषि र पशुपालनका सिपमूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ । कोरोना महामारीका कारण धेरै युवाहरू बेरोजगार बनेका छन् । हामीले स्वरोजगारलाई ध्यान दिएका छौं । त्यसपछि सीप, रोजगार र बजारलाई ध्यानमा राखेर कार्य गरेका छौं । मागमा आधारित सीपमूलक कार्यक्रमहरू सञ्चालन गरेका छौं । युवाहरूलाई व्यवसायी बनाउन लगानीको बाटो खोजी गरिदिएका छौं ।

युवाहरूलाई कृषि र पशुपालनमा जोडिनको लागि आग्रह गरेका छौं । कृषि र पशुपालन गर्नको लागि पनि हामीले प्रोत्साहन गरेका छौं । सिपमूलक भए बसेका धेरै युवाहरूले रोजगारी पाएका छन् । युवाहरूको समूह गठन गरी युवाहरूलाई कृषिमा अनुदान दिने व्यवस्था मिलाएका छौं । कृषिका अतिरिक्त केही मानिसहरू सरकारी तथा गैरसरकारी सेवामा संलग्न रहेका छन् भने केही व्यापार व्यवसायमा संलग्न भएका छन् ।

पालिकामा खेतीयोग्य जमीन भएपनि सिँचाइ अभाव तथा उच्च आधुनिक प्रविधिको अभावमा यहाँका मानिसहरू जीविकोपार्जनकालागि व्यवसाय, कृषि, पशुपालन, ज्यालामजदुरीका अतिरिक्त अन्य वैकल्पिक रोजगारीका अवसरहरू खोजी गरेको पाइन्छ । पालिकाको विकास निर्माणको काममा पनि युवाहरूलाई परिचालन गर्दै स्वरोजगार बनाइरहेका छौं ।

स्थानीयतहको नेतृत्व सम्हाल्नुभएको धेरै भएको छ भने अनुभवपनि धेरै बटुल्नु भएको छ, स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न के–के काम गर्नुपर्ने रहेछ ?

स्थानीय तहलाई प्रभावकारी नै बनाउने हो र यहाँका यावत् समस्यालाई समेट्नुपर्ने हो तर सम्पूर्ण समस्याको समाधान गर्न स्थानीय तहले चाहेर पनि सक्दैन रहेछ । जनताको आवश्यकता धेरै हुन्छ । साँच्चै पालिकाको विकास गर्नको लागि सबै संस्थाहरूले समन्वय गरेर सरसल्लाह अनुसार यहाँको आवश्यकता परिपूर्ति गर्दै आ–आफ्नो क्षेत्रको काम राम्रोसँग सम्हाल्नु पर्छ । प्रदेश र केन्द्रको सहयोगमा नै स्थनीय तहको विकास हुँदै रहेछ । पालिकाको विकास गर्नको लागि आर्थिक व्यवस्था गर्न पनि आवश्यक छ । हामी नागरिकको नजिकको प्रतिनिधि भइरहँदा हामी जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नुपर्छ । नागरिकको हरेक समस्यासँग जानकारी राख्दै स्थानीय नागरिकको अपेक्षा र मागअनुसार साधन र स्रोतले भ्याएसम्म विकासको काम गर्नुपर्छ । पालिकाको नीति, योजना र बजेट कार्यान्वयन गर्ने कर्मचारीको मनोबल उच्च पारेर काम गर्दै कर्मचारीसँग भएको क्षमतालाई स्थानीय सरकारले सदुपयोग गर्न र स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकियो भने मात्र राम्रो हुने रहेछ भन्ने अनुभव प्राप्त भयो ।

नगरपालिकाभित्र अब गर्नुपर्ने कामहरू चाहिँ के–के छन् नि ?

हाम्रो कार्यकालमा गाउँपालिकाको आधारभूत कुरा तथा पूर्वाधारको तयारी गर्नको लागि हाम्रो समय तथा बजेट खर्चिएको अवस्था छ । पालिकामा उत्पादकत्व वृद्धि गर्नको लागि यहाँका नागरिकहरूलाई उत्पादनतर्फ लगाउन चाहिँ जरुरी छ । औद्योगिक तथा व्यवसायी बनाउने हिसाबले कृषि तथा पशुपालनलाई पनि व्यवसायिक बनाउन आवश्यक छ । विकास निर्माणको कामहरू पनि धेरै गर्नुपर्ने छ । केही पुल निर्माणकाकाम पनि गर्न बाँकी नै छ । आर्थिक अभावको कारण बसपार्क निर्माणको कामपनि गर्न सकेका छैनौं । आर्थिक अभावका कारण नै धेरै विकास निर्माण काम गर्न सकेका छैनौं ।

अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

म के भन्न चाहन्छु भने हाम्रो आवश्यकता र समस्याहरू अनगिन्ती हुन सक्छन् । यसलाई एकै पटक एउटै कार्यकालमा सबै आवश्यकताको संबोधन हुन सक्दैन । विकास भनेको क्रमिक रूपमा हुने कुरा हो । हामीले जुन आशा अपेक्षा गरेका थियौं । त्यो अपेक्षाअनुसार हामीले लगभग ८५ प्रतिशत काम त गर्यौं तर, कतिपय कामहरू अधुरै पनि छन् । काम अधुरो रहेको कारण जनता पनि चिन्तित छन् । यो स्थानीय तहले काम गर्न सकेन भन्ने गुनासो पनि हामी सुनिरहेका हुन्छौं । यी कामहरूलाई पूर्ण गर्नको लागि नेपाल सरकारले स्थानीय सरकारलाई मजबुत बनाएर अगाडि बढाउनु पर्छ । जनताहरूलाई असहज परेको अवस्थामा स्थानीय सरकारमा आउन पनि अनुरोध गर्छु । नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षाअनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं ।

अनि अहिले चुनौतीको रूपमा खडा भएको कोभिड महामारीसँग जुध्नकोलागि स्वास्थ्य मापदण्ड पूरा गर्न समग्र पालिकावासीलाई आग्रह गर्छु । यस भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारी अझ धेरै फैलिन सक्छ । त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.