रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दा मारमा किसान

  २०७८ साउन १२ गते १३:४४     विकासन्युज

लहान । सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् ।

लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रासायनिक मलको बिक्री वितरण बढेको हो ।

एकातिर सिरहामा रासायनिक मलको माग बढ्दै गएको छ भने अर्कोतिर जिल्लामा रासायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लहानमा वर्षेनी मलको आपूर्ति घट्दै गएकाले किसान समस्या परेका हुन् ।

आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा गत आर्थिक वर्षमा ३२ हजार ५०० बोरा डिएपी र छ हजार ४४० बोरा युरिया मलको आपूर्ति कम भएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा ९२ हजार ६८३ बोरा डिएपी र ८४ हजार ९६० बोरा युरिया मल आपूर्ति भएकोमा गत आर्थिक वर्षमा ६० हजार १८३ बोरा डिएपी र ७८ हजार ५२० बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानका प्रमुख मणिराज पौडेलले जानकारी दिए ।

उनका नुसार आर्थिक वर्ष २०७५÷०७६ मा २३ हजार ७७ बोरा युरिया र दुई हजार ४०० बोरा डिएपी मल आपूर्ति भएकोमा आव २०७४÷०७५ मा २६ हजार ७८८ बोरा युरिया र आठ हजार ५४९ बोरा डिएपी मल आपूर्ति भएको थियो । माग अनुसार आपूर्ति हुन नसक्दा जिल्लामा रासायनिक मलको हाहाकार हुने गरेको उनको भनाइ छ ।

त्यस्तै, आव २०७३÷०७४ मा ९५ हजार ३२० बोरा डिएपी मल र ९८ हजार ७०५ बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ । सिरहामा साउन महिनामा मात्र ३० हजार बोरा युरिया र त्यतिकै परिमाणमा डिएपी मल चाहिएकोमा हाल १५ हजार ८८५ बोरा युरिया र दुई हजार ८०० बोरा डिएपी मल आपूर्ति भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट सो परिमाणको मल प्राप्त भएपछि कोटा निर्धारण गरेर हिजोबाट सिरहाका स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरहरुमार्फत किसानलाई वितरण गर्न थालिएको छ ।

“हामीलाई गत शुक्रबार १५ हजार ८८५ बोरा युरिया र दुई हजार ८०० बोरा डिएपी मल मात्र प्राप्त भएको छ”, कार्यालय प्रमुख पौडलले भने, “मल आउने वित्तिकै बिक्री वितरण शुरु गरेका छौं ।” बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी सिफारिसका आधारमा सहकारी संस्थाका डिलरहरुमार्फत मलखाद्य वितरण शुरु गरेको उनको भनाइ छ ।

उनका अनुसार डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकोले समस्या हुदैँ आएको छ ।

डिएपी र युरिया मलको वर्षेनी आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले झण्डै आधा मूल्य बराबरको रासायनिक मल मात्र बिक्री गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा रु। २७ करोड ४३ लाख ७३ हजार ३४ मूल्य बराबरको मलखाद्य बिक्री गरेको कृषि सामग्री कम्पनी लहानले गत आर्थिक वर्षमा रु। १९ करोड ६५ लाख ६३ हजार ३१४ मूल्य बराबरको मात्र रासायनिक मल बिक्री गरेको कार्यालयका लेखाप्रमुख नारायण खडकाले जानकारी दिए ।

सिरहामा कृषि सामग्री कम्पनी र साल्ट्र टेड्रिङ्ग कम्पनीले गाउँ गाउँमा सहकारी संस्थामार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्री बितरण गर्दै आएको छ ।

धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढेपनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सिमा नाकामा भएको कडाइलगायत कारणले सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडलको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.