२०७८ साउन १२ गते १८:१६ विकासन्युज
काठमाडौं । नेपाल उद्योग परिसंघले अन्ततः उपाध्यक्षहरुको टुङ्गो लगाएको छ । धेरै जना उपाध्यक्षको लागि आकांक्षी भएपनि अन्ततः ७ जना परिसंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
परिसंघको उपाध्यक्षमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरी, आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाह, आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल, उद्योगी कृष्णप्रसाद अधिकारी, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र नेपाल आदर्श निर्माण कम्पनीका संचालक वीरेन्द्रबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।
परिसंघको अध्यक्षमा विष्णु कुमार अग्रवाल नियुक्त भइसकेका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका उनी परिसंघको प्रावधान अनुसार अध्यक्षमा नियुक्त भएका हुन् ।
परिसंघको विधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय परिषदका सदस्यहरू मध्येबाट उपाध्यक्षहरू चयन भएका हुन् । उनीहरुकाे सपथ ग्रहण मंगलबार नै सम्पन्न भएको छ।
परिसंघका अध्यक्ष अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने बताउनुभयो। औद्योगिकरण विना मुलुकको दीगो विकास असंभव रहेको भन्दै उहाँले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
यसैगरी परिसंघका निवर्तमान् अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत उत्पादकबाट उद्योगले विद्युत खरिद गर्न सक्ने तथा ‘मेक इन नेपाल स्वदेशी – अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए ।
परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे । उनले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.