सामाजिक सेवा गर्न आएको रेडक्रसले पनि तिरेन कर, अटेर गरेपछि भवनमै गएर माइकिङ गर्दै महानगर

  २०७८ साउन १३ गते ११:०६     विकासन्युज

काठमाडौं । सामाजिक सेवा गर्नको लागि नेपालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटीले सरकारलाई तिर्नुपर्ने कर नतिरी कानुन उल्लघंन गरेको पाइएको छ । सामाजिक सेवा गर्ने संस्था भएपनि रेडक्रसले व्यवसायी आम्दानी गरिररहेको र सो आम्दानी वापत कर भने नतिरेको हो ।

आर्थिक ऐन अनुसार सामाजिक कार्य गर्ने संस्थाहरुले कर छुट पाउने भएपनि त्यस्ता संस्थाले आफ्नो सम्पत्ति व्यवसायिक प्रयोजनमा प्रयोग गरी आम्दानी गरेमा कर तिर्नुपर्ने व्यवस्था काठमाडौं महानगरपालिकाको आर्थिक ऐनमा उल्लेख भएको महानगरका कर अधिकृत प्रदीप कोइरालाले बताए ।

‘रेडक्रस आफैमा कर छुट पाउने सामाजिक संस्था हो तर, उसले काठमाडौंको कालिमाटीमा व्यवसायिक भवन बनाएर भाडामा दिई आम्दानी गरिरहेको पाइएको छ, यस्तो आम्दानीबाट महानगरलाई कर बुझाउनु पर्ने भएपनि उसले कर बुझाएको छैन, त्यसैले समयमै कर तिर्न आउनु अन्यथा महानगरबाट प्रवाह हुने सेवा सुविधा अवरुद्ध हुनेदेखि व्यवसाय गर्नसम्म रोक लगाइन्छ भन्ने जानकारी सहितको माइकिङ गर्नको लागि जाँदैछौं,’ कर अधिकृत कोइरालाले विकासन्युजसँग भने ।

महानगरलाई तिर्नुपर्ने कर नतिरका ठूला करदाताको भवनमै गएर महानगरले माइकिङ गर्न लागेको छ । महानगरले आज (बुधबार) ११ बजे त्रिपुरेश्वरको एनआरटी क्लबबाट माइकिङ सुरु गर्ने कोइरालाले जानकारी दिए ।

महानगरले आज ६ वटा करदाताको भवनमा गएर माइकिङ गर्दैछ । यसरी माइकिङ गरिने करदाताहरुमा एनआरटीसँगै युनाइटेड वर्ल्ड ट्रेड सेन्टन, बागमती चेम्बर, बुद्धबारी कम्प्लेक्स, काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटी र नेपाल रेडक्रम सोसाइटी सोल्टीमोड रहेका छन् ।

महानगरलाई समयमै कर नतिर्ने २० ठूला करदातालाई ३० दिनभित्रमा कर तिर्न आउनको लागि महानगरले गत असार १६ गते सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो । यसरी सूचना प्रकाशित गरेपछि कर तिर्न नआएका करदाताको भवनमै गएर माइकिङ गरिन लागिएको हो । समयमै कर नतिरे महानगरबाट प्रवाह हुने सेवा अवरुद्ध हुनेदेखि त्यस्ता करदाताले गर्ने व्यवसाय नै रोक्नेसम्मको कारवाही हुन सक्ने महानगरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.