२०७८ साउन १५ गते १८:४१ तेजरत्न शाक्य
मेरो पुर्खा नै सुन व्यवसायमा छ । चार पाँच पुस्तादेखि यही व्यवसाय गर्दै आएका छौं । मैले थाहा पाएदेखि नै हाम्रो परिवारको व्यवसाय सुन व्यवसाय नै थियो ।
म आफै भने २०२२ सालदेखि सुन व्यवसायमा संलग्न छु । त्यतिबेला म १५/१६ वर्षको थिएँ । पढ्दाताकादेखि नै सुन व्यवसायमा संलग्न भएको हुँ ।
हाम्रो जातिगत व्यवस्थामा गठ्यामंगल (घण्टाकर्ण) मा औंठी लगायत गरगहना बनाउन सिकाउने चलन थियो । त्यो दिन सामान बेचेर आएको पैसा त्यस्ता नयाँ पुस्ताकै हुन्थ्यो । गठ्यामंगलको दिन फलामको औंठीदेखि लिएर धातुको औंठी बनाएर गहन बनाउन सिक्ने चलन थियो ।
बाबु बाजेले जहाँ पसल गरिरहेको हुन्थ्यो, त्यही एउटा कबलमा साना केटाकेटीलाई पसल चलाउन दिइन्थ्यो । त्यो पसलबाट बेचेको सामानको पैसा पनि ती केटाकेटी नै चलाउन पाउँथे । पहिला पहिला त घण्टाकर्णको दिन अस्थायी पसल राखिन्थ्यो । त्यसको साहुजी नयाँ केटाकेटी हुन्थे । केटाकेटी नै बनाएको हुन्थ्यो । हाम्रो रिती रिवाजमा फलामको औंठी लगाउनु पर्छ भन्ने छ । विभिन्न धातु मिसाइएको फलामको औंठी लगायो भने भूत प्रेत पिसाच भाग्छ भन्ने विश्वास थियो । अहिलेसम्म यो विश्वास कायम छ ।
गठ्यामंगल आउन लागेको एक महिना अघिदेखि स्कुलबाट बचेको समय यसरी तालिम दिइन्थ्यो ।
पहिला हामी एक पैसामा एउटा औंठी विक्री गर्थ्यौं । मैले साल चै बिर्से तर, एक वर्ष मैले गठ्यामंगलको दिन ५ रुपैयाँको व्यापार गरेको थिएँ । त्यो दिन मलाई लागेको थियो कि यो संसारको सबैभन्दा धनी मान्छे नै मै हूँ । मैले पित्तल र तामा मिसाएर बनाएको धातु र फलामको औंठीको व्यापार गरेको थिएँ । पन्चरत्न (तामा, पित्तल, चाँदी, सुन राखेर फलामको) औंठी बनाएको थिएँ । हामीले व्यापार सिक्ने र गहना बनाउन सिक्ने भनेको नै गठ्यामंगलको दिन थियो ।
पाँच रुपैयाँ कमाएको बेलामा पनि त्यो पैसा मेरै भएको थियो । त्यो दिनको लागि हामीले धातु किन्नु पर्ने हुदैन । धातु लगायत जे जति सामान चाहिन्छ त्यो बुबाहरुले नै किनिदिनु हुन्थ्यो । आफ्नो पुख्र्याैली व्यवसायमा लागोस् भनेर प्रोत्साहन गर्ने काम त्यसरी हुन्थ्यो । तर, त्यो पाँच रुपैयाँ केमा खर्च गरें भन्ने मलाई अहिले याद छैन । तर, त्यो दिन म असाध्यै खुसी भएको थिएँ । संसारकै सबैभन्दा ठूलो मान्छे म नै हूँ भन्ने अनुभूति भएको थियो । त्यो क्षण म आज पनि सम्झन्छु । कहिल्यै विर्सिन्न ।
धातु र किंवदन्तीको सम्बन्ध
हाम्रो शरीरदेखि सम्पूर्ण सृष्टी पञ्चधातुमा आधारित छ । पञ्चधातु भनेको सुन, चाँदी, तामा, फलाम र पित्तल हो । मानिस पनि पृथ्वीकै उत्पादन हो । धातु पनि पृथ्वीकै उत्पादन हो । ज्योतिषविज्ञान र धातु सम्बन्धि अन्य विज्ञानले पनि धातु र मानव जीवनको सम्बन्ध छ भन्छ । मानिसले आजसम्म पनि ग्रहको लागि हिरा मोतीदेखि लिएर नवरत्न लगाउने गर्छन् । यस्तै सम्बन्ध धातुको पनि छ । मानव जीवनमा आइपर्ने वा आएका समस्या र अप्ठेराहरुलाई धातुले सहजीकरण गरिदिन्छ ।
धातु, पथ्थर वा मानिसको जीवनको सम्बन्ध अन्धविश्वास मात्रै होइन । विज्ञानले पनि पुष्टी गरेको विषय हो । जस्तो कि मेडम क्युरीले रेडियम पत्ता लगाउनु भयो । त्यो पत्ता लगाउने क्रममा धेरै मासिकको ज्यान गयो । त्यसको ‘टेष्ट’ गर्ने क्रममै ५/७ जना वैज्ञानिकले ज्यान गुमाउनु परेको थियो । रेडियमलाई केहीले रोक्नै सक्दैन । तर, त्यसलाई सिसाले रोक्छ । सिसा त आगोमा देखाउने वित्तिकै गलेर जान्छ । तर, रेडियम जस्तो शक्तिशाली बस्तुलाई यसले रोक्छ । त्यसैकारण रेडियमलाई सिसाको बाकसमा राख्ने गरियो ।
एटोमिक इनर्जीको त नयाँ नयाँ अनुसन्धान भइरहेको छ ।
अर्काे, विद्युततिर लाग्यौं । ‘स्पाक्र्लिङ’ हुने धेरै जस्तो बस्तुहरुमा तामाको प्रयोग हुन्छ । पित्तलको पनि प्रयोग हुन्छ । तामा र पित्तलको प्रयोगले राम्रोसँग ‘फ्लो’ हुने भयो । त्यसमा गडबड नहोस् भनेर चाँदीको प्रयोग हुन्छ । यसैकारण पछिल्लो समय विज्ञान प्रविधिमा चाँदीको बढी प्रयोग हुन थालेको छ । सुनको पनि प्रयोग हुन थालेको छ । यसैकारण अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य बढ्ने भयो भनेर लगानीकर्ताहरुले सुन विक्री गरेर चाँदी किनेका थिए ।
यस्तै, सुनको कुरा गरौं । आयुर्वेदमा सुनको महत्व असाध्यै धेरै छ । सुवर्ण भष्म शक्तिको सबैभन्दा बलियो स्रोत हो । मान्छेहरु ‘कोल्याप्स’ हुने अवस्थामा पनि सुवर्ण भष्म दियो भने त्यसले ‘रिभाइभ’ गर्छ । पहिला पहिला हामीहरु गुइठा बालेर सुवर्ण भष्म बनाउँथ्यौं । यस्तै, मोति भष्म, लोहा भष्मको पनि महत्व र उपयोगिता छ । यस्ता भष्महरुलाई औषधीको रुपमा प्रयोग गर्ने गरिएको छ । यस्तो किन भयो भने मानिसदेखि यी सबै धातुको उत्पत्ति पृथ्वीबाटै हुने हो । मान्छे र धातुको सम्वन्धका बारेमा पहिला विश्वास थियो भने अहिले विज्ञान प्रविधिले पुष्टी पनि गरिरहेको छ । त्यसैकारण धातु र मानव जीवन सँगै रहन्छ जस्तो मलाई लाग्छ ।
हातका सबै औंलामा औठी लगाउनु पर्छ ?
कसै कसैले हातका औंलाभरि औंठी लगाएको देखिन्छ । यो भनेको बढी ‘क्रेजीनेस’ हो भन्ने मलाई लाग्छ । संसारमै सबैभन्दा धेरै औंठी लगाउने भारतीयहरु हुन् । भारतमा अन्धविश्वास पनि बढी छ । औंठी पनि धेरै वटा लगाउने गरिएको पाइन्छ । त्यति धेरै औंठीहरु लगाउनु पर्छ भन्ने मलाई लाग्दैन ।
धातुको सम्बन्ध मानव जीवनसँग छ । असर गर्छ । तर, त्यसमा ‘टाइम फ्याक्टर’ हुन्छ । नवरत्नको प्रयोग गर्ने भनेको ग्रहसँग सम्बन्धित विषय हो । ग्रहहरु समयचक्रसँग चल्छन् । हामीलाई सबैभन्दा अप्ठेरो पार्ने भनेको उल्का दशाले हो । उल्का दशा जम्मा १५ दिन मात्रै चल्छ । सबैभन्दा लामो समय अर्थात ११ वर्षसम्म बृहस्पति ग्रह चलेको हुन्छ । त्यसैकारण ग्रहको आआफ्नो भूमिका अनुसार समय परिवर्तन भएको हुन्छ । त्यसैकारण ग्रहदशासँग सम्बन्धन राम्रो बनाउनको लागि समय मिलाएर एउटा वा दुईटा औंठी लगाए हुन्छ भन्ने मलाई लाग्छ ।
सुन व्यवसायी कि ज्योतिष ?
हामी सुन व्यवसायी हौं । सुन जस्ता धातुको काम गर्ने भएपछि ज्योतिष विज्ञानबारे जानकारी राख्नै पर्छ । ज्योतिष विज्ञानको मात्रै होइन, रसायन विज्ञानको ज्ञान पनि हामीलाई आवश्यक पर्छ ।
जस्तो कि माटोदेखि विभिन्न प्रकारका एसिड हामीलाई चाहिन्छ । हामीलाई काम गर्न रातो माटो चाहिन्छ । अहिले आएर नाइटिङ एसिड, हाइड्रोक्लोरिक एसिड, सल्फरिक एसिड लगायतका धेरै एसिड आवश्यक पर्न थालेको छ । त्यसको प्रयोग गर्नुपर्छ । कलरिङ, फिनिसिङ, कटिङ गर्न एसिड चाहिन्छ । अचेल त रोडियम पालिस पनि गर्नुपर्ने भएको छ । यस्ता कार्यमा एसिड चाहियो । त्यसैले सबैखाले ‘एलिमेन्ट्री नलेज’ राख्न आवश्यक छ । होइन भने हामी ‘पर्फेक्ट’ कालिगढ हुन सक्दैनौं ।
अर्काे एउटा उदाहरण दिऊँ । यो कुरा हामीसँग प्रत्येक्ष सम्बन्ध भएको कुरा त होइन । तर, ‘रेफरेन्स’को रुपमा लिन सकिन्छ । केही समयअघि मात्रै राजेश शाक्य भन्ने पाटनको एक जना शिल्पकारले भुटानमा गएर ११०-११२ फिटको बुद्धको ठूलो मूर्ति बनाएको थियो । यो कार्यमा उसको खास भूमिका भनेको त पाता बनाउने र मूर्तिको स्केच बनाउने मात्रै हुनुपर्ने हो । तर, त्यहाँ राजेश शाक्यको अगुवाईमा काम भयो । उसले डकर्मी, इन्जिनियर, इलेक्टिसियनको सहायता लिनुपर्ने भयो ।
कहाँबाट आयो नेपालमा कालिगढी ज्ञान ?
नेपालका नेवार समुदायले लामो समयदेखि धातुको गरगहना तथा मूर्ति बनाउने ज्ञान प्राप्त गरेका छन् । उनीहरुले आफ्नो बाबु बाजेमा भएको परम्परागत ज्ञान नै बाढेर यहाँसम्म ल्याइपुर्याएका हुन् ।
मेरै कुरा गरौं न । २०२५ सालतिर एउटा गहनाको फिनिङ गर्नुपर्ने काम आयो । बाहिरको एउटा कष्टुमरले झुम्का बनाउन अर्डर गर्यो । तिमीले यो काम गर्न सक्छौं भनेर मलाई भन्यो । मलाई एउटा डिजाइन देखायो पनि । अरुले सक्ने काम हामीले किन नसक्ने भनेर मैले बनाउने जिम्मा लिएँ । बढो कष्टका साथ डिजाइन अनुसार झुम्का त बनाएँ तर, फिनिसिङ गर्न सकिनँ । उज्यालो बनाउन जुन पालिस गर्नुपर्ने थियो, त्यो गर्न मलाई गाह्रो पर्यो । त्यो झुम्काको फिनिसिङका लागि मैले कयौं मानिससँग सम्पर्क गर्नुपर्यो ।
पहिला हामीले नुन, फिटकिरी, कन्भिसोडा मिसाएर लेप बनाएर कलरिङ गथ्र्याैं । गण्डकको पनि प्रयोग गथ्र्याैं । तर, यस्ता सबै बस्तुहरु कच्चा बस्तुको रुपमा मात्रै हुन्थे । हामी आफैले औषधीको मात्रा मिलाए जस्तै गरी मिलाएर कलरिङ गथ्र्याैं । तर, त्यो बेलाको नयाँ स्टायलको झुम्काको कलरिङ गर्न सकिनँ । मैले विभिन्न मान्छे भेटेर सहयोग प्राप्त गर्न खोजे पनि मेरो काम भएन । मेरो एक जना भिनाजु विदेशी हुनुहुन्थ्यो । उहाँसँग समन्वय गरेर प्रविधि प्राप्त गरेपछि त्यो झुम्का कलरिङ गर्न सकेँ । मैले त्यो झुम्का डिजाइन जस्तै बनाउन सकेपछि ‘अब तिमीले जे काम पनि गर्न सक्छौं’ भन्ने मौखिक तारिफ पनि पाएको थिएँ ।
सुन व्यवसायी वा कालिगढ किन रोगी हुन्छन् ?
हामीले पनि एसिडमै काम गर्नुपर्छ । सावधानी अपनाएरै काम गर्नुपर्छ । तर, पनि हाम्रो काममा त्यति धेरै जोखिम छैन । हामीले प्रयोग गर्नुपर्ने पोटासियम साइनेट भनेको विष नै हो । धातुको रिफाइन गर्नको लागि यसको प्रयोग गर्नुपर्छ ।
यस्तो समस्या गहना बनाउनेहरुमा भन्दा पनि मूर्ति बनाउनेहरुमा बढी छ । यो समस्या थाहा पाउन पाटन जानुपर्छ । मूर्ति बनाउनको लागि मर्करीको प्रयोग गर्नुपर्छ । मर्करीले सबैभन्दा पहिला दाँतमा असर पुर्याउँछ ।
केही समयअघि हाम्रो विज्ञान मन्त्रालयले एउटा कार्यक्रम गरेको थियो । त्यो कार्यक्रममा मैले पनि भाग लिएको थिएँ । म सुनचादी व्यवसायी महासंघको अध्यक्ष थिएँ । मर्करीले स्वास्थ्य समस्या ल्यायो, यसलाई कसरी विस्थापन गर्ने भन्ने विषयमा छलफल चलेको थियो । यसको विकल्प के हुन सक्छ भन्ने विषयमा पनि कुरा भएको थियो ।
तर, मूर्तिको जलप लगाउने कार्यको लागि मर्करी नभई हुँदैन । इलेक्ट्रोप्लेटिङ पनि हुन्छ । इलेक्ट्रोप्लेटिङले लाइट मात्रै हुन्छ । दिगो हुँदैन । जलप लगाएपछि दियो हुन्छ । त्यसको लागि सुनको धुलो बनाउनै पर्छ । सुन धुलो हुने भनेको मर्करीमा मात्रै हो । सुन धुलो (डष्ट) बन्ने अर्काे विकल्प भनेको नाइटिक एसिड र हाइड्रोक्लोरिक एसिडको मिश्रणमा हो । यसरी डस्ट बनाइएको सुनले जलप लगाउन मिल्दैन । मर्करीमा भाङ मिलाएर गरिदियो भने सुनको डष्टले मूर्ति जलप गर्न सकिने भयो । स्थायी पनि हुने भयो ।
मर्करीबाट सबैभन्दा पहिला ग्यास आउने भयो । त्यो ग्यास सबैभन्दा पहिला मुखमा पर्छ । त्यसैको कारण दाँत खतम हुने भयो । दाँतपछि हड्डीमा असर पर्छ । त्यसैकारण मर्करी प्रयोग गर्ने मान्छेहरुको औंला कक्रिएर जाने गरेको हो । पछि मुटुमा असर पर्छ । त्यसैले मर्करीको प्रयोग गर्दा सावधानी अपनाउने परिस्थिति निर्माण गर्न सरकारले सहजीकरण गरिदेओस् भन्ने मेरो सुझाव थियो । हुँदैन भनेर हाम्रो कला संस्कृति नै सकिने थियो ।
अनि श्रीपेचको मूल्य तोकिएन
२०६२/६३ को जनआन्दोलनपछि देश गणतन्त्रात्मक व्यवस्थामा जाने कुरा भयो । राजाले दरबार छोडेर जाने र दरबारमा भएका सबै सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण गर्ने भन्ने कुरा भयो ।
दरबारसँग हाम्रो देशको सबैभन्दा महत्वपूर्ण बस्तु श्रीपेच पनि थियो । मेरो नेतृत्वको टोलीले दरबारले बुझाएको श्रीपेच ठीक छ कि छैन भनेर जाँचेको हो ।
हाम्रो श्रीपेचमा हिरा, पन्ना, मोती, माणिक लगायत बहुमुल्य धातुहरु छन् ।
दरबारले श्रीपेच पनि नेपाल सरकारलाई बुझाउने भएपछि तत्कालिन बाणिज्य सचिव पुरुषोत्तम ओझाले फोन गर्नुभयो । दरबारले बुझाउन लागेको श्रीपेच सक्कली हो कि होइन भनेर हेर्नुपर्ने छ, कसलाई देखाउने भनेर उहाँले भन्नुभयो । मैले हुन्छ म हेर्छु भनेँ । सामान्य मन्त्रालयका सचिव गोविन्द कुसुमको नेतृत्वमा एउटा समिति थियो । त्यो समितिमा गृह सचिव उमेश मैनाली पनि हुनुहुन्थ्यो । रक्षा सचिव पनि हुनुहुन्थ्यो । सेनाको व्रिगेडियर जनरल हुनुहुन्थ्यो । त्यो समितिले श्रीपेचमा भएका बस्तुहरु धमाधम खोल्यो । हामीले त्यहीँ टेष्ट गर्यौं । दरबारमा भएको रेकर्डसँग भेरिफाइ गर्यौं । सबै कुरा ठिक पाइएपछि यो ठीक छ, सक्कली श्रीपेच हो भनेर मैले पनि हस्ताक्षर गरेको छु ।
यसरी नेपालको इतिहासमा असाध्यै महत्वपूर्ण काम (श्रीपेच जाँच्ने काम) गर्ने सौभाग्य मैले पनि पाएको छु । श्रीपेच छुँदा असाध्यै ‘एक्साइटेड’ हुँदो रहेछ । हुन त म केटाकेटी हुँदा कै बखतमा राजा रजौटाहरुको ३/४ वटा श्रीपेच छोइसकेको थिएँ । जुम्ला, गल्कोट र बझाङका रजौटाहरुको श्रीपेच मैले पहिला नै छोएको थिएँ । तर, ती श्रीपेच साना हुन्थे । खाली कल्की (चरा) हुन्थ्यो । राजाले प्रयोग गर्ने श्रीपेच भने आफ्नै विशेषतासहितको हुने नै भयो ।
म जाने वित्तिकै सो समितिले श्रीपेच भ्यालुएसन (मूल्यांकन) गर्नु पर्यो भन्यो । मैले दोहोर्याएर-यसको भ्यालुएसन गर्नुपर्ने कि आइडेन्टिफिकेसन (पहिचान) गर्नुपर्ने भनेर सोधे । उनीहरुले यो प्रश्न किन गरेको भनेर मलाई सोधे । मैले भ्यालुएसन गर्ने भए म गर्न सक्दिन भनेँ । भ्यालुएसन गर्न सकिदैन र गर्नुपनि हुँदैन भन्ने मेरो अडान थियो ।
नेपालको पहिचानको मोलमोलाई गर्न मिल्दैन भन्ने मेरो तर्क रह्यो । नेपालको श्रीपेचको मूल्यांकन गर्ने कार्य मानवता विरोधी, नेपाल विरोधी र हाम्रो इतिहास विरोधी कार्य हुन्छ भन्ने मेरो कुरा थियो । मैले यही कुरा राखें । श्रीपेच भनेको नेपालको लागि अनमोल चिज हो । अनमोल चिजको मूल्य नै हुँदैन । मेरो कुरामा त्यहाँ हुनुभएका ४/५ जना सचिवहरु सहमत हुनुभयो । अनि श्रीपेचको मूल्यांकन गरिएन, दरबारमा भएको रेकर्डसँग भिडाएर भेरिफिकेसन मात्रै गरियो ।
दरबार संग्राहलय सर्वसाधारणको लागि खुल्ला भएपछि पनि केही समयसम्म श्रीपेच राखिएको थिएन । त्यसलाई कसरी संरक्षित रुपमा त्यहाँ राख्न सकिन्छ भनेर हामीले पनि केही सुझावहरु दिएका थियौं । समितिको दोस्रो मिटिङमा बेलायतको महारानीको खास श्रीपेच संरक्षित रुपमा राखिएको र हाम्रो पनि त्यसै गरी राख्न सकिने सुझाव हामीले दिएका थियौं । अहिले हाम्रो श्रीपेच त्यही विधि अपनाएर राखिएको थियो ।
कति सुन बेचियो होला अहिलेसम्म ?
मेरो व्यापार मध्यम खालको हो । ठूलो व्यवसायी म होइन । म वार्षिक ४ देखि ५ केजी सुन विक्री गर्छु । २०२२ सालदेखि सुन व्यवसायमा संलग्न छु भने अहिलेसम्म कति सुन बेचेँ होला ? यसको हिसाव मैले चै गरेको छैन ।
सबैभन्दा बढी सुन कति लगाइयो एकैपटक ?
हामी त अरुलाई लगाउन सुन दिने व्यक्ति हो । हामीले लगाउने होइन (लामो हाँसो) । अहिले हातमा दुईटा साना औंठी लगाएको छु । यही हो मैले लगाएको सुन । केही वर्ष पहिला घाँटीमा एउटा सिक्री लगाएको थिएँ । अहिले त त्यो पनि छोडेँ । जनसमुदायलाई सजाउने हाम्रो काम हो ।
(विकासन्युजका लागि शिव सत्यालसँगको कुराकानीमा आधारित)
Copyright © 2024 Bikash Media Pvt. Ltd.