२०७८ साउन १८ गते १०:४० विकासन्युज
काठमाडौं । नेपाल ग्यास इन्डस्ट्रिजले उद्योगहरुलाई उपयोगी हुने गरी ४५० किलोग्राम उत्पादन थालेको छ । उद्योगहरुको लागत कम गर्ने र उद्योगबाट हुने वातावरणीय प्रदुषण कम गर्ने उदेश्यले नयाँ उत्पादन थालिएको कम्पनीका अध्यक्ष गुणचन्द्र विष्टले बताए । यो ग्यासको प्रयोगसँगै उद्योगलाई काम गर्न पनि सजिलो हुने र सुरक्षित पनि हुने उनकाे भनाई छ ।
‘उद्योगका इनिर्जी खर्चमा २० देखि ५० प्रतिशत कम हुन्छ, सस्तो पनि हुन्छ, सुरक्षित पनि छ, सजिलो पनि छ र वातावरण प्रदुषणमा ९९ प्रतिशत कमी आउँछ,’ विष्टले विकासन्युजसँग भने । उनका अनुसार कोइला, भुस, दाउरा, फर्निस आयल बालेर प्रयोग हुने उर्जालाई नेपाल ग्यासले विस्तावित गर्नेछ ।
विदेशमा उद्योगहरुले नेचुरल ग्यास प्रयाेग गर्छन् । नेपालमा नेचुरल ग्यास छैन । त्यसको विकल्पमा नेपाल ग्यासले एलपी ग्यासलाई ठूलो सिलिण्डरमा बोटलिङ गरेर बिक्री गर्न लागेको हो ।
इट्टा भट्टा बाहेक सबै प्रकारका उद्योगलाई नेपाल ग्यास उपयोगी हुने उनले बताए । हाल १४.२ केजीका ग्यास सिलिण्डर प्रयोग गर्दै आएका ठूला होटलहरुको लागि पनि यो ४५० केजीका सिलिण्डर उपयोगी हुने उनले बताए ।
‘ठूलो ग्यास सिलिण्डर प्रयोग गर्दा चुहावट पनि रोकिन्छ, ग्यास पुरै खपत हुने भएकोले लागत पनि कम हुन्छ,’ उनले भने । १४.२ केजीका सिलिण्डर घरमा पनि प्रयोग हुने र होटलमा पनि प्रयोग हुने हुँदा होटलहरुबाट ग्यासको चुहावट हुने गरेको छ ।
‘साना सिलिण्डर मान्छेले बोकेर हिड्न सक्छ, ४५० केजीको सिलिण्डर क्रेनले मात्र उचाल्न सक्छ’ उनले भने ।
साथै १४.२ केजीका सिलिण्डर पुरै ग्यास प्रयोग नहुने तर ४५० केजीको ग्यास सिलिण्डरबाट लगभग १०० प्रतिशत ग्यास उपभोक्ताले प्रयोग गर्न सक्ने उनको भनाई छ ।
४५० केजीको ग्यास सिलिण्डर बनाएर यसको उत्पादन र परीक्षणको काम सकिएको उनले बताए । ‘हामीले नेपाल ग्यास र ग्रुप अन्तर्गतका कम्पनीहरुमा प्रयोग गरिसक्यौं, उत्पादन तथा प्रयोग परीक्षण दुबैमा हामी सफल भएका र्छौ,’ विष्टले भने ।
यसको बिक्री वितरण भने साना सिलिण्डरकै शैलीमा हुने उनकाे भनाई छ । ‘ग्यास ट्याङ्कीको लागत बराबर धरौटी राखेर ग्यास बिक्री गर्छाैं, उद्योगसम्म पुर्याउने काम हामीले नै गर्छौ, ४५० केजीको ग्यास मान्छेले बोक्न नसक्ने भएकोले क्रेनले ग्यास सम्बन्धित ठाउँमा राखिदिनेछ,’उनले भने ।
यस्तो ग्यासको वार्षिक खपत अर्बाैं रुपैयाँ बराबर हुने उनले बताए । ‘बजार धेरै ठूलो छ, माग अनुसार हामी उत्पादन क्षमता विस्तार गर्दै जान्छौं, ठूला सिलिण्डरको उत्पादन र बोट्लिङ दुबै काम नेपाल ग्यास इन्डस्ट्रिजले गर्ने छ, नयाँ उत्पादनको ब्राण्ड नेम पनि नेपाल व्यास नै राखिने,’उनले भने ।
‘हामीले नेपाल ग्यासको तौल, गुणस्तर र सुरक्षाको सबालमा आम उपभोक्ताको विश्वास जितेको छौं, हाम्रो नयाँ प्रडक्ट पनि ‘नेपाल ग्यास’ ब्राण्डमा नै आउँछ,’ विष्टले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.