२०७८ साउन १८ गते १५:०२ विकासन्युज
फाइल फाेटाे
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको तेस्रो लहरको जोखिम बढ्ने संकेत गर्दै सबै परीक्षा रोक्ने तयारी गरेको छ । मन्त्रालयले कक्षा १२ सहित विभिन्न विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा रोक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव गरेको हो ।
सोमबार स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगनको तयारी भएको बताएका हुन् ।
‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजनाको बुँदा नम्बर ११ मा भनिएको छ ।
परीक्षा स्थगनबारे निर्णय भने भइसकेको छैन । उनले स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी छिटै निर्णय लिने बताए ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म गर्ने भनी परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको थियो । विद्यार्थीले होम सेन्टरबाटै १०० पूर्णङ्कको परीक्षा दिने व्यवस्था गरिएको थियो ।
जेठ २६ गते तय भएको कक्षा १२ परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.