निषेधाज्ञा कडाई गर्दै प्रशासन, मापदण्ड पालना नगर्नेलाई कारवाही

  २०७८ साउन १९ गते १०:२७     विकासन्युज

काठमाडौं । पछिल्लो समय निषेधाज्ञा केही खुलुको भएसगैँ कोरोना संक्रमितको संख्यामा वृद्धि हुनथालेपछि निषेधाज्ञालाई कडाई पारिने भएको छ ।

कोभिड संक्रमण नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञाको उल्लंघन बढ्न थालेको भन्दै स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा अनुगमन गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौंले उपत्यकामा निषेधाज्ञाको पालना भए नभएको अनुगमन गर्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य मापदण्डको पालना भए नभएको विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन गरी तीन जना सहायक प्रमुख जिल्ला अधिकारीमध्ये एक जनाको नेतृत्वमा भोलीदेखि अनुमगन गर्न लागिएको हो ।

आज अनुगमनको मोडालिटी बनाएर भोलीबाट अनुगमनमा निस्कने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । उनका अनुसार सुरुवाती चरणमा उपभोक्ताको बढी भिडभाड हुने स्थानको अनुगमन गरिनेछ ।

‘पहिलो चरणमा मास्कलाई अनिवार्य गर्दै जनस्वास्थ्यको मापदण्डको पालना भए नभएको विषयमा हाम्रो ध्यान केन्द्रीत हुन्छ । सामान्य रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुस भनेर सम्झाउने बुझाउने हो । यदि पालना नभएमा कानुनले तोके अनुसार आर्थिक जरिवानादेखि थुनामा राख्नेसम्मका कारवाही हुन्छ’, उनले भने ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसगैँ संक्रमितको संख्यामा उच्च वृद्धि भएको छ । बजार अनुगमन गरी निषेधाज्ञामा कडाई गर्नुको विकल्प छैन ।

संक्रमण नियन्त्रणको लागि बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक सवारी साधनलाई प्राथमिकतामा राखेर अनुगमनको तयारी भएको छ ।

संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलिदेखि सकिँदैछ । सरकारले उपत्यकामा पुनः निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ ।

यस विषयमा आज बस्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठकमा छलफल हुनेछ । ‘भोलिसम्म उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको पनि बैठक बस्नेछ,’ प्रजिअ पराजुलीले भने, ‘त्यही बैठकबाट हामी निषेधाज्ञा बारे थप निर्णय गर्ने छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.