२०७८ साउन १९ गते १३:५७ विकासन्युज
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘चेक नचल्ने नियम खारेज गर्छु , सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बंैक तथा गाँउ गाँउमा रहेका लघु वित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु , बरु सहकारी बैंकहरुले नाफाको लागि प्रतिष्पर्धा नगर्नुस्, उत्पादन र रोजगारी सृजनामा प्रतिष्पर्धा गर्नुस्, उनले भने ।
उनले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकको साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताए । उत्पादनमुखी अर्थतन्त्रमा टेवा पु¥याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनु पर्ने उनको भनाई छ । त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्ने उनले बताए ।
उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने बताउँदै उनले सहकारी संस्थाहरूले नाफाको प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरिबी अन्त्य गर्ने तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे ।
मन्त्री शर्माले ऋण प्रवाहमा रहेको असमानता समेत हटाउन पहल गरिने बताए । ‘गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ, कर्जा प्रवाहमा व्याजदर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघु वित्त संस्थाहरुलाई आग्रह गर्छु,’ उनले भने ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल, पत्रकार शर्मिला ठकुरी, राष्ट्रिय सहकारी बैंकका उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको छ । मंगलवार सुरु भएको ‘सहकारीमा लघु वित्त सम्मेलन–२०७८’ भोलिसम्म चल्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.