बैंकहरुको बागडोर नयाँ पुस्ताले सम्हाल्दै, डेपुटीबाट धमाधम सीईओ

  २०७८ साउन २५ गते १४:०५     सन्ताेष राेकाया

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंक व्यवस्थापनको नेतृत्वमा नयाँ पुस्ताको प्रवेश बढेको छ । वाणिज्य बैंकहरुमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा काम गरिरहेका व्यक्तिहरुको अवकाश तथा कारणवस जागिर छोड्दै गएपछि नेतृत्व तहमा नयाँ पुस्ताले प्रवेश गर्ने अवसर पाएका हुन् । पछिल्लो केही महिनामै केही बैंकहरुमा सीईओहरु बैंकबाट बिदा भएपछि त्यसको नेतृत्व सोही बैंकमा कार्यरत डेपुटी सीईओले सम्हाल्दै आएका छन् ।

कतिपय बैंकहरुले डेपुटी सीईओलाई नै सीईओका रुपमा नियुक्त गरिसकेका छन् भने कतिपयले कामु सीईओका रुपमा नियुक्त गरेका छन् । उनी कामुका रुपमा नियुक्त भएपनि केही समयपछि उनीहरुलाई नै बैंकको सीईओको रुपमा नियुक्त गर्ने योजना बैंकहरुको रहेको जानकारहरु बताउँछन् ।

पुराना पुस्ताका सीईओले बैंकको व्यवस्थापनबाट बिदा लिएपनि बैंक सञ्चालकहरुले नयाँ सीईओ खोज्ने बारे कुनै चासो देखाएको देखिँदैन । किनकि उनीहरुको योजना पनि बैंकमै कार्यरत डीसीईओलाई नै सीईओको रुपमा नियुक्त गर्ने रहेकाे छ । नयाँ पुस्ता पनि नेतृत्वका लागि तयार भइसकेको देखिन्छन् ।

सिभिल बैंकमा पोखरेल

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल कुमार पोखरेल नियुक्त भएका छन । बैंकका सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि उनी बैंकको सीईओमा नियुक्त भएका हुन् ।

यसअघि सिभिल बैंकको निमित्त सीईओका रुपमा काम गर्दै आएका सुनिल पोखरेल हाल सोही बैंकको सीईओको रुपमा काम गरिरहेका छन् । उनलाई बैंक संचालक समितिले चार वर्षको लागि सीईओमा नियुक्त गरिसकेको छ ।

बैंकका सीईओ गोविन्द गुरुङले सीईओ पद छोडेपछि उनले बैंकको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पोखरेल अनुभवी बैंकरका रूपमा परिचित छन् । उनीसँग विदेशी बैंकदेखि नेपाली बैंकहरूमा पनि लामो समयसम्म काम गरेको अनुभव तथा कार्यकौशलता छ ।

उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । त्यसपछि उनले एनआइसी एसिया बैंकमा करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि उनले एक वर्ष काम गरेको अनुभव छ । उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे ।

त्यसैले पनि उनलाई धेरैले विदेशी बैंकिङ सम्बन्धि राम्रे ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा चिन्छन् । विदेशी बैंकसँग करिब ३ वर्ष काम गरेको अनुभव पोखरेलसँग छ । उनले तीन दशक बढी समय बैंकिङ क्षेत्रमै काम गरिसकेको छन् । उनको कार्यकौशलता देखेर नै बैंकले उनलाई नेतृत्व सुम्पेको बुझ्न सकिन्छ ।

कुमारीमा तिमिल्सिना

कुमारी बैंकमा सीईओका रुपमा काम गरिरहेका सुरेन्द्र भण्डारीले बैंकबाट अवकाश पाएसँगै बैंकको नेतृत्वको अवसर अनुजमणि तिमिल्सिनाले पाएका छन् । उनलाई बैंक सञ्चालक समितिले साउन १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

साढे तीन दशक बढी समय बैंकमै बिताएका भण्डारी पुरानो पुस्ताको बैंकरका रुपमा परिचित छन् । उनी बैंकबाट बाहिरिएपछि बैंक सञ्चालकले नयाँ पुस्तालाई अवसर दिएको हो ।

यसअघि सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रहेर काम सम्हालेका तिमिल्सिना अनुभवी बैंकर हुन् । कुमारी बैंकले उनलाई नै सीईओ बनाउने तयारी गरिएको बताइएको छ । तर, अहिले पनि उनले नै बैंकको सम्पूर्ण नेतृत्व सम्हालिरहेका छन् ।

न्यौपानेलाई सेञ्चुरी बैंकको नेतृत्व

सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतमले राजीनामा दिएसँगै बैंकको नेतृत्व गर्ने अवसर मनोज न्यौपानेले पाएका छन् । सीईओ गौतमले व्यक्तिगत कार्य व्यस्तताको कारण देखाउँदै बैंकको सीईओबाट राजीनामा दिएसँगै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका न्यौपानेले कार्यवाहकको भूमिका पाएका हुन् ।

उनी बैंकमा २०७६ असार ३० गते नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए । लक्ष्मी बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका न्यौपानेले त्यसअघि सेञ्चुरीमै २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा रहेर काम गरेका थिए ।

हिमालयन बैंक तथा सनराईज बैंक गरी करिब १७ वर्षको अनुभव न्यौपानेसँग छ । उनले काठमाडौं विश्व विद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् । सेञ्चुरी बैंकले पनि अहिले बजारमा सीईओ खोजिरहेको छैन । हाल कामु सीईओको रुपमा काम गरिरहेको उनलाई बैंकले सीईओको भूमिकामा राख्ने तयारी गरिरहेको पनि बुझिएको छ ।

मास्केले पाए बैंक अफ काठमाण्डूको नेतृत्व

बैंक अफ काठमाण्डूको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवणलाल मास्केले पाएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शोभनदेव पन्तले बैंकबाट अवकाश पाएसँगै श्रवणलाल मास्केले कामु सीईओको जिम्मेवारी पाएका हुन् ।

चार वर्षअघि बैंकको सीईओमा नियुक्त भएका पन्तले बैंकबाट अवकास पाएसँगै मास्केले बैंकको नेतृत्व गर्ने अवसर पाएका हुन् । बैंकिङमा साढे तीन दशक बढी अनुभव मास्केसँग छ । उनले नबिल बैंकबाट बैंकिङ करिअर सुरु गरेका हुन् ।

यस्तै, उनी यसअघि लुम्बिनी बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका मास्के बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच मर्ज भएपछि उनी नायब प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सिद्धार्थ बैंकमा कँडेल

सिद्धार्थ बैंकको नेतृत्व गर्ने अवसर सुन्दरप्रसाद कँडेलले पाएका छन् । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका शम्भुनाथ गौतमको कार्यकाल सकेर उनले राजीनमा दिएसँगै बैंक सञ्चालकले कँडेललाई बैंकको नेतृत्वको जिम्मेवारी दिएको हो ।

नायब प्रमुख कार्यकारी अधिकृत रहेका उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । सिद्धार्थ बैंकले पनि सीईओको खोजी गरिरहेको छैन । कामु सीईओ कँडेलललाई नै सीईओको जिम्मेवारीमा राख्ने तयारी बैंकले गरेको छ ।

सानिमामा पनि विकल्प खोजिँदै

हाल सानिमा बैंकमा भुवन दाहाल प्रमुख कार्यकारी अधिकृत छन् । चार वर्ष अगाडि बैंकको सीईओमा नियुक्त भएका उनको कार्यकाल ५ महिनापछि सकिँदैछ ।

दाहालले सानिमामा दुई कार्यकाल काम गरिसकेका छन् । उनी २०७४ कात्तिकमा दोस्रो पटक ४ वर्षका लागि नियुक्त भएका थिए । अब भने उनी तेस्रो पटक सीईओमै नियुक्त हुने मनसायमा छैनन् । त्यसैले पनि उनको विकल्प सञ्चालक समितिले बैंकभित्रैबाट खोजिरहेको हो ।

नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका दाहाललाई बिदाई गरेर बैंकभित्रैबाट नयाँ सीईओ बनाउने योजनामा सानिमा बैंक सञ्चालक समितिको तयारी रहेको बुझिएको छ । हाल सानिमा बैंकको नायम प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द छन् । उनलाई नै कामु सीईओको भूमिकामा राखेरपछि सीईओमा नियुक्त गर्न सकिने योजना सञ्चालक समितिको रहेको छ ।

पछिल्लो समय लगालग चार वटा वाणिज्य बैंकबाट पुराना सीईओ बिदा भएका छन् । खालि भएका पदहरुमा नयाँ पुस्ताले अवसर पाइरहेका छन् । पहिले पूरानै बैंकरहरुको हालिमुहाली हुने नेपाली बैंकिङ क्षेत्रमा केही समययता भने पुस्तान्तरणको परिपाटी बढेको हो ।

यसअघि नै धेरै वाणिज्य बैंकहरुमा नयाँ पुस्ताले अवसर पाइसकेका छन् । अहिले धेरै जसो नेपाली वाणिज्य बैंकहरु नयाँ पुस्ताले हाँकी रहेका छन् । एनआईसी एसिया बैंकको नेतृत्व युवा बैंकर रोशन न्यौपानेले गरिरहेका छन् । उनै न्यौपानेका नेतृत्वले एनआईसी एसिया बैंकले एकपछि अर्को लोभ लाग्दो छलाङ मारिहरेको छ ।

यस्तै, माछापुच्छ्रे बैंकमा सन्तोष कोइराला, मेगा बैंकमा अनुपमा खुञ्जेली, सिटिजन्स बैंक इन्टरनेशनलमा गणेशराज पोखरेल लगायत नयाँ पुस्ताकै सीईओहरु हुन् । नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, एनएमबि बैंकका सुनिल केसी, लक्ष्मी बैंकका अजय विक्रम शाह पनि नयाँ पुस्ताकै बैंकरुका रुपमा परिचित छन् ।

नेपाली बैंकिङ क्षेत्रमा लामो समय काम गरिरहेका बैंकरका रुपमा अशोक राणा, रत्नराज बज्राचार्य, नारायणदास मानन्धर, ज्ञानेन्द्र ढुंगाना, ज्योति पाण्डे, अनिल शाह हुन् । उनीहरु बाहेक बैंकर पर्शुराम कुवँर, शोभनदेव पन्त, सुरेन्द्र भण्डारी, तुलसीराम गौतम, शम्भुनाथ गौतम तत्कालका लागि बैंकिङ क्षेत्रबाट बाहिरिसकेका छन् ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल नयाँ पुस्ताले गर्ने काम र पुरानाले गर्ने काम तथा कार्यशैलीमा पक्कै पनि केही फरक आउन सक्ने बताउँछन् । ‘अहिलेका पुराना पुस्ता पनि कुनै दिन नयाँ नै हुनुहुन्थ्यो, नयाँ जोश जाँगर र काम गर्ने शैली नै फरक हुन्छ, जुनसुकै क्षेत्रमा पनि नयाँ पुस्ता आउनु खुसीको विषय हो, परम्परागत सोचाई र प्रक्रियाभन्दा पनि नयाँ र केही फरक किसिमले केही गर्छु भनेर आएकाहरुलाई अवसर दिनु राम्रो हो,’ उनले भने ।

उनका अनुसार नयाँ पुस्ताले प्रविधिलाई पनि राम्रोसँग बुझेका र त्यसलाई राम्रोसँग ड्राइभ गर्न सक्ने हुनाले पनि यसले बैंकको व्यवसाय विस्तारमा पनि धेरै सहयोग पुग्ने बताउँछन् । ट्राडिस्नल एप्रोजभन्दा नयाँ ढंगले गर्ने बैंकिङमा धेरै भिन्नता आउन सक्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.