बिरुवाका हाँगा भाँचे हजार, जथाभावी कार रोके १० हजार जरिवाना

  २०७८ साउन २६ गते १३:०३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले जथाभावी सवारी साधन रोक्नेदेखि बिरुवाका हाँगा भाच्नेलाई कारवाही स्वरुप जरिवाना गर्ने भएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाले आर्थिक ऐन २०७८ जारी गर्दै कारवाही गर्ने भएको हो ।

महानगरले आर्थिक वर्ष २०७८/०७९ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयनको लागि स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आयय संकलनको प्रशासनिक व्यवस्था गर्न उक्त ऐन जारी गरेको हो ।

उक्त ऐन साउन १ गतेदेखि लागु भइसकेको छ । उक्त ऐन अनुसार महानगरले अनाधिकृत स्थलमा सवारी साधन पार्किङ गरेको पाइएमा मोटरसाइकललाई १ हजार र तीन पाङग्रे सवारी साधनलाई २ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।

यस्तै, १ हजार सीसीसम्मको सवारी साधनको २ हजार ५ सय, १ हजार सीसीदेखि १५०० सीसीसम्मका लागि ५ हजार, १५०० देखि २२०० सीसीसम्मका साधनका लागि ७ हजार र २२०० सीसीभन्दा माथिका सबै सवारी साधनलाई १० हजार जरिवाना गर्ने भएको छ ।

महानगरले रुख बिरुवाको हाँगा भाँच्ने वा काट्ने तथा फुल टिप्ने वा पात चुँड्नेलाई १ हजार रुपैयाँ जरिवाना गर्ने भएको हो ।

सार्वजनिक सवारी साधन बिसौनी बाहेकका स्थानबाट यात्रु ओराल्ने वा चढाउने गरेमा र चालक तथा सहचालकले तोकिएको पोसाक नलगाएमा १००/१०० रुपैयाँ जरिवाना गर्नेछ ।

पिक एण्ड ड्रप पद्धति लागु भएका स्थानमा तोकिएको बाहेक सवारी साधनले यात्रु ओराल्ने वा चढाउने गरेमा ४ सय रुपैयाँ जरिवाना लिने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.