२०७८ भदौ ९ गते १८:०९ विकासन्युज
कर्णाली प्रदेश अन्तर्गतको डोल्पा जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो डोल्पो बुद्ध गाउँपालिका । ११ दशमलव ८३ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको यो गाउँपालिका भौगोलिक रूपमा दुर्गम भएपनि प्राकृतिक स्रोतसाधन साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, सांस्कृतिक एवं पर्यटन लगायतका पक्षमा निक्कै धनी छ ।
यसैक्रममा, निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम, पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, अहिलेसम्म चुनावी प्रतिवद्धता के कति पूरा भए र बाँकी अवधिमा कति पूरा हुनेछन् भन्ने लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
स्थानीय सरकारको चार वर्ष कार्यकाल पूरा हुँदा तपाईंको नेतृत्व कस्तो रह्यो ?
सुरुसुरुमा केही अप्ठ्यारो अवस्थाको सिर्जना भयो । हामी पनि नयाँ व्यवस्थासँगै स्थानीय सरकारको भूमिकामा रहनुपर्ने र सिमित स्रोत साधनका साथै कम जनशक्तिका बाबजुद जनताका असीमित इच्छा र चाहना अनि विकासको काम गर्नुपर्ने बाध्यतामा थियौं ।हामी गाउँपालिकाको प्रमुखको रूपमा निर्वाचित भएर आइसकेपछि विभिन्न निति नियम ऐन बनाउन केही समय लागेका थियो । हाल हामीले स्थानीय सरकारले जनशक्ति व्यवस्थापन कानुन कार्य नियमावलीको निर्माण, कार्यान्वयन, अर्ध न्यायिक संरचनाको व्यवस्थापनजस्ता महत्वपुर्ण विषयहरूमा धेरै नै अगाडि बढेर आगामी दिनको लागि मार्ग प्रस्थान भएको छ । तुलनात्मक रूपमा भन्नु पर्दा अहिलेसम्म त सन्तोषजनक नै रह्यो । अहिलेसम्म हेर्दा गाउँपालिकाले गरेको कामप्रति नगरिकहरु पनि खुशी नै छन् भन्ने लागेको छ । त्यसअनुसार हामीले पनि राम्रै काम गर्यौं होला भन्ने महसूस हुन्छ । अनि स्थानीय सरकारमा निर्वाचित भएर आइसकेपछि जनताका धेरैजसो अपेक्षा पूरा गर्न सफल भएका छौं भन्ने हामीलाई लागेको छ । त्यसैले मैले मेरो कार्यकाल सफल रह्यो भन्नुपर्छ ।
स्थानीय सरकार बनेपछि डोल्पो बुद्ध गाउँपालिकामा पूर्वाधारको क्षेत्रमा के–के काम भए ?
हामीले गाउँपालिकामा जुन परिस्थिति आउँछ सोही अनुसार काम गरिराखेका छौं । शिक्षा, स्वास्थ्य र सडकको क्षेत्रमा विशेष पहल गरिराखेका छौं । विकासका काम कतिपय पूरा भएका छन् भने कति हुने क्रममा छन् । खानेपानी, सिचाई आदिको क्षेत्रमा पनि काम भएको छ । धेरै जसो खानेपानीको योजनाहरू सम्पन्न भएका छन् कतिपय हुने तयारीमा छन् । जसले गर्दा सरल र सहज रूपमा स्वच्छ खानेपानीको सुनिश्चित गरिएको छ । पालिकाको ६ ओटै वडा कार्यालय भवनको निर्माण भएका छन् भने सामाजिक विकासतर्फ विद्यालयका भवनहरू निर्माण भएका छन् ।
तपाईंको गाउँपालिकामा जनताले अझै पनि स्वास्थ्य सेवा र शिक्षा सहज रूपमा पाइराखेका छैनन् भन्ने सुनिन्छ नी ?
हामी निर्वाचित भएर आउनु भन्दा अघि धेरै कुराहरू कमि थियो । शिक्षा स्वास्थ्यको कुरा पनि जटिल नै थियो । तर, हामी निर्वाचित भएर आइसके पछि यी क्षेत्रमा पनि सुधार र परिवर्तन भएको छ । शिक्षाको क्षेत्रमा केही न केही परिवर्तन गर्नुपर्छ भनेर गाउँपालिका शुरुआतदेखि नै लागिपरेको छ । हामीले शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विशेष प्राथमिकता दिएर काम गरेका छौं । गुणस्तर शिक्षालाई विशेष जोड दिएका छौं । यसका साथै स्वास्थ्य क्षेत्रमा पनि धेरै काम गरेका छौं भने पालिकामा स्वास्थ्यचौकीको स्थापना भएका छन् । गाउँ स्वास्थ्य इकाई, प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरी नागरिकलाई नजिकैबाट स्वास्थ्य सेवा पुर्याउन पनि हामी लागि परेका छौं ।
अब कृषि क्षेत्रको प्रसंग जोडौं, गाउँपालिकाले कृषि क्षेत्रमा हलसम्म गरेको उपलब्धिबारे बताईदिनुहोस् न
हामीले शुरुवातदेखि नै कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको थियौं । हिमाली पालिका भएको कारण अन्य तरकारीको तुलनामा फलफूल उत्पादन बढि मात्रामा पाइन्छ । गाउँपालिकाले अनुदान, प्रोत्साहन, साझेदारीमा कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई व्यवसायिक कृषि पेसामा लाग्न प्रेरित गरेका छौं । तरकारीमा आत्मनिर्भर बनाउने दिशातर्फ उन्मुख बनाइ कृषकलाई सहकारी समन्वय सहकार्यमा उत्पादन तथा आर्थिक कृयाकलापलाई वृद्धि गरी रोजगारी सिर्जना गर्ने योजना पनि बनाएका छौं । गाउँपालिका स्याउ खेतीका लागि निकै महत्वपुर्ण मानिन्छ । जडीबुटी खेतीको सम्भावना छ । कृषि क्षेत्रको रूपान्तरण गर्न गाउँपालिका लागेको छ ।
पशुपालन र कृषि फार्महरूलाई अनुदान दिने र कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि रहेको छ । कृषिलाई आधुनिकिकरण गर्नमा विशेष जोड दिएका छौं । स्याउ खेती र चौरीपालन पनि यहाँका किसानहरूले गर्दै आएका छन् । कृषि समूहमार्फत पालिकाको समग्र कृषि विकासको लागि काम गर्दै आएका छौं । पालिकामा कृषि समूहको गठन पनि भएको छ । कृषक र पालिकाको साझेदारीमा हामीले अनुदानमा बिउ बिजन पनि वितरण गर्दै आएका छौं ।
अहिले तपाईको गाउँपालिकामा मुख्य समस्या के छ ?
पालिकामा समस्या त धेरै छ । पालिकामा जति विकास निर्माण हुनुपर्ने हो त्यति भएको छैन । सडकको कुरा गर्दा कुनै ठाउँमा सडक निर्माण त भएको छ तर, यातायात सञ्चालन हुन सक्ने अवस्था छैन । पालिकामा अझै पनि सबै वडामा बिजुलीको सुविधा पुगेको छैन । चीनबाट रासन ल्याई मानिसहरुले गुजार चलाएको अवस्था पनि छ ।
चुनावको बेला गर्नुभएको घोषणापत्रको कुरा कति पूरा गर्नुभयो ?
हाम्रो जस्तो दुर्गम स्थानीय तहमा काम गर्न आफैमा धेरै चुनैतीहरु छन् । त्यस माथि चुनावी बाचा पूरा गर्न त्यति सहज छैन । त्यसका बाबजुद पनि हामीले शिक्षा, स्वास्थ्य सडक र पर्यटन क्षेत्रमा भने धेरै काम भएका छन् । मैले चुनावको बेला जनतालाई धेरै भाषण गरेको थिएन । कति पूरा भए कति हुन बाँकी छन् । जसमध्ये हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ७० प्रतिशत कामहरू सकिसकेका छौं ।
अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नुभएको छ ?
अब बाँकी रहेका कार्यकाल भनेको हामी नागरिक लागि समय खर्च गर्छौं । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई चाहिँ जनतको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ ।
गाउँपालिकाले आर्थिक वर्ष ७८/७९ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । तपाईंको कार्यकालको यो बजेट अन्तिम पनि हो । के कस्ता कार्यक्रम समेटिएका छन् बजेटमा ?
आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम हामीले गाउँ सभाबाट प्रस्तुत गरेका छौं । नीति तथा कार्यक्रम र बजेट जनअपेक्षाबमोजिम ल्याएका छौं । सिंगो जनप्रतिनिधिको टिम जनताको चाहना र भावनाबमोजिम काम गर्ने प्रतिबद्धता रहेकोले यो बजेट कार्यान्वयन गर्न कर्मचारी संयन्त्र राजनीतिक दल र आमनागरिकबाट सकारात्मक रूपले कार्यान्वयन गर्न सहयोग हुने विश्वास लिएको छु ।
अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?
म के भन्न चाहन्छु भने हाम्रो आवश्यकता र समस्याहरू अनगिन्ती छन् । सकेसम्म हामी पनि समस्याको समाधान गर्दै अगाडि बढेका छौं । यसलाई एकै पटक एउटै कार्यकालमा सबै आवश्यकताको सम्बोधन हुन सक्दैन । जनताले मेरो काम मन पराइराख्नुभएको होला भन्ने लाग्छ । मलाई विश्वास छ, यो चुनाव पछाडि जो आए पनि पालिकाको समृद्धि अझ बढ्ने आशा गर्छु ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.