कनेक्ट आईपीएसको कारोबार ३६३ प्रतिशतले वृद्धि, एक महिनामै २ खर्ब बढीको कारोबार

  २०७८ भदौ ११ गते १३:४२     विकासन्युज

काठमाडौं । कनेक्ट आईपिएस मार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक वर्षको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत जेठको तुलनामा असारमा हालसम्मकै उच्चा मात्रामा वृद्धि भएको हो ।

दोस्रो लहरको कोरोना संक्रमणलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत देशका अधिकाशं जिल्लामा निषेधाज्ञा लागु हुँदा कनेक्ट आईपिएस मार्फत हुने भुक्तानी रकममा कमी आएको थियो । पछिल्लो समय निषेधाज्ञा केही खुलुको भएसँगै कारोबार रकममा वृद्धि हुन थालेको हो ।

गत आर्थिक वर्षको अन्तिम महिना असारमा कनेक्ट आईपीएसबाट हुने कारोबार अहिलेसम्मकै उच्चमा पुगेको छ । जेठ महिनामा १ खर्ब ५८ अर्ब २५ करोड ४० लाखको कारोबार भएको असार महिनामा ५० प्रतिशतले वृद्धि हुदै २ खर्ब नाघेको हो । एक वर्षमा कनेक्ट आईपीएसबाट डिजिटल भुक्तानीको कारोबार ३६३ प्रतिशतले वृद्धि भएको छ ।

तथ्यांक अनुसार असार महिनामा कनेक्ट आईपीएसबाट २ खर्ब ३७ अर्ब ७५ करोड ८० लाखको कारोबार भएको छ । गत जेठ महिनाको तुलनामा असार महिनामा साढे ७९ अर्ब बढीले कारोबार भएको हो ।

यस्तै, गत वर्ष सोही महिनामा (असार) कनेक्ट आईपीएसबाट कारोबार हुने रकम ५१ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबर थियो । गत जेठ महिनाको तुलनामा असार महिनामा कनेक्ट आईपिएस, क्यआर कोड, इकमर्स, वालेट, मोबाइल तथा इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार रकममा वृद्धि भएको छ ।

वालेट मार्फत गत जेठ महिनामा ८ अर्ब ३५ करोड ३० लाख बराबरको कारोबार भएकोमा असार महिनामा १२ अर्ब ७९ करोड बराबरको कारोबार भएको छ । गत जेठ महिनाको तुलनामा असार महिनामा मात्र ४ अर्ब ४३ करोड ७० लाखले कारोबारमा रकममा वृद्धि भएको छ ।

यस्तै, गत जेठ महिनामा तुलनामा असार महिनामा क्यूआरमा आधारित भुक्तानी मार्फत हुने कारोबारमा १६ करोड ८३ लाखले वृद्धि भएको छ । जेठ महिनामा १ अर्ब ९६ करोड ८० लाख बराबरको कारोेबार भएकोमा असार महिनामा ३ अर्ब ६५ करोड १० लाख बराबरकोे कारोबार भएको छ ।

असार महिनामा मोबाइल बैंकिङ कारोबार ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको असार महिनामा १८ अर्ब ८३ करोड ९० लाख बराबरको कारोबार भएकोमा एक वर्षको अवधिमा २११ प्रतिशतले कारोबार रकममा वृद्धि भएको हो । जेठ महिनामा मोबाइल बैंकिङ मार्फत ५३ अर्ब १६ करोड बराबरको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.