२०७८ भदौ २१ गते १२:१५ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन लेण्डिङमा तोकेको सीमामा पुनरावलोकन नहुने संकेत गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत मार्जिन लेण्डिङमा ४ र १२ करोड रुपैयाँको सीमा तोकेको राष्ट्र बैंकले अब फेरि सो व्यवस्था तत्कालै परिवर्तन तथा पुनरावलोकन नहुने बताएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देब कुमार ढकालले हालसम्म नेपाल राष्ट्र बैंक आफ्नो नीतिबाट पछि नहटेको बताउँदै अब सो व्यवस्था तत्कालै पुरावलोकन नहुने बताएका हुन् ।
‘राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ल्याएका नीतिहरु अहिलेसम्म परिमार्जन तथा परिवर्तन भएका छैनन्, मार्जिन ल्याण्डिङमा ४ र १२ करोड रुपैयाँको सीमा तोकको एक हप्ता भएको छैन, अहिलेसम्म नीति यति चाँडै परिमार्जन भएको अभ्यास पनि छैन, कसैले भन्दैमा हुन्छ भन्ने छैन, साे व्यवस्थामाथि पुनरावलोकन गर्ने राष्ट्र बैंकको तयारी पनि छैन,’ उनले विकासन्युजसँग भने ।
राष्ट्र बैंक आफ्नो नीतिमा अडिग रहेको उनको भनाई छ । उनले हालसम्म नीति बनाएर तत्कालै पुनरावलोकन भएको इतिहास नभएको बताउँदै कसैले विरोध गर्दैमा राष्ट्र बैंक आफ्नो अडानबाट पछि नहट्ने उनको आशय छ ।
राष्ट्र बैंकले मार्जिन लेण्डिङमा तोकेको सीमा खारेज गर्नु पर्ने भन्दै लगानीकर्ताहरु विरोधमा उत्रिएका छन् । सो व्यवस्था तत्कालै खारेज हुनु पर्ने माग राख्दै उनीहरु अहिले राष्ट्र बैंक पुगेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.